Comments Add Comment

सनराइज बैंकको विवाद समाधान भएको हो ?

१३ साउन, काठमाडौं । सनराइज बैंकका सञ्चालकहरु प्रमुख कार्यकारी अधिकृतलाई हटाउनेसम्मको योजनामा तत्कालका लागि ब्रेक लागेको छ । केहि सञ्चालकहरु र सीईओ जनक शर्मा पौड्यालबीचको विवाद बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले समेत यस विषयमा निकै चासो दियो ।

केन्द्रीय बैंकले बैंकका सञ्चालकलाई बोलाएर अनावश्यक विवाद नगर्न चेतावनी दिएपछि तत्कालका लागि यो विवाद समाधान भएको छ । तर यो सँधैका लागि भने समाधान भएको भने होइन ।

बैंकको सञ्चालक समिति बैठक मंगलबार बस्ने तयारी थियो । बैठकमा भनाभन हुने र थप बिवाद बढ्न जाने अनुमान गर्दै अध्यक्ष मोतिलाल दुगडले मंगलबार सञ्चालक समिति बैठक बोलाएनन् । केही दिनमा सञ्चालक समिति बैठक बोलाएर संवादबाटै समस्या टुंगाउने बैंक सञ्चालकको तयारी छ ।

के थियो विवाद ?

बैंकमा विवाद सिर्जना हुनुको मूख्य कारण चाहिँ कर्मचारी नियुक्तिको विषय भएको श्रोत बताउँछ । बैंकमा एकाएक विवाद सतहमा आउनुको कारण भनेको कर्मचारी नै हुन् । केहि कर्मचारीहरु बाहिरबाट ल्याएर उच्च पदमा नियुक्ति दिएपछि बैंकमा कार्यरत अन्य कर्मचारीहरु असन्तुष्ट बने । उनीहरुको असन्तुष्टि बैंक सञ्चालक समितिसम्म पुग्यो ।

सञ्चालक समितिमा पुगेको यो विषयले उग्ररुप लिँदै जादा सीईओलाई स्पष्टीकरण सोध्नेसम्मको काम भयो । केही सञ्चालकहरु सीईओको कार्यक्षमतामाथि नै प्रश्न उठाएका थिए । अनलाइनखबरलाई प्राप्त कागजातमा उल्लेख भएअनुसार बैंकका सीईओको पक्षमा अध्यक्ष दुगड र अर्का एक सञ्चालक समेत थिए । बाँकी ५ जना सञ्चालक भने विपक्षमा थिए ।

बैठकमा यस विषयमा छलफल हुँदा पनि निष्कर्ष ननिस्कएपछि ५ जना सञ्चालकहरुले संयुक्त रुपमा चिठी लेख्दै सीईओलाई स्पष्टीकरण सोध्नु पर्ने बताएका थिए । ५ सञ्चालकको लिखित दवावपछि अध्यक्षले ‘तपाईंलाई सीईओ पदबाट किन अवकाश नदिने ?’ भन्ने प्रश्न तेस्र्याउँदै सफाई पेश गर्न पत्राचार गरेका थिए ।

श्रोतका अनुसार उक्त पत्रको जवाफ पनि सीईओ पौड्यालले पठाइसकेका छन् । बोर्ड बैठक नबसेकाले यस विषयमा छलफल हुन पाएको छैन ।

बैंकमा पहिले पनि विवाद नभएको होइन । पौड्याल सीईओको रुपमा नियुक्ति हुनु अगाडि पनि यहाँ विवाद देखिएको थियो । निरज श्रेष्ठ सीईओमा नियुक्त भए पनि विवादकै कारण पदभार ग्रहण गरेका थिएनन् ।

तत्कालका लागि साम्य

राष्ट्र बैंकमा समेत छलफल भएपछि बैंकको समस्या तत्कालका लागि समाधान भएको बैंक उच्च श्रोत बताउछ । उच्च श्रोतका अनुसार तत्कालै समस्या समाधान हुनुको कारण अर्थमन्त्री डा. युवराज खतिवडा पनि हुन् ।

तत्कालीन जनता बैंक नेपालमा कार्यरत तिलक खतिवडालाई दुई तह बढुवा दिएर बैंकमा लगिएको थियो । दुई तह बढुवा दिएर बाहिरको कर्मचारी लाग्दा आफूहरुको स्तरोन्ननति रोकिएको भन्दै केही कर्मचारीहरु असन्तुष्ट थिए । खतिवडा अर्थमन्त्रीका छोरा हुन् ।

विवादको कनेक्सन अर्थमन्त्रीसम्म जोडिएपछि यो विषयमा राष्ट्र बैंकले निकै चासो दिएको थियो । राष्ट्र बैंकले पनि कसरी हुन्छ समस्या समाधान गर्नु भनेको र विवादले ठूलै रुप लिए अर्थमन्त्रीसमेत विपक्षमा हुने भन्दै सञ्चालकहरु तत्काल कुनै निर्णय नगर्ने सोचमा रहेको स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment