Comments Add Comment

टेक्सासको चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न अमेरिकाको निर्देशन

अमेरिकाले चीनलाई टेक्सासको होउस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ । अमेरिका र चीनको सम्बन्ध चिसिँदै गएको अवस्थामा अमेरिकाले टेक्सासको महावाणिज्य दूतावास शुक्रबारदेखि बन्द गर्न निर्देशन दिएको हो । अमेरिकाको विदेशमन्त्रालयले यो निर्णय अमेरिकी बौद्धिक सम्पत्ति संरक्षणको लागि लिइएको बताएको छ ।

अमेरिकाको विदेश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा बौद्धिक सम्पत्ति र अमेरिकाको निजी सूचनाको रक्षार्थ उक्त वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिइएको उल्लेख छ ।

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता मोर्गन ओर्टागसले चीनको सार्वभौमिकतामाथिको आक्रमण र आफ्ना नागरिकलाई धम्की दिनेलगायतका कार्य अमेरिकाले नसहने बताएकी छिन् । उनले चीनको अस्वस्थ व्यापारिक अभ्यास, अमेरिकी रोजगारी चोर्नेलगायतका व्यवहार नसहेको पनि स्मरण गरिन् ।

यद्यपि चीनले भने अमेरिकाको यो कदमको विरोध गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकाको यो निर्णय अपमानजनक र अन्यायपूर्ण रहेको बताएका छन् ।

अमेरिका र चीनको सम्बन्ध पछिल्लो समय चिसिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार र कोरोना भाइरस (कोभिड-१९)को महामारीको विषयमा चीनमाथि प्रहार गर्दै आएका छन् । त्यसका साथै पछिल्लो समय चीनले हङकङका लागि ल्याएको नयाँ सुरक्षा कानुनको विषयमा पनि अमेरिकाले आपत्ति जनाउँदै चीनमाथि प्रतिबन्धको केही कदम अघि सारेको छ ।

यसैबीच मंगलबार मात्र अमेरिकाको न्याय मन्त्रालयले चीनमाथि विकासको क्रममा रहेको कोरोना भाइरसविरुद्धको खोपको सूचना ह्याक गर्न मानिस परिचालन गरेको आरोप लगाएको थियो ।

स्रोत :बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment