+
+
Shares

साधारणसभा स्थगित गरिनु विधानविपरीत : ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ९ गते १४:२६

९ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उमेदवार चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगित गरेकामा आपत्ति जनाएका छन् ।

ढकाल नेतृत्वको समूहले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन सार्ने महासंघको निर्णय गलत भएको बताए ।

निर्वाचन सार्ने निर्णय कार्यसमिति बैठकले गर्नुपर्नेमा पदाधिकारी बैठकले नै निर्णय गर्नु विधानविपरीत भएको पनि ढकालले जिकिर गरे । ‘मलाई आगामी चैतमा गरे पनि खासै फरक पर्दैन, मैले भन्न खोजेको विधानअनुसार गरौँ भन्ने मात्रै हो’ उनले भने ‘कार्यसमितिले चुनाव सार्ने निर्णय गर्नुपर्नेमा पदाधिकारीले गरेको छ, यो ठीक भएन । मलाई कखुरा खायो भन्दा पनि स्याल पल्कियो भन्ने डर भयो ।’

निर्वाचन गर्ने विषयमा सरकारलाई पत्र पठाएर अनुरोध गरेको तर सरकारको जवाफ नआउँदै पदाधिकारी बैठकले स्थगितको निर्णय गर्नु गलत भएको ढकालले बताए । ‘सरकारले छुट दिन्थ्यो होला वा रोक लगाउथ्यो होला, तर चिठीको जवाफ आउनुभन्दा पहिले नै हतार हतार निर्णय गरियो’ उनले भने ।

स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर चुनाव गर्न आफूले प्रस्ताव राख्दा केही पदाधिकारीले स्वास्थ्य भन्दा महासंघ ठूलो भएको भन्दै आफूलाई हतोत्साही पार्न खोजेको ढकालले बताए ।

यो निर्णयले महासंघको कानुनी मात्रै नभएर नैतिक र सामाजिक जग पनि भासिएको उनले टिप्पणी गरे । चुनावी नतिजाको आंकलन गरेर निर्वाचन स्थगित गरिएको ढकालले दावी गरे ।

महासंघको चुनाव साउन २६ र २७ गतेका लागि तोकिएको थियो । तर बिहीबार बसेको पदाधिकारी बैठकले कोरोना महामारीको जोखिमको कारण देखाउँदै निर्वाचन स्थगितको निर्णय गरेको थियो । आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्यसमितिका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानलसहित प्रतिस्पर्धामा छन् ।

ढकाल समूहको पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष चण्‍डीराज ढकाल र पूर्व वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकार पनि सहभागी थिए ।

पूर्वअध्यक्ष ढकालले गलत नियतले हतारहतार चुनाव स्थगित गरिएको टिप्पणी गरे । कतिपय पदाधिकारी काठमाडौं उपत्यका बाहिर रहेकाे बेला याे निर्णय गरिएको भन्दै उनले कार्यसमितिले गर्नुपर्ने निर्णय केही पदाधिकारी बसेर निर्णय गर्नु गलत बताए ।

तत्काल चुनाव गर्न नसक्ने हुँदा दुई पक्षका उम्मेदवार राखेर छलफलका आधारमा निर्णय भएको भए राम्रो हुने उनले बताए । अहिलेकाे नेतृत्वले गरेको निर्णयका कारण महासंघ दुर्घटनामा फस्छ कि भन्ने चिन्ता लागेको पनि ढकालले टिप्‍पणी गरे ।

महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले करिब ५० प्रतिशत पदाधिकारीको असहमतिका बाबजुद चुनाव सार्ने निर्णय गरिएकाे भन्दै असन्तुष्टि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?