News Summary
Generated by OK AI. Editorially reviewed.- साउन २९ गतेको बाढीले जाजरकोटको ताक्सुगाड खोलामा पुल र सडक बगाएपछि स्थानीय बासिन्दा तुइनको प्रयोग गरी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
- २०७७ सालमा निर्माण सम्झौता भएको ताक्सुगाड पुलको काम तोकिएको समय सकिए पनि निर्माण व्यवसायीले अझैसम्म सुरु नगरेको पाइएको छ ।
- प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले अलपत्र पुलको काम तत्काल अघि बढाउन सम्बन्धित निर्माण व्यवसायीलाई कडा निर्देशन दिएका छन् ।
२ भदौ, जाजरकोट । भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को बीचमा पर्ने ताक्सुगाड खोलामा झोलुङ्गे पुल र सडक बगेपछि जाजरकोट, रुकुम पश्चिम र डोल्पाका स्थानीयवासी तुइनमार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
ताक्सुगाड वारपार गर्न स्थानीयवासीले अस्थायी रूपमा तुइन निर्माण गरेका छन् । स्थानीय शिक्षक धनिराम ठकुरीका अनुसार अहिले यही तुइनबाट मानिसहरू खोला वारपार गरिरहेका छन् ।
गत साउन २९ गतेको बाढीले चारवटा घर, झोलुङ्गे पुल र सडक बगाएको थियो ।
ताक्सुगाडसहित अन्य तीन स्थानमा पुल निर्माण गर्ने गरी २०७७ माघ २ गते रायमाझी क्याराभान जेभीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार ३६ महिनाभित्र पुल निर्माण गरी हस्तान्तरण गर्नुपर्ने थियो । तर तोकिएको म्याद सकिएको लामो समय बितिसक्दा पनि ताक्सुगाडमा पुल निर्माणको काम सुरु हुन सकेको छैन । पक्की पुल नहुँदा तुइनमार्फत् यात्रा गर्नुपर्ने बाध्यता छ ।
भेरी करिडोर सडक योजनाका प्रमुख नरेशकुमार केसरीका अनुसार २० करोड ७ लाख ६२ हजार ६६३ रुपैयाँमा चारवटा पुल निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो । उक्त रकमबाट नलगाड–८ को मैदेखोला, नलगाड–८/९ को त्रात्रगाड र नलगाड–१०/११ को ताक्सुगाडमा पुल निर्माण गर्ने योजना थियो ।
तर तीमध्ये ताक्सुगाडमा हालसम्म पुल निर्माणको काम सुरु नै भएको छैन । जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले पुल निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीलाई घटनास्थलबाटै सम्पर्क गरी काम सुरु गर्न निर्देशन दिइएको बताए । अलपत्र परेका सबै पुलको निर्माण कार्य अघि बढाउन निर्देशन दिइएको उनको भनाइ छ ।
पुल निर्माणस्थलमा बनाइएको अस्थायी कजवे बन्द भएपछि बाढीको पानी सिँचाइका लागि रोलीज्यूला क्षेत्रमा लगिएको नहरमा पसेको थियो । त्यसपछिको बाढीले पुल, घर तथा सडकमा क्षति पुर्याएको हो । नहरमा पानी आपूर्ति बन्द भएपछि सयौँ रोपनी खेतमा लगाइएको धानबालीमा समेत असर परेको छ ।
नलगाड नगरपालिकाले खेतमा पानी आपूर्ति गर्न वैकल्पिक व्यवस्था गर्ने तयारी गरेको नगरप्रमुख डम्बर रावतले बताए । तर सडक निर्माण नभएसम्म नहर निर्माण गर्न नसकिने भेरी करिडोर योजनाका प्रमुख केसरी बताउँछन् ।
नगरपालिकाकी उपप्रमुख देवका लामिछानेले भेरी करिडोरले सडक निर्माणको काम सुरु गरेकाले एक साताभित्र आवतजावत सहज हुने विश्वास व्यक्त गरिन् ।
यद्यपि, नियमित वर्षा र कडा चट्टान भेटिएपछि सडक निर्माणमा समस्या भइरहेको भेरी करिडोर योजना कार्यालयले जनाएको छ । रोलीज्यूलाबाट सुरु गरिएको सडक निर्माणको काम अवरुद्ध भएपछि चौखातर्फबाट काम अघि बढाइएको छ ।
प्रतिक्रिया 4