Comments Add Comment

कृषिमा गोल्यान समूहको टेवा : फस्टाउँदै ‘माटो’ ब्राण्ड  

४ साउन, काठमाडौं । कृषिप्रधान मुलुक भएर पनि नेपालमा कृषि पेशा अहिले पनि पूर्ण व्यवसायिक बन्न सकेको छैन । कृषि उपजलाई बजारको समस्या टड्कारो छ ।

११ चैतदेखि जेठ मसान्तसम्म देशमा पूर्ण लकडाउन भयो । यस अवधिमा कृषि उत्पादनको अवस्था हेर्ने हो भने दयनीय अवस्था देखिन्छ । काठमाडौं उपत्यकामै उत्पादन भएका कृषिजन्य उत्पादनहरु खेर गए । उता बाहिरी मुलुकबाट भने टनका टन सामग्रीहरु आयात गरियो ।

कृषि उपजले बजार नपाउने समस्या समाधानमा सरकार चुकिरहँदा निजी क्षेत्रबाट गत वर्ष नयाँ पहल अघि बढ्यो । ‘माटो’ ब्रान्ड को स्थापना गरी कृषि पेशालाई टेवा दिने प्रयास गरेको थियो व्यवसायिक घराना गोल्यान समुहले ।

‘नेपाली माटो चिनाउने उद्देश्यले नै हामीले माटो ब्रान्ड नामाकरण गरेका थियौं,’ ब्रान्डकी निर्देशक लतिका गोल्यान भन्छिन्, ‘नेपाली कृषि उत्पादनले बजार नपाएर समस्या भोग्नु नपरोस् भन्ने चाहना हाम्रो हो ।’

गोल्यान समूहले झापामा ठूलो क्षेत्रफलमा कृषि कर्म गरिहेको छ । जबकि यस समूहको पुर्ख्यौली पेशा टेक्सटाइल हो । अहिले पनि धागो उत्पादन गरेर विदेश निर्यात गरिरहेको यो समूहले नविन सोचका साथ कृषिमा हात हालेको थियो ।

झापामा सयौं विगाहा जमीन लिएर कृषि उद्यम शुरु गरेपछि समूहका अध्यक्ष पवन गोल्यानले कृषि पेशालाई अझ नजिकबाट नियाल्ने मौका पाए । कृषि क्षेत्रको अवस्था बुझेपछि उनले नै ‘माटो ब्रान्ड’ को अवधारणा बनाए । अहिले उनकी बुहारी लतिकाले यसको नेतृत्व लिएकी छिन् । लतिकाकै नेतृत्वमा चलिरहेको माटो ब्रान्डले अहिले फलफूल तथा तरकारीहरु ब्रान्डिङ गरेर बजारसम्म पुर्‍याउने गरेको छ ।

यति मात्रै होइन, कोरोना त्रासपछि माटो ब्रान्डले स्यानिटाइजरको उत्पादन पनि सुरु गरेको छ । अन्य स्यानिटाइजरको तुलनामा गुणस्तरीय र सुलभ मूल्यमा बजारमा पठाइरहेको ब्रान्डको दावी छ ।

यसरी जन्मियो माटो ब्रान्ड

तरकारी तथा फलफुल उत्पादन गरेर पनि बजार नपाउने कृषकको समस्या सम्वोधन गर्न सुरुमा गोल्यान समुहले एग्रो फार्मको स्थापना गरेको थियो । एग्रो फार्मले झापामा ठूलो परिमाणमा विभिन्न प्रकारका फलफुल तथा तरकारीहरुको उत्पादन सुरु गर्‍यो । तर, विक्रीमा समस्या भोगेपछि कृषिजन्य उत्पादनलाई बजार सिर्जना गर्न प्रेरित भएको लतिकाको भनाई छ ।


समूहले झापामा ५ सयभन्दा बढी विगाहमा कृषि फार्म सुरु गरेको छ । त्यहाँ सबै फलफूल तथा तरकारीहरु लगाइएको छ । एक वर्षअघि समूहले २०० विगाहा जमीन खरिद गरेर कागती, आँप, लिच्ची, मेवा, खरबुजालगायतका फलफूल लगाउन शुरु गरेको थियो । कृषकहरुलाई माछा, बंगुर, कुखुरा र गाईपालनका लागि पनि यसले सहयोग गरिरहेको छ ।

आˆनो फार्मको उत्पादन मात्रै नभएर कृषकहरुले उत्पादन गरेको तरकारी तथा फलफूलसमेत खरिद गरेर माटो ब्राण्डका नाममा बिक्री गर्ने गरेको लतिकाले जानकारी दिइन् । कृषकहरुबाट उत्पादन भएका फलफूल तथा तरकारीहरु ल्याब टेस्ट गरेर ग्रेडिङपछि प्याकेजिङ गरेर बजार पठाइने गरेको छ ।

कृषकहरुलाई उचित मूल्य दिने र बिक्री गर्दा बढीमा २० प्रतिशतभन्दा बढी मूनाफा नराख्नेसमूहले बताएको छ । माटो ब्राण्डका फलफूल तथा तरकारीहरु भाटभटेनी, बिगमार्ट जस्ता सुपरमार्केटहरुमा उपलब्ध हुने गरेका छन् ।

माटो ब्रान्डबाट मह, खरबुजा, मेवा, चिया लगायतका उत्पादनहरु निर्यातसमेत भइरहेको छ । लकडाउन भन्दा अगाडी यो ब्रान्डले खरबुजा कतार निर्यात गरेको थियो । यसले स्याउ, केरा, कटहर, खरबुजा, मौसम, आँप, ओखर, काँक्रा लगायतका फलफुल साथै काउली, लौका, झिंगनी, निउरो साग, टमाटर आलु लगायतका धेरै प्रकारका तरकारीहरु समेत ब्रान्डिङ गरेर बिक्री गरिरहेको छ ।


यस ब्रान्डले अर्गानिक उत्पादनहरु मात्रै बिक्री गर्ने निर्देशक लतिका बताउँछिन् । कृषिजन्य उत्पादनहरुमा रमाइरहेको ब्रान्डले अहिले भने स्यानिटाइजरसमेत उत्पादन गरेर बजारमा पठाइसकेको छ ।

ललितका भन्छिन्, ‘कोडिभ-१९ का कारण निकै समस्या थियो, गुणस्तरीय स्यानिटाइजरहरु कम मात्रै बजारमा पाइन्थे, यस्तो बेलामा उत्पादन गर्नु राम्रो ठान्यौ ।’ उनका अनुसार ब्रान्डका सामाग्रीहरु होम डेलिभरी समेत हुनेछ । टेलिफोन गरेर तथा सामाजिक सञ्जाल फेसवुक तथा इन्टाग्रामबाट समेत अर्डर गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment