Comments Add Comment

गोकुल बास्कोटाको प्रश्न– गृहमन्त्रालयले के जात्रा देखाको ?

११ साउन, काठमाडौं । पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले यात्राको क्रममा बालबालिका र वृद्धवृद्धालाई दुःख दिएको भन्दै गृहमन्त्रालयको आलोचना गरेका छन् ।

हाल एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्दा सीमा क्षेत्रमा गाडी फेर्नुपर्ने नियमले यात्रुहरुले सास्ती पाएको बास्कोटाको भनाइ छ । उनले यस्तो नियमलाई गृहमन्त्रालयको ‘जात्रा’ भनेर आलोचना गरेका छन् ।

बास्कोटाले ट्वीटरमा लेखेका छन्, ‘गृहमन्त्रालयले के जात्रा देखाको ? बच्चा, केटाकेटी, बुढाबुढी एउटा बसबाट झार्ने, एक किलोमिटर हिँडाउने, फेरि अर्काे बस चढाउने ? न चेकजाँच न अरु ? बेकारको सास्ती, के उद्देश्यले यात्रुलाई दुःख दिएको ? तत्काल हटाऊ ।’


एउटा बसबाट झार्ने, एक किलोमिटर हिँडाउने र फेरि अर्को बस चढाउने गर्दा यात्रुहरुले सास्ती पाएकाले तत्काल यस्तो नियम हटाउनुपर्ने बास्कोटाको सुझाव छ ।

सरकारले लकडाउन अन्त्य गरेसँगै जिल्लाभित्र सार्वजनिक गाडीहरु चल्न थालेका छन् । तर, एक जिल्लाको सिमाना सकिएर अर्को जिल्लाको सिमाना सुरु हुँदा यात्रुहरु पैदल हिँडेर सीमा पार गरी अर्काे गाडीमा चढ्ने गरेका छन् ।

कोरोना संक्रमणको जोखिम रहेको भन्दै हाल जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन चलाउन दिइए पनि ती गाडीहरुमा यात्रा गर्ने यात्रुहरुको स्वास्थ्य परीक्षण भने हुने गरेको छैन ।

सरकारले भदौ १ गतेदेखि लामो दुरीका सवारी साधन चलाउन दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment