Comments Add Comment

गुरुङहरूले जनगणनामा बोन धर्म लेख्ने

५ साउन, चितवन । गुरुङहरुले अब हुने जनगणनामा बोन धर्म लेख्ने भएका छन् । नेपालमा गुरुङ जातिको वास्तविक धर्म बोन धर्म भए पनि पछिल्लो समय धर्म परिवर्तन गर्ने क्रम बढ्दा बोन धर्म लोप हुँदै गएकाले अब नेपालमा हुने जनगणनामा नै बोन धर्म उल्लेख गर्ने भएको हो ।

गुरुङहरुको धार्मिक संस्था तमु प्ये ल्हुँ सङ्घ जिल्ला कार्य समिति चितवनले जनगणनामा गुरुङको धर्म बोन लेखाउनका लागि अन्तरक्रियात्मक प्रचारप्रसार अभियानसमेत शुरु गरेको छ । चितवनको माडी नगरपालिकास्थित कल्याणपुरबाट शनिबारदेखि अभियान शुरु गरेको हो । गत असार २५ गते बसेको सङ्घको नियमित मासिक बैठकले आगामी वर्ष २०७८ मा नेपालमा हुन गइरहेको राष्ट्रिय जनगणनामा धर्मको महलमा गुरुङको वास्तविक धर्म बोन धर्म लेखाउनका लागि जिल्लाभरका गुरुङ समुदायमाझ अन्तरक्रिया गरेर प्रचारप्रसार गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयबमोजिम सङ्घको माडी एकाइबाट अभियान शुरु गरिएको सङ्घका चितवन जिल्ला अध्यक्ष जगतबहादुर गुरुङले जानकारी दिए । गुरुङको वास्तविक धर्म बोन भए पनि धर्म परिवर्तनका कारण समुदायको वास्तविक धर्म लोप हुँदै गएकाले सङ्घले जिल्लाभित्र धर्म संस्कार संस्कृति संरक्षणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको छ । सोअन्तर्गत आगामी वर्ष हुने नेपालको राष्ट्रिय जनगणनामा गुरुङको वास्तविक धर्मलाई स्थापित गर्नका लागि यो अभियान सञ्चालन गरेको उनले बताए ।

अध्यक्ष गुरुङले भने, ‘गुरुङ समुदायको छुट्टै आफ्नै धर्म संस्कार छ तर पछिल्लो समय धर्म परिवर्तन गर्नेको क्रम बढ्दै जदाँ बोन धर्म लोप हुँदै गएको छ, त्यसकारण धर्म संस्कृति बचाउनका लागि हामीले जनगणनामा नै बोन धर्म लेख्ने निर्णय गरेका छौँ ।’ चितवनको माडीबाट शुरु गरिएको यो अभियान जिल्लाभर सञ्चालन गरिने अध्यक्ष गुरुङले बताए । उनका अनुसार यो अभियानका लागि सङ्घमा आबद्ध जिल्लाभरका २१ वटा एकाइ समितिलाई परिचालन गरिने छ ।

अभियानमा राष्ट्रिय जनगणनामा गुरुङले किन बोन धर्म लेख्ने ?, बोन धर्म के हो ? लगायतका विषयमा जानकारी गराइने छ । गुरुङ समुदायले परापूर्वकालदेखि नै मान्दै आएको धर्म लोप हुँदै गएपछि केन्द्रीय कमिटीले नै अभियान सञ्चालन गर्ने नीति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment