Comments Add Comment

३० सेकेण्डमा नै कोरोना परीक्षण गर्ने किट बनाउँदै इजरायली कम्पनी

९ साउन, काठमाडौं । एक इजरायली कम्पनीले ३० सेकेण्डमा कोरोना संक्रमणको नतिजा दिन सक्ने किट निर्माण गरिरहेको छ ।

इजरायलको नानोसेन्ट कम्पनीले उक्त किट निर्माण गर्न लागेको हो । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेअनुसार कम्पनीले निर्माण गरेको किटले मानिसको श्वासप्रश्वासबाट नै कोरोना भाइरसको परीक्षण गर्नेछ ।

कम्पनीका अनुसार अहिले यो किटको परीक्षणको काम भइरहेको छ । अहिलेसम्मको परीक्षणमा यो किटले ८५ प्रतिशत सही नतिजा दिइरहेको छ । अब यो किट प्रयोगमा आउनका लागि नियामकहरुले अनुमति दिनुपर्छ । त्यसका लागि केही महिना लाग्न सक्ने बताइएको छ ।

कम्पनीका सीईओ ओरेन गाभ्रिइलीले अहिले श्वासप्रश्वासबाट गरिने कोरोना भाइरसको परीक्षणले ल्याब टेस्टलाई भने विस्थापित नगर्ने बताए । उनका अनुसार यो किटले मानिसहरुलाई आफू स्वस्थ रहेको वा नरहेको भन्ने विषयमा सहजै जानकारी दिन्छ र यसको प्रयोग धेरै मानिसको भिड हुने स्थानमा स्क्रिनिङको रुपमा गर्न सकिन्छ ।

गाभ्रिइलीले अझै एक साता यो किटले कस्तो काम गर्छ भनेर हेर्ने बताए । बिहीबार भारतमा रहेको इजरायली दूतावासले यस्तो जानकारी दिएको हो । यसका लागि एक विशेष टोली भारत आउन लागेको बताइएको छ ।

पछिल्लो समय भारतमा उल्लेख्य मात्रामा कोरोना भाइरसका संक्रमित बढिरहेको अवस्थामा भारत र इजरायलले निकै छोटो समयमा नै कोरोना भाइरसको रिपोर्ट दिने किट निर्माण गर्ने भएका हुन् ।

पछिल्लो समय महामारीको प्रकोप फैलिइरहेको अवस्थामा यो किटले ठूलो संख्यामा मानिसहरुको परीक्षण गर्न सहज हुने कम्पनीले दाबी गरेको छ । अहिले निर्माण गरिएको किटले यदि कोरोना पोजेटिभ देखाएको खण्डमा त्यस्ता मानिसलाई तत्काल ल्याब परीक्षणका लागि पठाउन सकिने गरी यस किसिमको प्रविधिको विकास गरिएको कम्पनीको भनाइ छ ।

इजरायलमा पछिल्लो समय अर्थतन्त्र खुला गरिएसँगै कोरोना भाइरसका संक्रमितको संख्यामा पनि नाटकीय वृद्धि भएको देखिएको छ । पछिल्लो केही सातामा इजरायलमा एक हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला पर्न थालेका छन् ।

स्रोत : एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment