Comments Add Comment

पोखरामा एक स्वास्थ्यकर्मी पुनः कोरोना पोजेटिभ

१३ साउन, पोखरा । पोखराको गण्डकी मेडिकल कलेजमा कार्यरत एकजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार गरेको परीक्षणमा अस्पतालमा कार्यरत ३० वर्षीय नर्सलाई कोरोना संक्रमण पुष्टि गरेको हो ।

सोमबार संक्रमण पुष्टि भएकी ती नर्स भने करिब ढेड महिनादेखि बिदामा रहेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा‍. टुमाया घलेले भनिन्, ‘उहाँको बुबा बिरामी हुनुहुन्थ्यो । बुवाको उपचारकै लागि बिदा लिएपछि काममा फर्किनुभएको छैन ।’

संक्रमित नर्सलाई बुबाबाटै कोरोना संक्रमण सरेको डा. घलेले दाबी गरिन् । उनका बुबा कोरोनाबाटै मृत्यु हुने गण्डकी प्रदेशका पहिलो संक्रमित हुन् । स्याङ्जाका ६० वर्षीय ती पुरुषको जेठको तेस्रो हप्ता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

उपचारका लागि भारत गएका ती व्यक्ति त्यहाँ उपचार सम्भव नभएपछि स्याङ्जा फर्किएका थिए । तर, स्याङ्जा क्वारेन्टिनमा बसेकै बखत पुनः स्वास्थ्यमा समस्या देखिएपछि उनी थप उपचारका लागि पोखरा आएका थिए ।

पोखरामा उपचारका क्रममा मृत्यु भएपछि ती पुरुषको कन्ट्याक ट्रेसिङ सुरु गरिएको थियो । कट्याक ट्रेसिङमा मृतकी श्रीमती र छोरीलाई पनि त्यतिबेलै कोरोना संक्रमण पुष्टि भएको थियो । पोखरा १० मा आमासँगै बस्दै आएकी ३० वर्षीय ती नर्सलाई पुनः कोरोना पुष्टि भएको हो ।

पहिलो पटक कोरोना संक्रमण भएदेखि नै ती नर्स काममा नफर्किएकाले अस्पतालमा डर नभएको मेडिकल सुपरिडेन्ट डा‍. टुमाया घलेले बताइन् । उनले भनिन्, ‘उहाँको पहिलो केसदेखि नै अस्पतालमा आउनुभएको छैन । डराउनुपर्ने अवस्था छैन,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment