
कठोर कानुन भएको कम्युनिस्ट मुलुक उत्तर कोरियाले भलै आफूलाई कोरोना भाइरस मुक्त देश घोषणा गरिसकेको छ । तर उक्त मुलुकले कोरोना भाइरसबाट बचावटको लागि लगाइने मास्कका विषयमा निकै कडा नियम लागू गरेको छ ।
समाचार अनुसार उत्तर कोरियाले आफ्नो देशका नागरिकहरुलाई अनिवार्यरुपमा मास्क लगाउनुपर्ने नियम लागू गर्दै मास्क नलगाएमा कठोर सजायको प्रबन्ध गरकेो छ ।
रेडियो फ्रि एसियाको एक रिपोर्टअनुसार उत्तर कोरियामा लागू भएको नयाँ नियम अनुसार त्यहाँ मास्क नलगाउने मानिसलाई पक्राउ गरी ३ महिनाको कडा श्रमकैदको सजायँ दिइनेछ ।
मास्क नलगाउने मानिसहरुको पहिचान गर्ने तथा पक्राउ गर्नका लागि विद्यार्थीहरुको टोली गठन गरिनेछ । मास्क गस्ती टोली भनिने उक्त विद्यार्थी टोलीहरुमा छिटै नै विद्यार्थीहरुको भर्ती सुरु गरिने पनि बताइएको छ ।
उत्तर कोरियामा कोरोना भाइरस फैलिन नदिनका लागि मानिसहरुलाई समूहमा जम्मा हुनमा रोक लगाइएको छ भने मास्क पहिरिनुपर्ने र सीमाक्षेत्रमा काम गर्ने मानिसहरुलाई छुट्टै बस्नुपर्ने नियम बनाइएको छ ।
उत्तर कोरियाली नेता किम जोंग उनले जुलाई महिनाको सुरुआतमै आफ्नो मुलुकले कोरोनाविरुद्धको लडाइँ जितेको घोषणा गर्दै अब उत्तर कोरियामा कोही पनि कोरोना संक्रमित नभएको जिकिर गरेका थिए । यद्यपि उनको दाबीको स्वतन्त्र रुपमा पुष्टि गर्ने कुनै आधार भने छैन ।
विश्व स्वास्थ्य संगठनका अनुसार उत्तर कोरियामा अहिलेसम्म केवल ९२२ जना मानिसको मात्र कोरोना परीक्षण भएको छ । त्यसमध्ये कसैमा पनि कोरोना भाइरस पाइएको छैन ।
विश्वमा तीव्ररुपमा फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म डेढ करोडभन्दा बढी संक्रमित भैसकेका छन् भने मर्नेको संख्या ६ लाख नाघिसकेको छ ।
एजेन्सी
प्रतिक्रिया 4