Comments Add Comment

‘सरकारभन्दा ठेकेदार बलियो बनेका हुन् ?’

४ साउन, काठमाडौं । निर्माण व्यवसायीहरुले काममा ढिलासुस्ती गरेको विषयलाई बेलाबेला सरोकारवालाहरुले निकै चर्चामा ल्याउँछन् । तर, यो बिषय एउटा सदाबहार प्रथाको रुपमा रहिआएको छ ।

नेपालमा पप्पु कन्स्ट्रक्सन कम्पनी ढिलासुस्तीको ज्वलन्त नमूना बनेको छ । संघीय समाजवादी पार्टीका निलम्बित सांसद हरिनारायाण रौनियार सञ्चालक रहेका यो कम्पनीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत टाउको दुखाइरहेको छ ।

ठेक्का लिएर आयोजनाहरु अलपत्र पार्ने पम्पु कन्स्ट्रक्शनले पूरा गरेका योजना पनि गुणस्तरहीन छन् । यो कम्पनीले ठेक्का पाएको काठमाडौंको तीनकुनेस्थित बागमतीको पुलको पाइल्स (पानी बग्ने ठाउँमा रहने पिल्लर)मा गम्भीर त्रुटि पाएपछि सडक विभागले ठेक्का रद्द गरेको थियो ।

यस विषयमा छलफल गर्न आइतबार राखिएको संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले निकै गम्भीर प्रश्नहरु उठाए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङलाई बोलाइएको बैठकमा सांसदहरुले अलपत्र निर्माणाधीन पुलहरुको सन्दर्भमा ‘यो देश कसले चलाइरहेको छ ?’ भनेर प्रश्न गरे ।

समितिकी सभापति कल्याणीकुमारी खड्काले ठेकेदार मात्र नभई सरकारको पनि कमजोरीका कारण पुलहरुको काम पुरा हुन नसकेको बताइन् ।

सांसद रामबहादुर विष्टले अलपत्र पुलका विषयमा संसदीय समितिले निकै चासो दिएपनि सरकारले बेवास्ता गरेको बताए । मन्त्रालय र विभागको लापरवाहीका कारण पनि पुलहरु अलपत्र परेको भनाइ उनले राखे ।

‘ठेकेदारहरु सरकारले तोकेको मापदण्ड भन्दा आफूले पालना गरेको मापदण्ड ठिक छ भन्दै हिँडेका छन्’, सांसद विष्टले वैठकमा भने, ‘सरकारभन्दा ठेकेदार बलियो बनेका हुन् ?’

उनले संसदीय समितिले दिएका निर्देशनहरु पनि सरकारले पालना नगरेको भन्दै असन्तुष्टि जनाए । ‘समितिले बोलाएपछि आयो अनि सकियो’, उनले भने, ‘यसरी नै कसरी हुन्छ ?’

अर्का सांसद यज्ञराज सुनुवारले ‘यो देश कसले चलाएको छ ?’ भन्दै प्रश्न गरे । ‘देश कसले चलाएको छ ? मन्त्रीले ? कर्मचारीले ? कि ठेकेदारले ?’ उनले भने, ‘म त अलमलमा परेको छु ।’

उनले असारे झरी सुरु भएसँगै काम गर्ने परिपाटी अब अन्त्य गर्नुपर्ने बताए । ‘म संविधानसभा सदस्य निर्वाचित भएयता २०७० देखि सिंहदरबार आइरहेको छु, यहाँ हरेक वर्षा याममा काम भइरहेको हुन्छ’ सुनुवारले भने, ‘सिंहदरबार पस्ने दक्षिण गेटमै हरेक बर्षातमा सडक पेटी भत्काउने काम हुने गरेको छ ।’

सांसद विनाकुमारी श्रेष्ठले समितिले अनुमगन गरेर प्रतिवेदनसहितको निर्देशन दिँदा पनि कार्यान्वयन नभएको भन्दै आपत्ति जनाइन् । निर्देशन कार्यान्वयन नहुने भए छलफल गरिरहनुको पनि अर्थ नरहने उनले बताइन् ।

अर्की सांसद आशा विकले एउटै विषयमा बोल्दाबोल्दा हैरान भएको तर सरकारले काम नगरेको बताइन् । उनले ठेकेदारहरुले स्थानीय तहका सरोकारवाला जनप्रतिनिधिहरुको फोन नउठाउने र उठाए पनि भनेको नमान्ने गरेको समेत बताइन् ।

‘६८ सालदेखिका आयोजनाहरु अधुरा छन्’, उनले भनिन्, ‘काम सक्न सरकारले ध्यान दिनपर्‍यो ।’

त्यस्तै, सांसद रंगमती शाहीले असार ३१ गते धेरै चेक काटिने तर काम भने सधैं अलपत्र पार्ने क्रम रोक्न सरकारलाई भनिन् ।

मन्त्री भन्छन्– पुलको समस्या ठूलै छ

सांसदहरुको कुरा सुनिसकेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्वाङले पुलको समस्या ठूलै रहेको बताउँदै यसमा सरकारले पनि राम्रैसंग ध्यान दिएको दावी गरे ।

कतिपय अनावश्यक ठाउँमा पनि पुल बनेको तर हुनैपर्ने ठाउँमा चाही नबनेको जानकारी उनले दिए । ‘मन्त्रालयले पुलका समस्या बेहोरेको छ’, मन्त्री नेम्वाङले भने, ‘झोलुङ्गे र कल्भर्टले काम चल्ने ठाउँमा पनि पुलको माग हुने समस्या पनि उत्तिकै छ ।’

पुल निर्माणको काम छिटो गर्नुपर्छ भन्नेमा मन्त्रालय सजग रहेको भन्दै उनले जनशक्ति अभाव पनि समस्याको रुपमा देखिएको बताए । करारमा जनशक्ति नियुक्त गर्न नपाउँदा पनि समस्या भएको उनले बताए ।

मन्त्री नेम्वाङले एक वर्षमै सक्नुपर्ने योजनाहरु भदौमा नभए पनि असोजमा शुरु हुनैपर्ने बताउँदै त्यसो गर्न आफूले निर्देशन दिइसकेको बताए ।

काठमाडौंको तिनकुने र टेकुस्थित पुल अलपत्र अवस्थामा छन् । विकास समितिले २०७६ जेठ २ गते गरेको तिनकुने पुलको स्थलगत अध्ययन गर्दा पाइलमा गम्भीर त्रुटि फेला पारेको थियो । २९.५ मिटर गहिरो (लम्बाई) का १६ वटा (१२०० एमएम) पाइल निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएकोमा एउटा पाइल १६.५ मिटरको मात्र निर्माण भएको र दुईवटा पाइल भाँचिएको समितिको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

पुलको तीनवटा जगमा गम्भीर त्रुटि देखिएपछि काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पाइलको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन दिदा ठेकेदार पप्पु कन्स्ट्रसनले पुलको सब–स्ट्रक्चर बनाएर स्ल्याब ढलानको तयारी गरेको थियो । त्यसपछि ठेक्का नै गरिएको थियो ।

२०७५ असार ५ गते सम्ममा निर्माण सकिएर हस्तान्तरण भई सञ्चालनमा आइसक्नुपर्ने उक्त पुल त्यसै अलपत्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment