१२ साउन कैलाली । बैतडीमा प्रहरी हिरासतमा रहेका एक युवकमा कोरोना संक्रमण भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाको पुर्चौडी नगरपालिका १० का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनी अहिले बलात्कार आरोपमा इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा छन् । प्रहरीले उनलाई असार ३१ गते पक्राउ गरेको थियो । ‘उनी आमालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए’ इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउदले भने, ‘उनीसँगै अन्यको पनि नमुना पठाएका थियौँ अरूको नेगेटिभ आयो ।’
साउदले प्रहरी चौकीमा रहेका ३ जनाको स्वाब संकलन गरेर पठाए पनि २ जनामा कोरोना नभएको पुष्टि भएको बताए ।
बलात्कारको आरोप लागेका संक्रमित व्यक्तिको साउन ५ गते नमुना पठाइएको पाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख महेश महाराले बताए । ‘सोमबार १० जनाको रिपोर्ट आएको छ’ उनले भने ‘७ जनाको पोजेटिभ र ३ जनाको नेगेटिभ छ ।’
समुदायबाट सरेको आशङ्का
हिरासतमा रहेका युवक २०७६ मङ्सिरमा भारतबाट आएका थिए । उनी कोरोना महामारीको समयभन्दा पहिल्यै आएको हुँदा उनलाई समुदायमै संक्रमण भएको हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ,।
‘उहाँ धेरै पहिले नेपाल आउनुभएको हो’ स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले भने ‘उहाँमा समुदायबाटै संक्रमण भएको हुन सक्ने आशङ्का गरेका छौँ ।’
उनले संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको पनि स्वाब संकलन गरेर परीक्षणको तयारी भइरहेको बताए ।
पाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख महराले पनि समुदायबाटै उनी सङ्क्रमित भएको हुन सक्ने बताए । ‘पुर्चौडीबाट उहाँलाई यहाँ ल्याइएको हो ’उनले भने ‘अहिले हामीले समुदायमा पनि परीक्षण गर्न सुझाव दिएका छौँ ।’
उनले पुर्चाैडीबाट पाटन ल्याएको बताउँदै उनलाई ल्याउनेहरूको पनि परीक्षण गर्न आवश्यक रहेको बताए ।
सुत्केरी महिलामा पनि संक्रमण
बैतडीको पाटन नगरपालिकामा एक सुत्केरी महिलामा समेत संक्रमण पुष्टि भएको छ । सुत्केरी महिला भारतबाट आएकी थिइन् ।
‘उनी २ गतेबाट नगरपालिकाले तयार गरेको क्वारेन्टिमा थिइन् । सुत्केरी हुने समय आएपछि उनको स्वाब संकलन गरिएको हो’ स्वास्थ्य शाखा महराले भने ‘आज रिपोर्ट पोजेटिभ आयो ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4