Comments Add Comment

वर्षाले वीरगञ्ज जलमग्न (फोटो फिचर)

६ साउन, वीरगञ्ज । अविरल वर्षाका कारण वीरगञ्ज जलमग्न बनेको छ । वीरगञ्जको श्रीपुर, जिल्ला प्रशासन कार्यालय, गोश्वारा रोड, आदर्शनगर, पानीट्याङ्की लगायतका स्थानमा पानी जमेको हो । जमेको पानी सर्वसाधरणको घर तथा पसलमा समेत पसेको छ । समथर जमिन र वर्षाको पानीका लागि उपयुक्त निकासको प्रबन्ध हुन नसक्दा वीरगञ्ज वर्षेनी डुबानमा पर्ने गरेको छ ।

वीरगञ्ज महानगरपालिकाले समस्या समाधानका लागि कुनै चासो नलिएको स्थानीयको गुनासो छ । किसन साहको घर जिल्ला प्रशासन कार्यालय अगाडि नै छ । घरमा वर्षेनी पानी पस्ने गरेको उनी बताउँछन् ।

‘वर्षेनी घरमा पानी पसेर हैरानी बेहोर्नुपरेको छ,’ उनले भने, ‘सिडियो कार्यालय अगाडि अग्लो पुल बनाएपछि झनै आपत आइलागेको छ । गौशाला रोडमा आउने पानी नालामा जाने निकास छैन । मेरो मात्रै होइन, अरु धेरै जनाको घरमा पानी पस्छ ।’

नगरपालिकाले विगतमा सफाइ अभियान चलाएर नाला सफाइ गर्ने गरेको थियो । तर जनप्रतिनिधि आएपछि नाला सफाइ नभएको गुनासो उनले गरे । ‘सिधै दक्षिणतर्फ जानुपर्ने नालालाई अरुको घर बचाउन मस्जिद गल्लीबाट बंग्याएर पश्चिमतर्फ घुमाइएको छ । त्यसमाथि १० फिटको नाला खुम्च्याएर ४ फिटको नाला बनाएर ढक्कन लगाइएको छ,’ उनले भने, ‘स्थानीय सरकार आएपछि नालाको सफाइ समेत हुन सकेको छैन ।’

जिल्ला प्रशासन कार्यालयको मुल गेटकै अगाडि उत्तम श्रेष्ठको घर लगायत दर्जनौ घर पसलमा पानी पसेको छ । गोश्वारा रोड पुरै जलमग्न बनेको छ,’ श्रेष्ठले भने, ‘जिल्ला प्रशासन कार्यालय अगाडि घर छ भन्न पनि लाज लाग्छ । किनकी एक/दुई घण्टा वर्षा हुने वित्तिकै घरभित्र पानी पस्छ ।’

‘वडाध्यक्ष, नगर प्रमुखलाई समस्याबारे जानकारी गराउँदा सुन्दै सुन्दैनन्,’ उनले भने, ‘वीरगञ्जको मुख्य नाला माथि कतिपय मानिसहरुले संरचना नै बनाएका छन् । क्लासिक होटल, हरिखेतान क्याम्पस मुनि नाला छ । ती ठाउँमा माटो जमेर पानीको निकास हुन नसकेकोले सिडियो कार्यालय, श्रीपुर लगायतका क्षेत्रमा पानी जम्ने गरेको छ ।’

नगर प्रमुख विजयकुमार सरावगी २० औं वर्षदेखि नाला सफा नगर्दा झारपात, माटोले नाला भरिएकोले पानीको निकास नभएको बताउँछन् । ‘मुख्य नाला माथि कतिपयले संरचना बनाएर दवाइएको छ । झारपात, माटो र फोहोरले नाला भरिएको छ । २० प्रतिशत मात्रै पानी तनिरहेको छ,’ उनले भने, ‘पुरै पानी तान्ने बनाउन नालाको सफाइ गर्नुपर्ने छ । एमडी १ नाम दिइएको मुख्य नाला सफाइका लागि १ करोड बजेट बिनियोजन गरेका छौं । टेन्डर मार्फत काम हुन्छ ।’

ड्रेन सफाइ र मर्मत गर्दै छपकैया अगाडि सिर्सिया नदीमा लगेर खसाल्ने योजना रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment