Comments Add Comment

मौवाखोलाबाट साना सवारी साधन चल्न थाले

९ साउन, चितवन । बाढीले पुल भत्काउँदा अवरुद्ध बनेको पृथ्वीराजमार्गको मौवाखोलामा ग्याविन जाली भरेर साना सवारी साधन सञ्चालन गर्न थालिएको छ ।

बाढीले बगाएको भागमा ग्याविन जाली तथा माटो भरेर शुक्रबारदेखि मोटरसाइकल तथा साना सवारीका साधन सञ्चालन गर्न थालिएको हो । गत साउन ४ गते आएको बाढीले चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलाको पुलको एक छेउ भत्काउँदा पाँच दिन पृथ्वीराजमार्ग अवरुद्ध बनेको थियो ।

डिभिजन सडक कार्यालय भरतपुरले शुक्रबार दिउँसो १ बजेबाट साना सवारी साधन मौवा खोलामा अस्थायी रुपमा बनाइएको ग्याविन माथिबाट पास हुन थालेको जनाएको छ । डिभिजन कार्यालयका इन्जिनियर शिव खनालले शुक्रबार साँझसम्म थप पानी नपरे ठूला सवारी साधानसमेत वारपार गराउन सकिने गरी तयारी भइरहेको बताए ।

राजधानी काठमाण्डौं जोड्ने मुख्य लाइफलाइन मानिने पृथ्वी राजमार्ग सञ्चालन गर्न नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, ६० जना मजदुर निरन्तर रुपमा खटिएका छन् । बिहीबार नै राजमार्ग खुलाउने भनिए पनि वर्षा थपिँदा सडक खुलाउन ढिला भएको थियो । पुलको १२ मिटर जति भाग बाढीले बगाएको थियो ।

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीसहित ५ जना इन्जिनियर, १० जना सब इन्जिनियर यहीँ नै राजमार्ग खुलाउन लागि रहेको इन्जिनियर खनालले बताए । ‘हामीले हाम्रो सबै इर्फोट यहीँ नै लगाएका छौं,’ उनले भने, ‘पृथ्वी राजमार्ग अवरुद्ध हुँदा धेरै नै तनाव र चाप थपिएको छ, इन्जिनियर खनालले भने, सडक डिभिजन कार्यालयले पनि यसको इम्र्पोटेन्स बुझेर दिनरात नभनी काम गरिरहेको छ । पृथ्वी राजमार्ग बन्द भएपछि सयौं ट्रक तथा सवारी साधान बीच बाटोमा नै रोकिएका छन् ।’

इन्जिनियर खनालका अनुसार अहिले मुग्लिन नारायणगढ सडकखण्ड, मुग्लिन मौवाखोला सडक र मौवाखोला नौविसे सडकखण्डमा कुनै अवरोध छैन । कुनै ठाँउमा एकतर्फी सडक खुले पनि मुलतः अवरोध नभएको खनालले बताए ।

पृथ्वी राजमार्ग बन्द हुँदा खाध्यान्न, तरकारी, अत्यावश्यक ग्यास, पेट्रोलियम पदार्थ बोकेका ठूला सवारी साधानसमेत काठमाण्डौं जान रोकिएका छन् । साना सवारी साधन भने हेटौला पालुग,दामनको बाटो भएर गए पनि निकै चाप र दवाब सडकमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment