Comments Add Comment

ठोरीस्थित सीता गुफा नजिकको सीमा स्तम्भ उखेलेर फालियो

ठोरीवासी भन्छन्– सीमा स्तम्भ उखेलिनु षडयन्त्र हो

४ साउन, काठमाडौं । पर्साको ठोरीस्थित सीता गुफा नजिकै रहेको सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा फेला परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या ठोरीमा पर्ने उदघोष गरेसँगै सीता गुफा क्षेत्र एकाएक चर्चामा आएको थियो ।

प्रसिद्ध धार्मिकस्थल सीता गुफादेखि दक्षिणतर्फ सोमेश्वर पहाडमा रहेको ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक दीपक दाहालले जानकारी दिए ।

प्रहरी निरीक्षक दाहालले भने, ‘ठोरीवासीले शनिबार बिहान सीता गुफा क्षेत्रमा पूजापाठ गरेका थिए । अमृतधाराबाट जल भरेर स्थानीयले कलश यात्रासमेत गरेका थिए । शनिबार मध्यान्ह १२ बजेसम्म सीमा स्तम्भ सुरक्षित नै थियो । भारतीय सीमा सुरक्षाबल (एसएसबी)का इन्सपेक्टरसमेत सो क्षेत्रमा खटिएका थिए । पूजापाठ सकिएपछि सबैजना आ–आफ्नो घर गइसकेपछि मात्रै दुवैतर्फका सुरक्षाकर्मी क्याम्पमा फर्केका थियौं । तर शनिबार अपरान्ह एकाएक सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा पायौं ।’

ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले बिहान पूजापाठ हुँदासम्म नेपाल–भारत सीमामा अवस्थित सीमा स्तम्भ देखिएको तर अपरान्ह एकाएक नदेखेको बताए ।

यो पनि पढ्नुहोस ठोरी र माडीका जनप्रतिनिधि भन्छन्– अयोध्याबारे बोलेकोमा प्रधानमन्त्रीलाई धन्यवाद !

अध्यक्ष श्रेष्ठले भने, ‘हामी बिहानैदेखि पूजापाठमा व्यस्त थियौं । सो समयमा सीमा स्तम्भ सुरक्षित रुपमा नै देखेका थियौं, पूजापाठ सकेर सबै जना फर्किएपछि सीमा स्तम्भ नरहेको खबर पाएँ ।’

गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले अयोध्या भूमिको रुपमा एकाएक चुलिएको चर्चालाई मत्थर पार्न सीमा स्तम्भ उखेल्ने काम भएको हुन सक्ने बताए

प्रहरी निरीक्षक दाहालले भने, ‘सीमा स्तम्भ पनि गहिरो गरी गाडिएको रहेनछ । करिब एक हात बराबर गहिरो बनाएर गाडिएको रहेछ । सीमा स्तम्भ रहेको स्थानभन्दा केही मिटर टाढा सीमा स्तम्भ फेला पारेका छौं । सीमा स्तम्भ उखेलिएकोबारे माथिल्लो निकायमा जानकारी गराइसकेका छौं । भारततर्फका एसएसबी बल र हाम्रो टोलीले उखेलेर फालिएको अवस्थामा फेला परेको सीमा स्तम्भको सुरक्षा गरिरहेका छौं ।’

सीमा स्तम्भ कसले र किन उखेलेर फाल्यो भन्ने विषयमा केही खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको दाहालले बताए ।

प्रधानमन्त्री ओलीले भगवान रामको जन्म ठोरीमा भएको अभिव्यक्ति आएसँगै सो क्षेत्रमा मानिसहरुको चहलपहल बढ्दै गएको छ । शनिबार गाउँपालिकाले कलश यात्रा अयोजना गर्दै भव्य पूजाअर्चना गरेको थियो ।

ठोरीवासी भन्छन्– सीमा स्तम्भ उखेलिनु षडयन्त्र हो

सीमा स्तम्भ एकाएक उखेलिएपछि ठोरीका बासिन्दाले भने यसलाई षडयन्त्रको रुपमा लिएका छन् ।

ठोरीका स्थानीय समेत रहेका जिल्ला समन्वय समिति पर्साका उपप्रमुख ठाकुर न्यौपानेले सीमा स्तम्भ विवाद खडा गरेर अहिलेको माहोललाई अन्त मोड्न खोजिएको हुन सक्ने बताए ।

उनले भने, ‘सोमेश्वर पहाडको टुप्पोमा चट्टानको बीचमा सो स्तम्भ थियो । चट्टान भएका कारण त्यति राम्रोसँग सीमा स्तम्भ गाडिएको जस्तो देखिदैन थियो । सो सीमा स्तम्भ हल्लाउँदा समेत हल्लिने अवस्थामा थियो । सहजै उखेल्न सक्ने अवस्थाको फाइदा उठाएरै यो काम भएको हुन सक्छ । वर्षौंदेखि त्यस्तै अवस्थामा रहेको सीमा स्तम्भ एकाएक उखेलिनु सुनियोजित हो भन्ने मलाई लाग्छ ।’

भगवान राम जन्मेको भनिएको अयोध्या भूमि ठोरीबारे खोज तथा अनुसन्धान हुनुपर्ने चौतर्फी दवाब भइरहेको समयमा सो कामलाई प्रभावित पार्ने तत्वहरुले यो काम गरेको हुने सक्ने उनको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले अयोध्या भूमिको रुपमा एकाएक चुलिएको चर्चालाई मत्थर पार्न सीमा स्तम्भ उखेल्ने काम भएको हुन सक्ने बताए ।

भगवान रामको जन्मभूमि अयोध्या ठोरी नै भएको प्रधानमन्त्रीको अभिव्यक्ति आउनु र त्यसका प्रशस्त आधारहरु ठोरीमै हुनु अनुसन्धानको विषय भइरहेको समयमा यसलाई अन्ततिरै ध्यान मोड्न सुनियोजित तरिकाले सीमा स्तम्भ उखेलेको हुन सक्ने स्थानीय युवा नेता प्रकाश खनाल बताउँछन् ।

उनी भन्छन्, ‘अयोध्याबारे खोज र अनुसन्धान हुनुपर्ने आवाज चौतर्फी रुपमा उठिरहेको समयमा सीमा स्तम्भको विषयलाई लिएर विवाद खडा गरी सीता गुफा क्षेत्रमा आवात–जावतमा समेत रोक लगाउने ढंगले यो काम भएको हुन सक्छ ।

अयोध्या भूमिबारे थुप्रै प्रमाणहरु भेटिन थालेपछि भारतीय पक्षले अत्तालिएर सीमा स्तम्भ उखेलेर विवाद सिर्जना गर्न खोजेको ठोरीका नागरिक समाजका अगुवा सन्तोष श्रेष्ठले बताए ।

‘वर्षौंदेखि त्यही अवस्थामा सीमा स्तम्भ रहन सक्छ । तर एकाएक अयोध्या भूमिको रुपमा ठोरी चर्चामा आएपछि सीमा स्तम्भ उखेलिनु सुनियोजित नै हुन सक्छ,’ श्रेष्ठले भने, ‘सीमा स्तम्भको विवाद खडा गरेर खोज तथा अनुसन्धानलाई प्रभावित पार्न खोजेको हुन सक्छ ।’

यो पनि पढ्नुहोस भारतले कूटनीतिक पहलको गम्भीरता बुझेन : परराष्ट्रमन्त्री ज्ञवाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment