Comments Add Comment

संकटभित्र खोजिएको अवसर : शिवम् सिमेन्टको होम डेलिभरी

१८ वर्ष पुरानो उद्योगको नयाँ बजार रणनीति

५ साउन, काठमाडौं । कोरोना र लकडाउनले गर्दा देशका धेरै उद्योगहरु थलिए । उद्योगीहरु सरकार गुहार्दै छाति पिटिरहेका छन् । तर, अपवादका रुपमा कतिपय उद्योगी चाहिँ यो संकटका उक्सिनका लागि आफैंले विभिन्न प्रयास लगाउन थालेका छन् ।

यिनै अपवादमध्येमा पर्छ शिवम् सिमेन्ट । लकडाउनबाट पाठ सिक्दै यस उद्योगले आफ्नो बजारिकरण रणनीतिलाई पुनःपरिभाषित गरेको छ । अनलाइन अर्डरमार्फत उपभोक्ताको घरमै सिमेन्टको होम डेलिभरी गर्ने  नयाँ प्रयोग उसले सुरु गरेको हो ।

नेपाली सिमेन्ट बजारमा उच्च गुणस्तर र नयाँ प्रयोगका लागि कहलिएको छ, शिवम् सिमेन्ट ।  सर्वसाधरणको समेत शेयर स्वमित्व रहेको यस उद्योगले गत आर्थिक वर्षको मध्यावधिपछि नै आफ्नो व्यापार रणनीती बदल्न आन्तरिक छलफल सुरु गरेको थियो । परम्परागत व्यापार रणनीति -प्रोजेक्ट र च्यानल बिक्री) बाट मात्रै कम्पनी सन्तुष्ट हुन सकिरहेको थिएन ।

उद्योगका अध्यक्ष सुरेन्द्र कुमार गोयल वर्तमान बजार प्रणालीलाईं सँगै अघि बढाएर नयाँ केही नयाँ सोच ल्याउन मार्केटिङ टिमलाई हौसाइरहेका थिए ।  मार्केटिङमा झण्डै दुई दशक बिताएका केपी रिजाल शिवम्को भी.पी.बिक्री तथा व्यापार उपप्रमुखको रुपमा भित्रिएको लामो समय भएको थिएन । उनलाई पनि शिवम्मा नयाँ केही देखाउने हुटहुटी थियो । उनले अनलाइन माध्यमबाट सिमेन्टको होम डेलिभरी गर्ने नयाँ रणनीति अघि सारे ।

खाद्यान्न, लत्ता-कपडामा व्यापकता पाइरहेको इकमर्श व्यापार शैली सिमेन्टमा प्रयोग गर्नु आफैमा नौलो र चुनौतिको कुरा थियो । तर, रिजाल भने अनलाईन व्यपारमा जोखिम नरहेकोमा ढुक्क थिए । शिवम् व्यवस्थापन ग्राहकको घरमै सिमेन्ट डेलिभरी दिने प्रणालीमा आत्मसात गर्न तयार थियो ।

‘वस्तु तथा व्यापारको अनलाईन विक्री सम्बन्धि कानुन समेत नबनेको देशमा यस्तो योजना कति प्रभावकारी हुन्छ भन्ने प्रश्न त थियो नै । तर नयाँ-नयाँ प्रयोग गर्न रुचाउने शिवम्को नेतृत्व यो योजनामा सहमत भयो,’ रिजाल सुनाउँछन् ।

आर्थिक वर्षको विकासे आयोजना तिब्र हुने समय हो पछिल्लो ६ महिना । त्यसैले सिमेन्ट उद्योगको उत्पादन तथा बिक्री पनि यो बेला निकै रफ्तारमा हुन्छ । उद्योग सञ्चालन, कच्चा पदार्थको जोहो, दैनिक बिक्री र व्यवस्थापन द्रूत गतिमा चलिरहेकै बेला एकाएक चैतको पहिलो सातादेखि कोभिड १९ ले बजार प्रभावित बन्न थाल्यो । सरकारले चैत्र ११ गतेबाट लकडाउन घोषणा गर्‍यो ।

संकटभित्र खोजिएको अवसर

लकडाउनपछि देश ठप्प बन्यो । कम्पनीका सबै टीम केही दिन अलमलमा परे ।

‘केही हप्ता र दिनमा सकिने आश गरिएको लकडाउन तत्काल हट्ने कुनै लक्षण देखिएन, नयाँ सिराबाट अघि बढ्न योजना बनाउँदा बनाउँदै एक्कासी बन्धक बन्यौँ,’ रिजालले विगत स्मरण गरे । तर कोभिड त्रासकै बीच कम्पनीले सम्भव भएका कामहरु भर्चुअल माध्यमबाट बिस्तारै अघि बढायो ।

कोभिडका कारण विक्रीमा आएको गिरावट र जनतासँग बढेको दुरी घटाउनुपर्ने आवश्यकताले नयाँ सोच जन्माएको रिजालको भनाई छ । सरकारले जारी गरेको सामाजिक र भौतिक दुरीको नियमकै बीच कम्पनीले शिवम् सिमेन्टको एण्ड्रोइड प्लेस्टोर र एप्पल एप स्टोरमा मोबाईल एप तयार गर्यो । कम्पनीका चार-पाँच जनाको कोर टीम लकडाउनको अवधिमा एपका लागि दिनरात खटिएको थियो ।

‘कोभिड सजगताको पहिलो मन्त्र नै मानिस र मानिस बीचको दुरी घटाउनु हो । त्यसैले शिवम्ले ‘तपाइँ घरमै बस्नुस्, हाम्रो उत्पादन घरमै डेलिभरी हुन्छ,’ भन्ने प्रत्याभूति गराएको छ,’ रिजाल भन्छन् ।

नेपाली सिमेन्ट जगतमा पहिलो प्रयास मानिएको यो एपमार्फत उपभोक्ताले संसारको कुनै पनि कुनामा बसेर नेपालमा शिवम् ओपीसी सिमेन्ट अर्डर गर्न सक्छन् ।

एक कदमअघि

उत्पादित सिमेन्टको गुणस्तर परिक्षण हरेक १० मिनेटमा हुने नेपालको पहिलो सिमेन्ट कम्पनी शिवम् हो । ‘गुणस्तरको मामलामा नो कम्प्रोमाईज’ भन्ने नाराका साथ अघि बढेको यो कम्पनीले गत वर्ष ‘नेपाल गुणस्तर अवार्ड २०१९’ जितेको थियो ।

‘हामी हरेक कुरामा पहिलो हुन चाहन्छौँ, बजारीकरणको यो प्रयास पनि नेपाली सिमेन्ट उद्योग जगतमा पहिलो हो,’ रिजालले भने ।

सिमेन्टको बजारीकरण गर्ने नेपालमा दुईवटा तरिका छन्, पहिलो प्रोजेक्ट दोस्रो च्यानल सेल्स । सरकार तथा निजी क्षेत्रले निर्माण गर्ने ठूला पूर्वाधार आयोजनामा आफ्नो सिमेन्ट बिक्री गर्ने प्रणाली प्रोजेक्ट बजारीकरण हो । यस्तै, खुद्रा डिलरमार्फत देशैभरका सर्वसाधारणको पहुँचमा सिमेन्ट पुर्याउनु च्यानल सेल्स हो । यही परम्परागत विक्री प्रणालीलाई कायमै राख्दै शिवम्ले अनलाईन बजारीकरणको नयाँ तरिका नयाँ आर्थिक वर्षदेखि सुरु गरेको छ ।

नेपालमा अनलाईनको माध्यमबाट घर-घरमा सिमेन्ट डेलीभरी प्रणाली पहिलो र एक मात्र भएको दाबी शिवम्को छ । अनलाईन डेलिभरी सेवा दिन काठमाडौं उपत्यकामा पाँच दर्जनभन्दा बढी अनलाईन डेलिभरी डिलर लकडाउन तथा लुजडाउन अवधिमा निर्माण गरिसकेको कम्पनीले जनाएको छ ।

२४ घण्टाभित्र होम डेलीभरी

शिवम्को एपमार्फत संसारको जुनकुनै कुनाबाट नेपालस्थित आफ्नो घर वा आफन्तका लागि सिमेन्टको अर्डर गरिदिन सकिन्छ । अर्डर प्राप्त भएको २४ घण्टाभित्र उपभोक्ताले मागेकै स्थानमा आपूर्ति गर्ने शिवम्ले जनाएको छ । उद्योगले कम्तीमा १० देखि बढीमा एक पटकमा ४२० बोरासम्म ओपीसी सिमेन्ट डेलिभरी दिन्छ । त्यो भन्दा बढी आवश्यकता छ भने नयाँ अर्डर लिनु पर्दछ ।

परीक्षणको रुपमा कम्पनीले साउन १ गतेदेखि बागमती प्रदेशको काठमाडौं उपत्यकाभित्र यो सेवा सुरुआत गरेको हो । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको जुनकुनै कुनाबाट हुने अर्डरमा डेलिभरी प्रदान गरिने कम्पनीले जनाएको छ । उपत्याकाको केही दुर्गम वस्तीहरुमा समेत अनलाईन डेलिभरी प्रदान गरिने कम्पनीले जनाएको छ ।

एपबाट सिमेन्ट अर्डर कसरी गर्ने

शिवम्ले नयाँ आर्थिक वर्ष ७७/७८ को पहिलो दिन साउन एक गतेबाट आफ्नो मोबाईल एप सार्वजनिक गरेको छ । एण्ड्रोइडको प्ले स्टोर र आईओएसको एप स्टोरमा ‘शिवम्’ मोबाईल एप उपलब्ध छ । उक्त एप खोलेपछि दुई वटा लगिङ बार देखिन्छन जसमध्ये उपभोक्ताले लगिङ यज अ कन्जुमर बारमा गएर आफ्नो मोबाइल नम्बर राखेर एकाउण्ट खोल्न सक्नेछन् । एप भित्र पसि सकेपछि शिवम्का उत्पादन, अफर र प्रमोसन भन्ने तीन वटा सेग्मेन्ट टपमा देखिन्छ भने एपको दायाँ तल्लो भागमा प्लस चिन्हमा अर्डर गर्न सकिने बटन उपलब्ध छ । अर्डर क्लिक गरेपछि प्रदेश, जिल्ला र डेलिभरी लोकेसन एपले माग्छ  ।

हाललाई परिक्षणको रुपमा कम्पनीले बागमति प्रदेशको काठमाडौं उपत्यकामा मात्रै यो सेवा सुरुआत गरेको छ । उपत्यकाका तीन वटा जिल्लाहरुमा मध्ये कुनै एक छनोट गरेर आफ्नो लोेकसन एपमा उल्लेख गरिदिनु पर्छ । त्यसपछि चाहिएको परिमाण छनोट गर्ने अप्सन त्यहाँ उपलब्ध हुन्छ । त्यो उल्लेख गरेपछि एपले सिमेन्टको लागत मूल्य हिसाब गरेर देखाई दिन्छ ।

जस्तो ४ सय बोरा सिमेन्टको डेलीभरी माग ग्राहकले गरेको हो भने उसले प्रतिबोरा ८ सयको दरले तीन लाख २० हजार रुपैयाँ तिर्नु पर्छ भनेर एपले हिसाब निकाल्छ । अब यसलाई ओके गरेर अगाडी बढ्दा तेस्रो अप्सनमा बिलिङ ठेगाना माग हुन्छ, यहाँ उपभोक्ताले आफ्नो नाम, मोबाईल नम्बर, पान नम्बर, इमेल र सिमेन्ट डेलीभरी गर्ने क्षेत्र र त्यहाँ नजिक रहेको कुनै एक प्रख्यात स्थल एपमा उल्लेख गर्नुपर्छ । त्यसपछि डेलिभरि गर्नुपर्ने मिति उल्लेख गर्नुपर्छण् । अनि ग्राहकको नाममा बिल तयार हुन्छ ।

बिलमा लागत, डिस्काउन्ट लगायते विषय उल्लेख हुन्छ । अर्डर ओके गरेपछि ग्राहकले कुन माध्यमबाट पैसा तिर्ने हो भन्ने अप्सन डिस्प्ले हुन्छ । डेलिभरी लिएर क्यास दिने वा भुक्तानी सेवा प्रदायकहरु मार्फत रकम तिर्ने भन्ने ग्राहकले छनोट गर्न सक्छन ।

१७ वर्षको यात्रा

प्राइभेट कम्पनीको रुपमा २०६० सालमा  मकवानपुरको हेटौँडामा स्थापना भएको शिवम्् सिमेन्टले २०६७ पछि व्यावसायिक उत्पादन थालेको थियो । सुरुवातमा प्रतिदिन ७ सय टन सिमेन्ट र १२ सय  टन क्लिङ्कर उत्पादन गरेको उद्योग २०७२ सालमा पब्लिक कम्पनीमा परिणत भएको थियो ।

आर्थिक वर्ष ०७२-७३ पछि प्रतिदिन २३ सय टन सिमेन्ट उत्पादन गर्न थालेको कम्पनीले अहिले प्रतिदिन तीन हजार टन सिमेन्ट र १९ सय टन क्लिङ्कर उत्पादन गर्ने क्षमता राख्छ । कम्पनीमा लक्की, सारदा, जेबी मारु, एचआर गोयल, देवेनरा र भिमसरिया ग्रुपको संयुक्त लगानी छ । कम्पनीले आठ लाख ८० हजार कित्ता स्थानीयका लागि र ४४ लाख कित्ता सर्वसाधारणका लागि प्राथमिक सेयर जारी गरेको  छ । कम्पनीले भारतीय गुणस्तर चिन्ह बीआईएस प्रमाणपत्र प्राप्तसमेत प्राप्त गरेको छ ।

सरकार गम्भीर बनोस्

लकडाउनले सबै व्यापार व्यवसाय जस्तै सिमेन्ट उद्योगमा पनि ठूलो क्षति पुर्‍याएको छ । नेपाल सिमेन्ट उत्पादक संघकाअनुसार लकडाउनको हरेक दिनमा समग्र सिमेन्ट उद्योगले ६० करोड भन्दा बढी घाटा व्यहोर्नु परेको थियो ।

बषर्ा सुरु हुनुअघि नै खानी खोल्ने उद्योगीको प्रस्तावमा सरकारले बेलैमा निर्णय नगर्दा अहिले उद्योगीहरुले क्लिंकर आयातमा ठूलो धनराशी विदेश पठाउनु परेको छ । भारतबाट कच्चा पदार्थ आयात गर्दा ठूलो धनराशी विदेशीएको शिवम्का बिक्री तथा व्यापार उपप्रमुख केपी रिजालको भनाई छ ।

‘लकडाउनको असरसँग जुध्न अब सरकारी सहयोग अपरिहार्य छ,’ रिजालले भने । सरकारले समग्र उद्योगको हितकालागि विशेष कार्यक्रम नल्याए यस क्षेत्रको पुर्नउत्थान हुन कठिन हुने भन्दै उनले गंभिर बन्न सरकारलाई आग्रह गरे ।

तस्विर : चन्द्र बहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment