+
+
Shares

मनकामना मन्दिर जाने बाटोमा बन्न लागेको पुलको मुख्यमन्त्रीद्धारा शिलन्यास

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको मनकामना मन्दिर जाने सडकखण्डमा गण्डकी प्रदेश सरकारले ७ करोड ५९ लाख ३० हजारमा मोटरेवल पुल बनाउने योजना अघि बढाएको छ।
  • मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुलको शिलन्यास गर्दै काम समयमै सक्नुपर्ने र बजेटका कारण काम रोकिँदैन भने।
  • पुल बनेपछि शहीद लखन गाउँपालिका र गोरखा नगरपालिकाका स्थानीयलाई आवागमन र कृषि उपज बजार व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको छ।

५ मंसिर, गोरखा । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने सडकखण्डमा मोटरेवल पुल बन्ने भएको छ ।

गोरखा नगरपालिका–१२ र शहीद लखन गाउँपालिका–१ जोड्ने लुदी खोलामाथि गण्डकी प्रदेश सरकारको लगानीमा पुल बन्न लागेको हो ।

पुलको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलन्यास गरेका छन् ।

स्याउली बजार–भट्ट फाँट हुदै मनकामना जोड्ने सडकखण्डमा बन्न लागेको पुलको कूल लागत ७ करोड ५९ लाख ३० हजार रहने पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ ।

‘लागत अनुमान १० करोड ३१ लाख ६० हजार हो,’ कार्यालय प्रमुख गणेश सुवेदीले भने, ‘तर ७ करोड ५९ लाख ३० हजारमा ठेक्का सम्झौता भएको छ ।’

गणेशकुण्ड इन्फ्रास्ट्रक्चर एण्ड बिल्डर्स प्रालिसँग ठेक्का सम्झौता भएको छ । दुई वर्षमा काम सक्ने गरी यही असार २२ गते सम्झौता भएको सुवेदीले जानकारी दिए । उनका अनुसार पुलको कूल लम्बाई ६० मिटर र चौडाई ८.४० मिटर रहने छ ।

पुल बनेसँगै सो सडकखण्डमा बाह्रै महिना सवारी आवागमन सहज हुने अपेक्षा छ ।

विशेष गरी शहीद लखन गाउँपालिका र गोरखा नगरपालिकाका स्थानीय पुलबाट बढी लाभान्वित हुनेछन् । उत्पादित कृषि उपजको बजार व्यवस्थापनमा पनि सहज हुने भन्दै स्थानीय खुशी छन् ।

पुल शिलन्यासपछि बोल्दै मुख्यमन्त्री पाण्डेले बजेटका कारण काम नरोकिने बताए । कामको प्रगति आधारमा रकम भुक्तानी हुने भन्दै उनले भने, ‘काम समयमै सक्नुपर्‍यो, बजेटका कारण काम रोकिँदैन ।’

मनकामना जोड्ने अन्य सडकखण्डमा पनि पुलको माग भएकाले क्रमश: बजेट विनियोजन हुदै जाने उनले बताए ।

सीमित स्रोत साधनका कारण एकै पटक सबै स्थानीयको माग पूरा गर्न सम्भव नहुने उनले स्पष्ट पारे ।

‘मनकामना जाने धेरै सडक छन्, सबै सकिँदैन तर एउटा सडक प्रदेशले कालोपत्रे गर्छ,’ उनले भने, ‘तर कुन सडक कालोपत्रे गर्ने भनेर स्थानीयहरू सहमति गरेर आउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?