Comments Add Comment

लगानी बोर्डको सीईओमा योजना आयोगका माननीयदेखि पुनर्निर्माणका प्रमुखसम्मको दावेदारी

६ साउन, काठमाडौं । लगानी बोर्ड, नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नका लागि यतिबेला तीव्र दौडधुप शुरु भएको छ । बोर्डका सीईओ महाप्रसाद अधिकारीलाई सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरे पश्चात बोर्डको नेतृत्व खाली छ ।

लकडाउनकै बीचमा खाली भएको सीईओ पदपूर्तिका लागि सरकारले समितिले बनाएर नियुक्तिका लागि काम अघि बढाइसकेको छ ।

खुला प्रतिस्पर्धा गर्ने भनिएको सीईओ पदका लागि एक दर्जनको आवेदन परेको छ । सीईओका लागि आवेदन दिनेहरु राजनीतिक लबिइङमा व्यवस्त  छन् ।

सीईओका लागि माननीय हैसियतका व्यक्तिदेखि पुनर्निर्माण प्राधिकरणका सीईओसमेतको आवेदन परेको छ । सरकारले सीईओ नियुक्तिका लागि अर्थमन्त्री डा. युवराज खतिवडा संयोजकत्वमा एक सिफारिस समिति गठन गरेको छ ।

उक्त समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेल र अर्थशास्त्री गोविन्द नेपाल सदस्य रहेका छन् । यो समितिले १२ जना मध्ये ३ जनालाई छनोट गरेर मन्त्रिपरिषद्को कार्याल्यमा सिफारिस गर्नेछ । सिफारिस भएकामध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले बोर्डको सीईओमा नियुक्त गर्नेछ ।

को-को छन् दौडमा ?

बोर्डको सीईओ बन्न्का लागि राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसम्म दावेदारका रुपमा छन् ।

भट्टले नेकपा निकटका नेताहरुलाई आफ्ना योजनाहरु सुनाउँदै सीईओ नियुक्तिको लागि पहल गरिदिन आग्रह गर्दै आएको नेकपाका नेताहरु बताउँछन् ।

उता प्राधिकरण सीईओ ज्ञवाली पनि आफूले पुनर्निर्माणमा राम्रो काम गरेको दावीसहित प्रधानमन्त्री ओली निकट नेताहरुलाई आफूलाई नियुक्त गर्ने वातावरण बनाइदिन आग्रह गरिरहेको स्रोतको दावी छ ।

भट्ट र ज्ञवालीसँगै आवेदन दिनेहरुमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष एवं कर्मचारी सञ्चयकोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी तथा प्रदेश १ को लगानी प्राधिकरणका सीईओ डा. सरोज कोइरालाले समेत यो दौडमा छन् ।

यसैगरी माछापुच्छ्रे बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, कानुन सेवाका शेरजङ कार्की र अर्थशास्त्रका सहप्राध्यापक रमेशचन्द्र पौडेल, पूर्वसहसचिव लक्ष्मीविलास कोइराला, बोर्डमा परामर्शदाताका रूपमा कार्यरत इन्जिनियर आशिष गजुरेल र रामकृष्ण खतिवडा तथा विशेष आर्थिक क्षेत्र प्राधिकरणका पूर्वकार्यकारी निर्देशक चण्डिका भट्टसमेत सीईओको दौडमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment