Comments Add Comment

पृथ्वी राजमार्गमा दजनौं पहिरो, काठमाडौं आवतजावत ठप्प

प्रहरी भन्छ – कहिले खुल्छ भन्न सकिदैन

तस्वीर साभार : दानबहादुर गुरुङको फेसबुकबाट ।

५ साउन, काठमाडौं । निरन्तरको वर्षाका कारण पहिरो खस्दा राजधानी काठमाडौं जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग दर्जनौं ठाउँमा अवरुद्ध भएको छ ।

धादिङ र चितवन जिल्लामा राजमार्गमा खसेको पहिरोका कारण गाडी गुडेका छैनन् । चितवनबाट आउने गाडी मुग्लिन नारायणगढ सडक खण्डको चार किलोमा रोकिएका छन् ।

पोखराबाट आउने गाडी चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनीमा रोकिएका इलाका प्रहरी कार्यालय मुग्लिनका इन्सपेक्टर कञ्चन तामाङले जानकारी दिए ।

काठमाडौंबाट बाहिरिने गाडी पनि गल्छीसम्म पुगेर रोकिएका छन् । गल्छीको महेशखोलामा ठूलो पहिरो खसेको छ । मुग्लिन नारायणगढ सडकको चार किलोमा ठूलो पहाड नै खसेको छ । ‘धेरै ठूलो पहिरो खसेको छ, तत्कालै पन्छाउन सकिने खालको छैन’ इन्सपेक्टर तामाङले भने ।

उनका अनुसार पृथ्वी राजमार्गमा चितवन जिल्लामा दर्जन भन्दा बढी पहिरो खसेको छ । फिस्लिङ बजार वरपर ५/६ वटा र मौवाखोला वरपर पनि ४/५ ठाउँमा पहिरो खसेको छ । ‘साना तिना डिस्टर्बहरु त गनिसाध्यै छैन, एक पटक सफा नगरी गाडी गुडाउन सकिने अवस्था छैन’ इन्सपेक्टर तामाङले भने ।

सोमबार साँझसम्म पनि निरन्तर वर्षा भइरहेको र पहिरो खसिरहेकाले राजमार्गमा खसेको पहिरो पन्छाउन सकिएको छैन । त्यसैले वर्षाको अवस्था नहेरी राजमार्ग कहिले सञ्चालन हुन्छ भन्न नसकिने प्रहरीको भनाइ छ ।

धादिङमा पुल नै भत्कियो

बाढीले धादिङको मोवाखोलामा पुल नै भत्काएको छ । काठमाडौं आउँदा चितवनबाट धादिङ प्रवेश गर्ने मोवाखोलाको धादिङतर्फको खण्डमा खोलाले पुल बगाएको हो । मोवाखोलाको बाढीले धादिङ र चितवन दुबै तर्फ केही घरहरु बगाएका छन् । तर मानवीय क्षति भएको छैन ।

धादिङको जोगिमारामा खसेको पहिरोले ३ वटा गाडी बगाएको छ भने ४ वटा पुरिएको छ । धादिङको फुर्केखोला, गलौंदी, गल्छीको महेशखोला क्षेत्रमा पनि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी रुपक खड्काले जानकारी दिए । वर्षाका कारण राजमार्गमा रातो माटोको लेदो र पहिरो खसेका छन् ।

यस्ता लेदो माटो र पहिरोका कारण राजमार्ग कतै एकतर्फी भएका छन् भने कतै पुरै बन्द भएका छन् । पहिरो खसिरहेकाले अहिलेसम्म विवरण संकलन हुन नसकेको धादिङका डीएसपी रुप खड्काले बताए ।

धादिङमा १ जना बेपत्ता दुई जना घाइते

धादिङमा पहिरोका कारण एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । डीएसपी खड्काका अनुसार गजुरी गाउँपालिका– २ मा पहिरोले ६ घरमा क्षति भएको छ, एक जना बेपत्ता र एक जना घाइते भएका छन् । त्यस्तै बेनिघाट रोराङ गाउँपालिकामा एक जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment