
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित एक थुनुवा फरार भए। उनी प्रहरीको सुरक्षा घेरामा उम्किए।
- पछिल्लो एक महिनामा तीन थुनुवा फरार भएका छन् र प्रहरीको जिम्मेवारीमाथि प्रश्न उठिरहेको छ।
- प्रहरीले थुनुवालाई ल्याउने, राख्ने र सुरक्षा गर्न नियम नहुँदा भाग्ने घटनाहरू बढिरहेको छ।
१६ असार, काठमाडौं । १५ असार आइतबार काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित एक थुनुवा फरार भए ।
पश्चिम रुकुमको बाँफिकोट गाउँपालिका–१ घर भई काठमाडौंको गोंगबु बस्दै आएका २१ वर्षीय निराजनजंग ठकुरी भनिने दशरथ शाही आइतबार बिहान ११ बजेतिर अदालतबाट फरार भए । हातमा हत्कडी लगाएर अघिपछि प्रहरीले सुरक्षा समेत दिएर अदालत पुर्याएका शाही प्रहरीलाई नै चक्मा दिँदै उम्किए ।
उनको सुरक्षार्थ खटिएको प्रहरी भने हेरेको हेर्यै भयो । २० जेठमा चोरीको कसुरमा शाहीलाई प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । आइतबार अदालतमा थुनछेक बहसका लागि प्रहरी हवल्दार चक्रबहादुर रोकायाको कमान्डमा दुई जना प्रहरीको जिम्मा लगाएर पठाइएको थियो ।
अदालतको पहिलो तलाको ४ नम्बर इजलासमा थुनछेक बहस चलिरहेका बेला शाहीले आफूलाई पिसाब लागेको बताए । इजलासबाट प्रहरी जवान छविराम रेग्मीले उनलाई ट्वाइलेटतर्फ लगे ।
तर त्यही बेलामा शाही हत्कडीसहित उम्किए । यता प्रहरी जवान रेग्मी भने हेरेको हेर्यै । त्यतिमात्रै होइन, हत्कडीसहित फरार भएका शाहीले अदालतको गेटमा हुने ड्युटीलाई समेत हेरेको हेर्यै बनाए ।
खरानी कलरको टाटेपाटे सर्ट र कालो पाइन्ट, सेतो जुत्ता लगाएका शाही हत्कडीसहित प्रहरी सुरक्षा घेराबाट उम्किए । बिहान करिब साढे ११ बजेतिर हत्कडीसहित फरार भएका उनलाई प्रहरीले दिउँसो ३ बजेतिर गोंगबुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।
प्रहरीको सुरक्षा घेरामा रहेका थुनुवा अदालतबाटै फरार भएको यो पछिल्लो घटना हो । पछिल्लो एक महिनाको अवधिमा मात्रै काठमाडौं जिल्ला अदालत तथा सरकारी वकिल कार्यालय ल्याइएका तीन थुनुवा यसैगरी फरार भएका छन् ।
प्रहरीले म्याद थपका लागि सरकारी वकिल कार्यालय तथा बयान र थुनछेक बहसका लागि अदालत उपस्थित गराउने क्रममा थुनुवाहरू फरार हुने गरेको पाइएको छ । हत्कडी लगाएकै अवस्थामा प्रहरीको आँखा छल्दै थुनुवाहरू उम्कने गरेको घटनाहरूले देखाएको छ ।
शाहीभन्दा एक साताअघि मात्रै यस्तै शैलीमा अर्का थुनुवाले फरार हुने प्रयास गरे । ८ असारमा माइतीघरस्थित सरकारी वकिल कार्यालयको तेस्रो तलाबाट एक जना थुनुवा हाम फाले ।
चोरीको कसुरमा पक्राउ परेका रामेछाप घर भएका मदन बस्नेतलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो । बस्नेतलाई चोरीको आरोपमा प्रहरी वृत्त बौद्धले पक्राउ गरेको थियो ।
उनी पक्राउ परेपछि यसअघिका अन्य चोरीका घटनाहरूमा समेत उनको संलग्नता खुस्नसक्ने आधारहरू देखिएका थिए । वृत्त बौद्धले जुन घरमा चोरीको आरोपमा उनलाई पक्राउ गरेको थियो, त्यही घरमा यसअघि पनि चोरी भएको थियो ।
म्याद थप गर्न लगिएका बेला बस्नेतले सरकारी वकिल कार्यालयको तेस्रो तलाबाट स्वास्थ्य मन्त्रालयतर्फको जमिनमा हाम फालेका थिए । चोरीका थप शृंखला खुल्नसक्ने डरले उनले हाम फालेको हुनसक्ने एक अनुसन्धान अधिकृत बताउँछन् । प्रहरीको सुरक्षामै रहेका उनी हाम फालेर फरार हुने दाउमा थिए ।

तर तेस्रो तलाबाट हाम फालेका उनी उम्कन सकेनन्, घाइते भए । हाम फाल्दा उनको खुट्टा समेत भाँचिएको एसपी बोहरा बताउँछन् । त्यसपछि उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगेर उपचार गराइएको थियो ।
यी घटनाहरूले प्रहरीको जिम्मेवारीमाथि नै ठूलो प्रश्न उठाएको छ । आफ्नो जिम्मामा रहेको व्यक्तिको सुरक्षा गर्नु प्रहरीको प्रमुख दायित्व हो । तर प्रहरीकै कमजोरीका कारण बस्नेतको खुट्टा भाँचिनेदेखि शाही हत्कडीसहित फरार हुनेसम्मको घटना भए ।
यो घटनामा ठूलो दुर्घटना हुनबाट जोगिएको प्रहरी अधिकारीहरु विश्लेषण गर्छन् । ‘प्रहरीको नियन्त्रणमा कोही व्यक्ति हुनु भनेको कालगति बाहेक उसको जिउ ज्यान सुरक्षित छ भन्ने पनि हो । तर प्रहरीकै सुरक्षा घेरामा रहेको थुनुवा तेस्रो तलाबाट हाम हाल्नुले प्रहरीको ड्युटीमा प्रश्न उठाएको छ,’ एक प्रहरी अधिकृत भन्छन्, ‘हाम फाल्ने क्रममा अझ जिउ ज्यान तलमाथि भएको भए प्रहरीमाथि ठूलो शंका उत्पन्न हुन सक्थ्यो । भाग्यवश, तेस्रो तलाबाट हाम फाल्दा पनि केही भएन ।’
शाही र बस्नेत जस्तै अर्का एक थुनुवा भने यस्तै शैलीमा फरार भए । ३१ वैशाखमा दोलखाको वैतेश्वर गाउँपालिका–१२ घर भई काठमाडौं नरदेवी बस्ने २४ वर्षीय निशान परियारलाई चमतीबाट प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरेको थियो ।
अभद्र व्यवहारको कसुरमा पक्राउ परेका परियारलाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं लैजान भन्दै ७ जेठमा प्रहरी वृत्त स्वयम्भूले ल्याएको थियो । तर प्रशासन कार्यालय पुर्याउन नपाउँदै एसएसपी कार्यालय प्रमुख रहने जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको गेटबाटै उनी फरार भए ।
प्रहरीको गेटबाटै आँखा छल्दै परियार फरार भए । उनी उम्किसकेपछि मात्रै परियार फरार भएको प्रहरीले चाल पायो । उनलाई म्याद थप गर्न लैजाने प्रहरीको ड्युटीमा गम्भीर सुरक्षा चुक भयो । ७ जेठको दिउँसो सवा १२ बजेतिर फरार भएको ६ घण्टापछि साँझ सवा ६ बजेतिर याट्खा टोलबाट उनी पक्राउ परे ।
थुनुवालाई सरकारी वकिल तथा अदालत लाँदा–ल्याउँदा के गर्ने ?, कस्तो विधि अपनाउने ?, थुनुवा ज्याकेट लगाउने/नलगाउने ? बारे कुनै मापदण्ड नै नरहेको प्रहरी अधिकारीहरू बताउँछन् । यी सबै कुराहरू प्रहरीको स्वविकेकीय निर्णय हुन् । यीनै लुपहोलको फाइदा उठाउँदै थुनुवा भाग्ने गरेको पनि देखिन्छ ।
आइतबार मात्रै हत्कडीसहित भागेका थुनुवाको शरीरमा थुनुवा लेखिएको ज्याकेट थिएन । त्यही भएर उनी सहजै उम्कन सफल भएका थिए । यदी थुनुवाको ज्याकेट लगाएको भए अदालतको गेटमा ड्युटी रहेका सुरक्षाकर्मीले उनलाई रोक्न सक्ने अवस्था हुन्थ्यो भने बाहिर समेत निस्केको अवस्थामा पनि सर्वसाधारणले थाहा पाएर प्रहरीलाई खबर गर्ने अवस्था हुन्थ्यो । तर उनी ज्याकेट बिनै फरार भएका थिए ।
थुनुवाबारे दैनिक रूपमा फिल्ड कमान्डरलाई ब्रिफिङ गरेर ड्युटीबारे जानकारी गराउने र सुधार गनुपर्ने कामहरूबाट निर्देशन गर्ने गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी टेक बहादुर तामाङ बताउँछन् ।
यसरी थुनुवा भाग्ने क्रम भने पुरानै हो । यसअघि पनि अदालत लाने–ल्याउने क्रममा थुनवाहरू भाग्दै आएका छन् ।
यसरी भाग्नेहरूलाई पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सयाज हुनसक्ने व्यवस्था कारागार ऐन २०७९ मा उल्लेख छ । सुरक्षाकर्मीले भगाएमा वा भाग्न सहयोग गरेमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
यता प्रहरीले थुनुवालाई लगाउने हत्कडीबारे पनि पटक-पटक विवाद हुँदै आएको छ । कस्तो अवस्थामा हत्कडी लगाउने अथवा कसैलाई लगाएको, कसैलाई नलगाएको भनेर प्रहरीमाथि पनि आलोचना हुँदै आएको छ ।
अपराधशास्त्रमा एलएलएम गरेका नेपाल प्रहरीका पूर्वएसएसपी दिनेशराज मैनाली हत्कडी लगाउने केही आधारहरू रहेका बताउँछन् । थुनुवा भाग्ने सक्ने अवस्था भए, उनीबाट कसैमाथि सुरक्षा खतरा भए र थुनुवा आफैंमाथि पनि सुरक्षा खतरा भए हत्कडी लगाउने चलन रहेको उनी बताउँछन् ।
मानव अधिकारको समेत पालना गर्दै थुनुवालाई सरकारी वकिल तथा अदालत लाने ल्याउने गर्नुपर्ने उनी सुझाउँछन् ।
काठमाडौंमा समेत लामो समय बसेर अवकाश पाएका मैनालीले भने अदालत लैजानु भन्दा पहिला हिरासत कमाण्डरले फोटो खिचेर राख्नुपर्ने बताउँछन् । आफू काठमाडौं परिसरमा हुँदा यो विधि अपनाएको उनी सुनाउँछन् ।
‘अदालत लैजानु अघि फोटो खिचेर राखेको अवस्थामा भागिहालेमा त्यही हुलियाका आधारमा खोजी गर्न सहज हुन्छ । अदालतबाट फर्केर ल्याउँदा पनि त्यो हुलिया परिवर्तन भएको छ कि छैन यकिन गर्नुपर्छ’ उनी भन्छन् ।
थुनुवालाई अदालत लैजाने कमान्डर बोहक अरूलाई मोबाइल बोक्न दिन नहुने पनि उनी सुझाउँछन् । ‘सबै प्रहरीले मोबाइल बोक्दा मोबाइलमा भुलिने र त्यही बेलामा थुनुवा भाग्न सक्ने सम्भावना रहेकाले कमान्डर बाहेक अरू प्रहरीले मोबाइल बोक्न हुँदैन’ मैनाली भन्छन् ।
प्रतिक्रिया 4