Comments Add Comment

११ जना वडाध्यक्षले भने – पोखरा महानगर भ्रष्टाचारको अखडा

१३ साउन, पोखरा । पोखरा महानगरपालिकाका ११ जना वडाध्यक्षले महानगरपालिका भ्रष्टाचारको अखडा भएको आरोप लगाएका छन् ।

एकपछि अर्को भ्रष्टाचारको घटना सार्वजनिक भएको भन्दै नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले ठेक्कापट्टामा अनियमितता भएको, बेरुजु बढेको र महानगर भाडाको लोभमा डुबेको आरोप लगाएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुले मेयर मानबहादुर जिसीले नै भ्रष्टाचारलाई रोक्नतिरभन्दा भ्रष्टाचार गर्नेलाई प्रश्रय दिएको जिकिर गरे ।  वडाध्यक्षहरुले पछिल्लोपटक पोखरा रामघाटको ठेक्का सम्झौतामा अनियमितता भएको बताएका छन् ।

‘राजी कन्ट्रक्सनसँग ठेक्का सम्झौता गर्दा प्रचलित कानुन एवं प्रकाशित सूचनाको शर्तविपरीत ३ करोड ५ लाख ५० हजार रुपैयाँ बैंक ग्यारेन्टी एवं नगद २ साताभित्र जम्मा गर्ने गरी सम्झौता भएको तर रकम जम्मा एवं बैंक ग्यारेन्टी पेस नगरी अनियमितता भएको छ,’ वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछानेले भने, ‘जनप्रतिनिधि आउनुअघि बेरुजु २३ करोड भएकोमा हाल १ अर्ब २६ करोड रुपैयाँ हुन गएको छ ।’

पोखरा महानगरपालिकाका मेयर तत्कालिन एमाले (हाल नेकपा) बाट निर्वाचित भएका हुन् ।

लामिछानेले पोखराको सिर्जनाचोकस्थित महानगरको भवन ७६ लाख रुपैयाँ भाडा आउने गरी ठेक्कामा दिए पनि अहिलेसम्मको १ करोड ८६ हजार रुपैयाँ भाडा असुल नगरेको बताए ।

मालपोत कार्यालयअघिको महानगरको सटर विगतमा मासिक २५ हजार रुपैयाँमा भाडामा दिए पनि हाल १०÷१२ हजारमै दिएर अनियमितता गरेको वडाध्यक्षहरुले बताएका छन् ।

विज्ञापन करवापतको सम्झौता कायमै रहेको अवस्थामा घुमाउरो पारामा उही ठेकेदारलाई नै सहयोग पुग्ने गरी शर्तहरु राखी ठेक्का दिइएको तर रकम असुल नभएको वडा नम्बर ४ का वडाध्यक्ष शंकर बास्तोलाले बताए ।

पुरुञ्चौर क्षेत्रका घाटहरुको ठेक्का सम्झौतामा पनि ठूलो रकम हिनामिना भएको वडाध्यक्षहरुले आरोप लगाएका छन् । ९० लाख ५५ हजार आठसय ७५ रुपैयाँ रकम नगद जम्मा हुनुपर्नेमा ६२ लाख ६८ हजार मात्र जम्मा गरी बाँकी रकम हिनामिना हुने गरी सम्झौता गरिएको भन्दै छानबिन गर्न उनीहरुले माग गरेका छन् ।

जम्मा भएको रकममा पनि ११ लाख रुपैयाँको चेक बाउन्स हुँदा पनि महानगर कारबाही प्रक्रियामा नगई ठेकेदारलाई नै सहयोग गरेको वडाध्यक्षहरुले बताए ।

सडक पार्किङ ठेक्काको विगतको रकम समेत असुल नगरी ठेकेदारले राखेका न्युन मूल्यका भिरपाखा जग्गा रोक्का गरिएको वडाध्यक्ष लामिछानेले बताए ।

पृथ्वीचोकको बसपार्क निर्माणदेखि विभिन्न ठेक्कापट्टाका सम्बन्धमा पटक पटक मेयर जिसीको ध्यानाकर्षण गराए पनि कुनै चासो र एक्सन नलिएको वडाध्यक्षहरुले गुनासो गरे ।

‘पृथ्वीचोकमा बसपार्क बनाउन भनेर मेरो संयोजकत्वमा टोली बनाइयो । हामीले २८१ पृष्ठको प्रतिवेदन महानगरलाई पेश ग¥यौं,’ लामिछानेले भने, ‘महानगर आफै काम दिन्छ । जिम्मेवारी पूरा गरेपछि वास्ता गर्दैन ।’

ट्राफिक आइल्याण्ड, यात्रु प्रतीक्षालय, मलमूत्र, सोलार लाइट–बोर्ड, फोहरमैला, डस्टविनलगायत बिना टेण्डर आफ्ना मान्छेलाई दिइएको आरोप लगाएका छन् । आफ्ना मान्छेलाई बिना प्रतिस्पर्धा ठेक्का दिँदा महानगरले करोडौं रुपैयाँ राजश्व गुमाएको उनीहरुकको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment