Comments Add Comment

संक्रमित व्यक्ति रिपोर्ट लिन पुग्दा भागाभाग !

१३ साउन, विराटनगर । मंगलबार विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखामा भागाभाग मच्चियो । विराटनगर महानगरपालिका- ३ का एक व्यक्ति रिपोर्ट लिन पुगेपछि कर्मचारीले उनको रिपोर्ट खोज्न थाले । जब उनमा संक्रमण पुष्टि भएको रिपोर्ट देखियो कर्मचारीमा भागाभाग सुरु भयो ।

दिउँसो करिब १ बजे पुगेका व्यक्तिलाई महानगरपालिकाले तत्काल एम्बुलेन्स बोलाएर कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र पठाएको थियो ।

संक्रमित व्यक्ति प्रवेश गरेपछि विराटनगर महानगरपालिकाले कार्यालयलाई सेनिटाइज गरेको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य निरीक्षक हैदर अलीले संक्रमित व्यक्तिलाई आइसोलेसनमा पठाइएको बताए ।

महानगरपालिका स्रोतका अनुसार कोरोना परीक्षणको रिपोर्ट लिन पुगेका व्यक्ति नर्सिङहोम (विराटनगर अस्पताल) का सञ्चालकको घरमा काम गर्ने कामदार हुन् ।

उनी दिउँसो करिब १ बजे विराटनगर बजार हुँदै रिपोर्ट लिन पुगेका थिए । गलत ठेगाना र नाम लेखाएर कोरोना जाँच गरेका नर्सिङहोम सञ्चालक पनि संक्रमण पुष्टि भएको ३८ घण्टापछि मात्र सम्पर्कमा आएका थिए ।

संक्रमित व्यक्ति कोरोना जाँचको रिपोर्ट लिन आएपछि महानगरपालिकाले स्वाब संकलन भएको पाँच दिनपछि सम्बन्धित वडा कार्यालय र प्रयोगशालामा स्वाब लिन आग्रह गर्दै सूचना जारी गरेको छ ।

थप १६ जनामा संक्रमण

मंगलबार विराटनगरका १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य निरीक्षक हैदल अलीका अनुसार विराट नर्सिङहोमका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

कोशी अस्पतालमा स्वाब संकलन गरेका सातजना र अन्य दुई जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार प्रदेश १ मा मोरङमा १७, झापामा ३ र ओखलढुंगामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment