Comments Add Comment

डोटीको शिखरमा एकै दिन भेटिए ४० जना संक्रमित

५ साउन, डोटी । जिल्लाको शिखर नगरपालिकामा एकै दिन ४० जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । असार २४ र २५ गते भारतका विभिन्न सहरबाट आई क्वारेन्टिनमा बसेका व्यक्तिहरुको स्वाब परीक्षण गर्दा संक्रमण भएको पाइएको हो ।

डडेल्धुरा अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणबाट शिखर नगरपालिका–५ का १९, वडा नं. ७ का ८, वडा नं. ८ का ८ र वडा नं. १० का ५ जनामा संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक हरिश शाहले जानकारी दिए ।

शाहका अनुसार क्वारेन्टिनमा बसेकामध्ये असार ३१ गते प्रतिनिधिमूलक एक सय २७ जनाको स्वाब संकलन गरी डडेल्धुरा अस्पतालको प्रयोगशालामा पठाइएको थियो । उक्त स्वाबमध्ये आइतबार ४० जनाको रिपोर्ट नेगेटिभ आएको थियो । सोमबार आएको थप ४० जना सबैको रिपोर्ट पोजेटिभ आएको शाहले बताए ।

हाल नगरपालिकाका विभिन्न क्वारेन्टिनमा पाँच सय पाँच जना रहेका र उनीहरु सबैको स्वाब संकलन गर्ने काम भइरहेको शाहले बताए । उनले भने ‘आज मात्रै हामीले दुई सय ७९ जनाको स्वाब संकलन गरी डडेल्धुरा अस्पतालको ल्याबमा पठाइसकेका छौं ।’

संक्रमण पुष्टि भएका कसैलाई पनि लक्षण नदेखिएको शाहले बताए । उनले थपे ‘रिपोर्ट आउनेबित्तिकै स्वास्थ्यकर्मीहरुलाई परिचालन गरी अवस्था बुझ्ने काम भएको छ, अहिलेसम्म कसैलाई पनि समस्या छैन ।’

डडेल्धुरा अस्पतालमा प्रयोगशाला सुरु भएपछि स्वाब परीक्षण छिटो हुने गरेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासी बताउँछन् । उनले भने ‘डडेल्धुराको प्रयोगशालाले चार÷पाँच दिनमै रिपोर्ट दिइरहेको छ, त्यसैले विगतको भन्दा अचेल काम गर्न अलि सहज भएको छ ।’

जिल्लाका विभिन्न क्वारेन्टिनमा सोमबारसम्म एक हजार पाँच सय ९० जना रहेको उनले बताए ।

सोमबार थपिएका संक्रमितहरुको संख्यासंगै डोटी जिल्लामा संक्रमितहरुको कुल संख्या पाँच सय ८५ पुगेको छ । यसअघि देखिएका संक्रमितमध्ये पाँच सय ३७ जना निको भएर घर गइसकेका स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।

हालसम्म स्वाब संकलन भएको तीन हजार एक सय ३६ जनामध्ये ६ सय ५० जनाको नजिता आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment