Comments Add Comment

छाङरुका नागरिकका लागि सेनाले घाँटीबगरमा २५० मिटर ट्याक खोल्यो

६ साउन, काठमाडौं । दार्चुलाबाट छाङरुसम्म पुग्न स्थलमार्गमा अवरोध भएका कारण नेपाली सेनाले सर्वसाधारणका लागि ट्याक खोल्ने कार्य गरिरहेको छ ।

भौगोलिक रुपमा विकट घाँटीबगर–तिंकर सडकखण्डमा ट्याक खोल्ने जिम्मा पाएको सेनाले त्यसअघि सर्वसाधारणका लागि गोरेटो बाटो खोलेको हो ।

छाङरुवासीले सदरमुकाम खलङ्गा आवतजावत गर्न अहिले भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएका थिए । मौरी भिरमा रहेकाे ठूलाे चट्टान र घाँटीबगरमा गएको पहिरोका कारण नेपाली भूमिबाट सदरमुकाम पुग्न असहज थियाे ।

सेनाले गाेरेटाे बनाएसँगै याे समस्या हल हुनेछ ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार हालसम्म २ सय ५० मिटर गोरेटो बाटो सेनाले बनाइसकेकाे छ । सेनाले जम्मा ४ सय ५० मिटरको गोरेटो  निर्माण गर्नेछ । त्यसपछि ८७ किमी सडक निर्माण सेनाले थाल्नेछ ।

सरकारले दार्चुला–तिंकर सडकलाई महाकाली लोकमार्गको रुपमा निर्माण गर्ने लक्ष्य लिएको थियो ।

मन्त्रिपरिषद बैठकले यो सडकको कुल १३४ किमीमध्ये ठेक्का व्यवस्थापन हुन बाँकी ८७ किमी घाँटीबगर–टिंकर खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनामार्फत गराउने निर्णय गरेको थियो ।

आर्थिक वर्ष ०६५/६६ बाट निर्माण सुरु भएको यस सडकको काम लामो समयदेखि अलपत्रजस्तो थियो । त्यसबीच १५ वैशाख २०७७ बाट सडक निर्माणमा सेनालाई परिचालन गर्ने सरकारले निर्णय गरेको थियो ।

कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्रलाई मिचेर भारतले सडक बनाएपछि जनआक्रोश तीब्र भएकै वेला सडक निर्माणका लागि नेपाली सेनाको एक सेक्सन प्लस फौज ८ जेठमा घाँटी बगर गएको थियो । त्यसक्षेत्रमा प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनालले असार पहिलो साता निरीक्षण भ्रमण पनि गरिसकेका छन् ।

चीन र भारतको सीमा नाका समेत पर्ने दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने छाङरु र तिंकर गाउँमा करिब १८२ घरपरिवार छन् ।

यो पनि पढ्नुहोस प्रधानसेनापति र सशस्त्रका आईजीपीको छाङरु भ्रमणको सन्देश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment