Comments Add Comment

जसले तुइन लगायो, उसैलाई खोलाले बगायो !

Photo Credit : फाइल फोटो

७ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१ का कृष्णप्रसाद पराजुलीले गाउँको उत्पादनलाई शहरसम्म पुर्‍याउनुपर्छ भन्दै राप्ती खोलामा तुइन हाल्न अगुवाइ गरेका थिए । नियति पनि कस्तो ! जसले तुइन लगायो, उसैलाई बाढीले बगायो ।

पराजुलीको अगुवाइमा ०४८ सालमा हेटौंडा सिमेन्ट उद्योगले सामरी र राप्ति खोलाको दोभानमा ९५ मिटर लामो तुइन राखिएपछि गाउँले हर्षित भए । अब उनीहरु पक्की पुल बनेको हेर्न चाहन्थे ।

वागमती प्रदेश सरकारले चालु आर्थिक बर्ष २०७७/०७८ मा पक्की पुल बनाउन १ करोड रुपैयाँ छुट्याएको सुनेर निकै हषिर्त थिए । ‘पक्की पुलका लागि बजेट पर्‍यो रे भन्दै खुसी बाँडेर हिँड्नेमध्ये एक थिए तिमल्सिना’ हेटौंडा-१ का वडाध्यक्ष सबिन न्यौपाने सम्झन्छन् ।

तर, पुल नबन्दै त्यही तुइनबाट लडेर ७७ बर्ष पराजुलीको मंगलबार मृत्यु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अब तुइनबाट खसेर कसैले पनि ज्यान गुमाउने पर्दैन भन्दै आएका छन् । उनले सबै तुइनलाई झोलुङ्गे पुलले विस्तापित गर्ने बताएका छन् । त्यसअनुसार कतिपय ठाउँमा काम पनि भएको छ ।

तर, लालझाडी, मैनटार, माथिल्लो मैनटार, नकौलीका बासिन्दाको पीडा कायमै छ । गाउँबाट त्रिभुवन राजपथ हुँदै हेटौंडा बजार र सामारी बजारमा सामान पुर्‍याउन तुइनको विकल्प छैन । वडाध्यक्ष न्यौपाने भन्छन्, ‘तुइनले खोला पारीको गाउँका मानिसहरुले औला गुमाएका छन् तर तर यसको विकल्प पनि छैन ।’

स्थानीयबासीले आन्दोलन नै गरे । पक्की पुलको माग गर्नेमा तिमल्सिना सहित पूर्णबहादुर ब्लोन, रामबावु न्यौपाने, बिष्णु पौडेल, सीताराम देबकोटा लगायत थिए । तत्कालीन जिल्ला विकास समितिले पुल पनि बनायो, तर पायक नपर्ने ठाउँमा । ‘तुइनले निकै समस्या भएका कारण पुलको माग गर्‍यौैं तर पुल पायक परेन’ स्थानीय रामकृष्ण अधिकारीले बताए, ‘हाम्रो कृषि बजार सामरी थियो । त्यसका लागि पायक पर्ने ठाउँभन्दा ६०० मिटर पर पुल बन्यो ।’

२०६६ सालमा पुल झोलुङगे पुल बन्यो । पछिल्लो समय प्रधानमन्त्रीले तुइन मुक्तको नारा दिएपछि गत वर्ष स्थानीय प्रशासन र प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालयको टोलीले तुइन हटाउन खोज्यो । तर मैनटार र माथिल्लो मैनटारको ७० घर धुरीले तुइन हटाउन नदिएको वडाध्यक्ष न्यौंैपानेले बताए ।

पक्की पुल बनेपछि मात्र हटाउनुपर्ने स्थानीयको मागपछि तुइन हटाउने प्रयास सफल भएन ।

बर्षामा मात्र चल्थ्यो तुइन

झोलुङगे पुल अपायक भएको भन्दै मैनटार र माथिल्लो मैनटारबासी हिउँदमा राप्ती नदीमा साँधु बनाएर आउजाउ गर्थे । बषर्ामा भने घरमा राखेको बकेटमर्मत तुइन प्रयोग गर्थे । बषर्ायामको तीन महिना स्थानीय उत्पादन सामरी र हेटौंडा बजार ल्याउन तुइनको प्रयोग गर्ने गरिएको स्थानीयले बताए । ‘पुलबाट जाँदा निकै लामो फेरो लिनुपर्ने भएकाले तरकारी, दुग्ध पदार्थ सामरी बजार लैजान तुइन सहज थियो’ स्थानीय सिताराम देवकोटाले बताए ।

हेटौंडा १ मैनटारमा बस्दै आएको पराजुलीको परिवार पनि केही पहिले राप्ती वारी चौकीटोल बसाइ सरेको थियो ।

बसाई बारी भए पनि पराजुलीले मैनटारमा आधुनिक कृषिको काम गर्दै आएका थिए । त्यही क्रममा मंगलबार पराजुली तुइन चढ्दै थिए, चिप्लिएर राप्तीमा खसे । बाढीमा बगेका उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment