१३ साउन, पोखरा । मंगलबार थप १६ जनामा संक्रमण पुष्टि भएपछि स्याङ्जाको जिल्ला प्रहरी कार्यालयमा कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्या ३७ पुगेको छ ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा मंगलबार स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १६ जना प्रहरी, एक थुनुवा एक जना प्रहरीको छोरीमा संक्रमण पुष्टि भएको पुतलीबजार नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख विष्णु काफ्लेले जानकारी दिए ।
‘कोरोना संक्रमित हुने बच्चा पनि प्रहरी कार्यालयमै अभिभावकसँग बस्थिन् । उनको पनि परीक्षणका क्रममा कोरोना पुष्टि भयो,’ उनले भने ।
९९ जनाको दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालयमा एक तिहाइ भन्दा बढी जनशक्ति संक्रमित भएका हुन् । यसले सेवा प्रवाहमा नै समस्या पार्न सक्ने आँकलन गरेर प्रदेश प्रहरी कार्यालय पोखरामा एक टोली तयारी अवस्थामा राखिएको छ ।
स्याङ्जाका प्रहरी प्रमुख विमलराज कँडेलसहितका प्रहरी अधिकारी सेल्फ आइसोसेलनमा छन् । उनले अनलाइनखबरसँग भने ‘ बाहिर रहेका कर्मचारीलाई निर्देशन दिने काम यहीँबाट भइरहेको छ, बाढी पहिरोको पनि मौसम भएकाले थप जनशक्ति पनि आवश्यक परे तैनाथ छ ।
मंगलबारमात्रै पुतलीबजारमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख काफ्लेले बताए । उनले भने, ‘प्रहरी, थुनुवा र प्रहरीको सन्तानबाहेक बाँकी एक जनाचाहिँ भारतबाट आएर क्वारेन्टिन बसेको व्यक्ति हुनुहुन्छ । उहाँको बाहेक अरुको बाह्य ट्राभल हिस्ट्री छैन ।’
मंगलबारनै स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाका ४ जना र वालिङ नगरपालिकाका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
निषेधाज्ञामा कडाइ
सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासनले अघोषित रुपमा जिल्ला नै सिल गरेको छ । आवतजावतमा पूर्ण सुरक्षा कडाइ गरेको छ । अत्यावश्यकबाहेक अन्य कामले बाहिर ननिस्कन र अटेरी गरे कारबाही गरिने चेतावनी जिल्ला प्रशासन कार्यालय स्याङ्जाले दिएको छ ।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले कोरोना संक्रमितको संख्या बढेपछि मंगलबार साँझदेखि नै निषेधाज्ञामा कडाइ गरेको बताएका छन् । कोभिड १९ व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई कडाइ गर्ने निर्णय गरेको हो । तर निर्णयसँगै अत्यावश्यक सामग्रीको पसल खोल्न विहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म समय तोकिएको छ । जिल्लाभित्र चल्न थालेका सार्वजनिक यातायात पनि रोकिएको छ । सेवा प्रदायक कार्यालयलाई पनि नियन्त्रित तरिकाले सञ्चालन गर्न निर्देशन दिएको उनले बताए ।
बागलुङमा ६ जना
बागलुङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा निसी खोला गाउँपालिकाका ५ जना पुरुष र बरेङ गाउँपालिकाका एकजना छन् ।
संक्रमितलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना १ हजार ४३० पुगेको छ । जसमध्ये १ हजार २१७ जना निको भई घर फर्किसकेका छन् । गण्डकी प्रदेशभरी ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4