Comments Add Comment

नेपाल भारत सीमा क्षेत्रमा तीन दिन झडप

४ साउन, बिराटनगर । नेपाल र भारतबीच सीमा विवादबारे सम्वाद रोकिएका बेला पूर्वको सीमाक्षेत्रमा भने तनाव बढेको छ । पछिल्लो तीन दिनमा प्रदेश १ को सीमावर्ती तीन स्थानमा झडप भएको छ । घटनामा तीनजना घाइते भएका छन् ।

बिहीबार र शुक्रबार राति सुनसरीको छुट्टा छुट्टै स्थानमा सुरक्षाकर्मी र तस्कर समूहबीच झडप भएको थियो ।

शनिबार राति झापामा तस्करको समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ ।

गौरीगञ्ज गाउँपालिका– ५ मलाहका टोल नजिकै दशजगा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय तस्कर समूहबीच झडप भएको हो । सीमा स्तम्भ १५२ नजिकै तस्करी गर्न आएको ४०–५० जनाको समूहले आक्रमण प्रयास गरेपछि ४ राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले बताए ।

बिहीबार सुनसरीको देवानगञ्ज गाउँपालिका– ३ पानीटंकीमा मोटरसाइकलमा आएका पाँचजनाको समूह र चेकजाँचका लागि खटिएको प्रहरी टोलीबीच गोली हानाहान भएको थियो । प्रहरीको गोली लागेर दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

भारतीय नम्बर प्लेटको दुईवटा मोटरसाइकलमा आएको समुहले चेकजाँचका क्रममा फायरिङ गरेपछि प्रहरीले १२ राउण्ड फायर गरेको थियो ।

प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका २ बस्ने २३ वर्षीय पिन्टु यादव, देवानगञ्ज ३ का ३२ वर्षीय राजेश यादव घाइते भएका छन् । तीनजना भने भारततर्फ भागेका थिए ।

घटनास्थलबाट प्रहरीले अटोमेटिक युएसए लेखिएको पेस्तोल एउटा, पेस्तोलमा लाग्ने ६ राउण्ड गोली, २ थान म्यागजिन र मोटरसाइकल बरामद भएको थियो ।

यस्तै सुनसरीकै हरिनगरा गाउँपालिका– ७ को सीमावर्ती क्षेत्र जटबरामा शुक्रबार राति सशस्त्र प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक घाइते भएका थिए । मध्यरातमा भारतबाट आउँदै गरेको समूहलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण गरी हतियार खोस्न खोजेपछि गोली चलाउनु परेको प्रहरीले बताएको छ ।

प्रहरीको गोली लागेर स्थानीय सहजब जट (अन्सारी) गम्भिर घाइते भएका हुन । उनको पेटमा गोली लागेको थियो । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरी उपरीक्षक कृष्ण ढकालले बताए । घटनाको विरोधमा शनिबार स्थानीयले प्रदर्शन गरेका छन् ।

पछिल्लो समय सशस्त्र प्रहरी र नेपाल प्रहरीले नाकामा सुरक्षा सतर्कता उच्च बनाएको छ । सुरक्षा सतर्कता बढाएर नाकामा कडाइ गर्दा सरक्षाकर्मीमाथि आक्रमण प्रयासका घटना बढेको प्रहरी अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment