Comments Add Comment

मजदुरसँगको सहमतिले असल श्रम सम्बन्ध कायम रहृयो : होटेल व्यवसायी

४ साउन, काठमाडौं । होटेल व्यवसायीले मजदुरसँगको समझदारीबाट असल श्रम समबन्ध तथा दुःखको बेला पारिवारिक एकता प्रदर्शित भएको बताएका छन् ।

होटेल मजदुर र व्यवसायीबीच आगामी ५ महिनासम्म लागू हुने गरी न्यूनतम तलवमानमा सहमति भएको छ । एक साता अगाडि भएको समझदारीबारे आइतबार होटेल संघ नेपाल (हान)ले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो ।

कोभिड-१९ को महामारीको कारणले नेपाल सरकारले चैत्र ११, २०७६ देखि पूर्णरूपमा बन्दाबन्दी गरेको हो । त्यसअगाडि नै अन्तर्राष्ट्रिय रूपमा बढ्न गएको महामारीले गर्दा होटल व्यवसाय पूर्ण रूपमा बन्द भएको थियो ।

महामारीका कारण तत्काल व्यवसाय सहज हुने अवस्था व्यवसायीले देखेका छैनन् । यस परिस्थितिमा मजदुरलाई समेत रोजीरोटीबाट विमुख नबनाउने गरी मजदुर र व्यवसायीबीच समझदारी बनेको छ ।

समझदारी अनुसार पाँचतारे डिलक्स (२ सय कोठाभन्दा माथि) होटेलमा काम कर्मचारीले मासिक १० हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । यो होटेल बन्द भएर घर बस्नु परेको अवस्थामा हो ।

होटेल खुलेर नियमित काम गरिरहेको समयमा भने साविकको सेवा सुविधा यथावत रहने भएको छ । त्यसपछि क्रमशः दुई सय कोठा भन्दा कम भएको पाँचतारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक ९ हजार रुपैयाँ पारिश्रमिक पाउने भएका छन् ।

१ सय कोठा भन्दा बढि भएको चार तारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक रू. ८ हजार ४ सय ५५ रुपैयाँ उपलब्ध गराइने भएको छ । सय कोठा भन्दा कम भएको चार तारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक ८ हजार रुपैयाँ रकम उपलब्ध गराउने समझदारी बनेको छ ।

तीन तारे तथा सोहि स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीले मासिक ५ हजार रुपैयाँ पाउने भएका छन् । दुई तारे तथा सोही स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीलाई मासिक ४ हजार ३ सय पाउनेछन् । एक तारे र पर्यटक स्तरीयको होटल तथा रिर्सोटहरूले भने आपसी समझदारीमा रकम उपलब्ध गराउने समझदारी भएको छ । यो सम्झौता अवधिभरी माथी उल्लेखित रकम बाहेक अन्य सुविधा उपलब्ध नहुने हानले उल्लेख गरेको छ ।

बन्दाबन्दीले होटल व्यवसायमा गहिरो प्रभाव परी पूर्ण रूपमा बन्द रहेको कारणले होटल संघ नेपालका सदस्य होटलको आम्दानी शुन्य भएको र यसले कम्पनीहरु आर्थिक रूपमा ऋणात्मक अवस्थामा पुगेको हानले उल्लेख गरेको छ ।

यस्तो अवस्थामा सदस्य होटलहरुलाई राज्यबाट सामाजिक सुरक्षा कोषको रकम उपलब्ध गराइनु सराहनीय रहेको समेत हानको भनाई छ । नेपाल राष्ट्र बैंकबाट जारी मौदि्रक नीतिले पनि यस उद्योगका धेरै विषय तथा समस्या सम्बोधन गरेको भन्दै व्यवसायीले खुसी व्यक्त गरेका छन् ।

श्रम ऐन कानून बमोजिम सेवा सुविधा उपलब्ध गराउन कठिन भएको अवस्थामा आफ्ना श्रमिक तथा कर्मचारीलाई व्यवस्थापन गर्न होटल संघ नेपाल र पर्यटन तथा होटल क्षेत्रमा क्रियासिल मुख्य तीन वटा केन्द्रीय टे्रड युनियन संघका बीचको समझदारीले श्रम सम्बन्ध स्थापित गर्न सहयोग पुगेको व्यवसायीको विश्वास छ ।

यो सम्झौता ३१ डिसेम्वर, २०२० सम्म लागु हुने भएको छ । विषम परिस्थितिमा दुवै पक्षको लगातार बैठक मार्फत ‘बाँचौं र बचाऔं’ को नीति अख्तियार गरी सहकार्य गर्ने सहमति भएको हानको भनाइ छ । सम्झौताले दुःखको बेलामा पारिवारिक एकता समेत प्रदर्शित भएको व्यवसायीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment