Comments Add Comment

रञ्जन छुटेकै दिन सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता

८ साउन, काठमाडौं । पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर बिहीबार रिहा भएका रञ्जन कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमै निवेदन दर्ता भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरे अनुसार सरकारी वकिलले बिहीबार फैसला पुनरावलोकनको निवेदन दर्ता गराएको महान्यायाधिवक्ता अग्नि खरेलले बताए । कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला चित्त नबुझेपछि सरकारी वकिलले पुनरावलोकनको निवेदन दिएको हो ।

प्रधानन्यायाधीश चालेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्वडीआईजी कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष ६ महिना सजाय कायम गरेको थियो । सोही फैसलाका आधारमा कोइराला बिहीबार छुटेका हुन् ।

सर्वोच्च अदालतको फैसला चित्त नबुझे दुईवटा आधारमा पुनरावलोकनको निवेदन दिन सकिने कानुनी व्यवस्था छ । फैसला उल्ट्याउन सक्ने नयाँ प्रमाण आएमा वा सर्वोच्च अदालतले त्यस्तै प्रकृतिको मुद्दामा पहिलेको व्याख्या भन्दा फैसला फरक ढंगले गरेमा पुनरावलोकनको निवेदन दिन सकिनेछ ।

न्यायिक पुनरावलोकनबाट फैसला उल्ट्याउने वा यथावत राख्ने भन्ने अधिकार सर्वोच्च अदालतलाई छ । तर जुन न्यायाधीशले फैसला गरेका हुन्,उनैले पुनरावलोकन निवेदनमाथि सुनुवाई गर्न मिल्दैन ।

कोइरालाले पत्नी गीता ढकाल कोइरालाको हत्या गरी बोरामा राखेर मकवानपुरको टिस्टुङमा लगेर जलाएका थिए । बिहीबार रञ्जन रिहा हुँदा प्रेमिका तारा रेग्मी कार लिएर उनलाई लिन गएकी थिइन् ।

रेग्मी पनि गीता हत्याकाण्डमा जेल परेर छुटेकी हुन् । उनीहरुले आफूहरुबीच विहे भइसकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment