Comments Add Comment

लुकिछिपी विरुवा खाएको आरोपमा १५ बाख्रामाथि मुद्दा, नगद जरिवाना

चोरीको अभियोगमा अभियुक्तहरुमाथि सजायँ भएको त सुनिएकै हो । तर चोरेर घाँस खाएको आरोपमा बाख्रामाथि समेत मुद्दा चलेको र सजायँ भएको चाहीँ सुनिएको थिएन ।

हालै छिमेकी मुलुक भारतको तेलंगानामा यस्तो अनौठो घटना भएको छ । लुकिछिपी रुखको घाँस खाइदिएको आरोपमा त्यहाँ १५ वटा बाख्रामाथि मुद्दा दर्ता भयो । ती बाख्राहरुलाई हिरासतमा लिइयो र ३ हजार भारु जरिवानाको सजायँ भयो ।

तेलंगानाको भद्राद्री कोठागुडेम जिल्लास्थित येल्लेँडू भन्ने ठाउँमा उक्त घटना भएको बताइएको छ । उक्त क्षेत्रमा वृक्षारोपण अभियान अन्तरगत रोपिएका विरुवाहरु स्थानीय एक किसानले पालेका १५ वटा बाख्राले खाइदिएका थिए । सरकारी अभियानमा रोपिएका विरुवाहरु बाख्राले खाइदिएपछि आक्रोसित बनेका सरकारी अधिकारीले ती बाख्रलाई पक्राउ गरे र बाख्रा विरुद्ध मुद्दा दर्ज गरे ।

नगरपालिकाका कर्मचारीहरुले पक्राउ गरेसँगै सुरुवातमा ती बाख्रालाई पिटेर सजायँ दिइएको थियो । विरुवाहरु सखाप पारिदिने बाख्रामध्ये ९ वटालाई बिहिबार र ६ वटालाई शुक्रबार पक्राउ गरिएको थियो ।

सबै १५ वटा बाख्रालाई नगरपालिका कार्यालयमा बाँधेर राखिएको बताइएको छ । प्रत्येक बाख्रामाथि ३–३ हजार भारुको दरले जरिवाना लगाइएको छ । उक्त जरिवाना रकम बाख्रा मालिकले तिर्नुपर्नेछ । त्यसका लागि बाख्रा मालिकलाई समेत सूचना जारी गरिएको छ ।

अहिलेसम्म ती बाख्रा दाबी गर्नका लागि नगरपालिकामा कोहीपनि नपुगेको बताइएको छ । जसका कारण नगरपालिकाका कर्मचारीहरुले नै बाख्राको हेरचाह गर्नु परिरहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment