Comments Add Comment

उद्योग वाणिज्य महासंघको चुनाव अनिश्चित !

८ साउन, काठमाडौं । आगामी २६ र २७ गतेका लागि तोकिएको नेपाल उद्योग, वाणिज्य महासंघको साधारणसभा पुनः स्थगित भएको छ । महासंघको बुधबार बसेको पदाधिकारी बैठकले निर्वाचन तोकिएको समयमा नगर्ने निर्णय गरेको हो ।

नयाँ मिति भने तोकिएको छैन । सरकारले सभा सम्मेलन गर्न अनुमति दिएको १५ दिनभित्रमा चुनाव गर्ने निर्णय भएको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अनलाइनखबरलाई बताए । नयाँ मिति नतोकिएको र सरकारले सभा, समारोह गर्ने अनुमति कहिले दिन्छ भन्ने ठेगान समेत नभएका कारण महासंघको चुनाव अब कहिले होला भन्ने अन्योल छ ।

महासंघको निर्वाचन तेस्रो पटक सरेको हो । महासंघको साधारण गत चैत अन्तिम साता नै हुनुपर्ने थियो । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विधानको व्यवस्थाअनुसार त्यो साधारणसभाले शेखर गोल्छालाई अध्यक्ष चयन गर्ने थियो भने बाँकी पदाधिकारीहरु निर्वाचनबाट चुनिने थिए ।

तर कोडिभ-१९ का कारण सरकारले देशभर लकडाउन घोषणा गरेपछि उद्योग बाणिज्य महासंघले चुनाव जेठ दोस्रो साता गर्ने निर्णय गर्‍यो । जेठमा पनि लकडाउन नखुलेपछि साउन २६ र २७ गतेका लागि महासंघको साधारणसभा तोकिएको थियो ।

तर बिहीबारको बैठकले फेरि साधारणसभा स्थगित गर्ने निर्णय गरेको छ । लकडाउन खुला भएपनि कोरोनाको जोखिम बढेको भन्दै केहीले साधारणसभा सार्न लविङ गर्दै आएका थिए ।

पदभन्दा पनि सुरक्षाको चिन्ता छः गोल्छा

निर्धारित मितिमै साधारणसभा भएको भए गोल्छा महासंघको अध्यक्ष भइसक्ने थिए । तर गोल्छाले सुरक्षा खतरामा सबैलाई राखेर आफू चाडो पदमा पुग्नुपर्छ भन्ने पक्षमा नरहेको बताए । पदभार ग्रहण गर्ने इच्छाभन्दा बढी सदस्यहरूको सुरक्षा दायित्वले घच्घच्याएको उनले बताएका छन् । उनले ट्वीटरमा समेत आफ्नो धारणा सार्वजनिक गर्दै चुनावका कारण सुरक्षा चुनौती नथपियोस् भनेका छन् ।

तर आफूले सुरक्षाको विषय उठाउँदा केही उद्योगी-व्यवसायीले यसलाई अर्कै रंग दिन खोजेको भन्दै गुनासो गरेका छन् । ‘लकडाउन खुल्दै गर्दा देशैभरिका १ हजार व्यवसायीलाई एकै स्थानमा जम्मा गर्दा कतै सुरक्षा जोखिम होला कि भन्ने नैतिक प्रश्नले पिरोलेको छ मलाई तर यसलाई अर्कै रंग दिन खोजिएको देख्दा दुःख लाग्छ’ उनले ट्वीट गरेका छन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान  प्यानलबाट वस्तुगत उपाध्यक्षमा चुनाव लड्ने तयारी गरिरहको अञ्जन श्रेष्ठले पनि गोल्छाको भनाइमा सहमति जनाए । गोल्छाको ट्वीटलाई रिट्वीट गर्दै लेखेका छन्., ‘चुनावको चटारो र हतारो यति साह्रो किन ? स्वास्थ्य र सुरक्षाको गम्भिरता कता ? स्वास्थ्य रहौं, सुरक्षित रहौं ।’

‘जिम्मेवारीबाट साथीहरु डराए’

महासंघको उपाध्यक्षको अर्का उम्मेदवार चन्द्र ढकाल पक्ष भने चुनाव सार्ने निर्णयमा असन्तुष्ट देखिएको छ । ढकाल  पक्षमा रहेका महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ जिम्मेवार व्यक्तिहरु नै जिम्वेवारीबाट डराएर चुनाव सारिएको बताउँछन् ।

यसअघि अवस्था सहज नभएकै कारण चुनाव सारिएको भएपनि भन्दै अहिले लकडाउन पूर्ण रुपमा हटेको, सार्वजनिक यातायात सञ्चालनमा आइसकेको अवस्थामा ब चुनाव सार्नु गलत भएको बताए । उनले भने, ‘अब पनि डराएर चुनाव सार्नु गलत भयो ।’ धमिलो पानीमा माछा मार्ने दाउमा कतिपयले चुनाव सार्नुपर्ने माग गरेको उनको आरोप छ ।

को-को भिड्दैछन् चुनाव ?

महासंघको आगामी अध्यक्ष गोल्छा भएपनि बाँकी पदहरुमा दुई समूह प्यानलसहित भिड्दैछन् ।

गोल्छापछि उद्योग बाणिज्य महासंघको अध्यक्ष हुन हाल वस्तुगत उपाध्यक्ष रहेका चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षमा चुनाव लड्दैछन् । उनले केहि साता अघि काठमाडौंमा कार्यक्रम नै आयोजना गरेर आफ्नो प्यानल घोषण गरेका छन् ।

ढकाल समूहबाट जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी, एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र वस्तुगत उपाध्यक्षमा हालका उपाध्यक्ष उमेशलाल श्रेष्ठ नै उठ्ने भएका छन् । यो समूहलाई पूर्वअध्यक्ष चण्डीराज ढकालको वलियो साथ छ ।

उता हाल जिल्लानगर उपाध्यक्ष रहेका किशोर प्रधान पनि प्यानलसहित वरिष्ठ उपाध्यक्षमा भिड्दैछन् । यो समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा शौरभ ज्योति र वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ उठ्दैछन् ।

यो समूहलाई निवर्तमान अध्यक्ष पशुपति मुरारका र भावी अध्यक्ष शेखर गोल्छाको शुभेच्छा छ । भावी अध्यक्ष गोल्छा खुलेरै नलागेको भए पनि वलियो समर्थन रहेको प्रधान समूहको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment