
१३ साउन, रुकुमपश्चिम । रुकुमपश्चिममा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका-९ स्यालाको एक घर सोमबार राति पहिरोले बगाउँदा दुईजनाको मृत्यु भएको हो ।
रातभर परेको वर्षाका कारण आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाउँदा उनका छोरा २२ वर्षीय नवीन विक र छिमेकी हस्तबहादुर सुनारका छोरा १६ वर्षीय बलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नवीन र बलबहादुरको शव भेटिएको र चार जनाको उद्धार गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । जसवीरकी श्रीमती ६० वर्षीय झुपी कामी, बुहारी २२ वर्षीया व्युझना कामी, नातिनी पाँच वर्षीया कोपिला र तीन वर्षीया ऋतु कामीको उद्धार गरिएको हो ।
झुपीको छिन्खेतस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ । मंगलबार बिहान करिब ४ बजेतिर घरदेखि १० मिटर माथिबाट आएको पहिरोले उक्त घर बगाएर झण्डै डेढ सय मिटर तल रहेको किमाना खोलामा पुर्याएको छ ।
घरको माथिल्लो तलामा सुतेकालाई प्रहरी र स्थानीयवासीले जीवितै उद्धार गरेका हुन् भने तल्लो तलामा सुतेका नवीन र बलबहादुर घरसँगै बगेका थिए ।
पहिरो हटाएर उनीहरुको शव निकालेको घटनास्थलमा रहेका प्रहरी चौकी मग्माका इन्चार्ज प्रहरी सहायक निरीक्षक हरि देवकोटाले बताए ।
प्रतिक्रिया 4