Comments Add Comment

पूर्वडीआईजी रञ्जन कोइराला रिहा

जेलमुक्त भएपछि पूर्वडीआईजी रञ्जन कोइराला । तस्वीर : चन्द्र आले/अनलाइनखबर

८ साउन, काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला बिहीबार जेलमुक्त भएका छन् ।

डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई बिहीबार जेलमुक्त गरेको हो ।

कोइरालालाई लिन उनकी प्रेमिका तारा डिल्लीबजार कारागार पुगेकी थिइन् । उनकै कारमा कोइराला घरतर्फ लागेका थिए ।

सञ्चारकर्मीतर्फ हेरेर हात हल्लाउँदै काेइराला कारागारबाट बाहिरिएका थिए । उनका अन्य आफन्तहरु भने कारागारमा देखिएनन् ।

तारा पनि रञ्जन पत्नी हत्या अभियोगकी प्रतिवादी हुन् । एक वर्ष जेल सजाय भोगेर उनी छुटेकी थिइन् । उनी पूर्वराष्ट्रिय भलबल खेलाडी पनि हुन् ।

सर्वोच्च अदालतले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । श्रीमती गीता ढकालको हत्या गरेपछि पूर्वडीआईजी कोइराला जेल परेका थिए ।

सो मुद्दामा जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनको सजाय घटाउने फैसला गरेको थियो ।

नेश्नल डिफेन्स कोर्सका लागि चीनमा रहेका तत्कालीन डीआईजी कोइरालाले विदामा काठमाडौं आएका वेला २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए । महाराजगञ्जमा श्रीमतीको हत्या गरेर उनले घटना लुकाउन पालुङमा शव जलाएका थिए ।

शव फालिएको स्थानमा दोस्रो पटक गएर फर्किँदै गर्दा २८ माघ ०६८ मा थानकोटबाट कोइराला पक्राउ परेका थिए । नेपाल प्रहरीबाट ०५८ सालमा सेवा परिवर्तन गरी कोइराला सशस्त्र प्रहरी बलमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment