+
+
Shares

अमेरिकामै अन्त्य भयो तुलसीको सपना

खेमराज गौतम/रासस खेमराज गौतम/रासस
२०७७ साउन १४ गते १४:०९

१४ साउन, गलकोट (बागलुङ) । बागलुङको जैमिनी नगरपालिका-१ कुश्मिशेराकी ३९ वर्षीय तुलसी थापा पोखराको एक बोर्डिङ स्कूलमा पढाउँथिन् । त्यसैबेला उनलाई डिभी पर्‍यो । सुरुमा त डिभी पर्‍यो भनेर पत्यार लागेन तर डिभी परेको सत्य थियो । साथीको लहडमा डिभी भरेकी थापा डिभी परेपछि खुशी र उत्साहले फुरुङ्ग भइन् ।

त्यसबखत तुलसीका ६६ वर्षीया आमा हरिकला थापालाई गाउँ, छिमेकी र आफन्तले भनेका थिए, ‘ओहो ! तिमी र तिम्री छोरी त कति भाग्यमानी रहेछौँ । छोरी अब अमेरिका जाने भइछिन् ।’ डाइभर्सिटी भिसा (डिभी) को सबै प्रक्रिया पूरा गरेर २०७५ कात्तिक १५ गते तुलसी अमेरिका उडिन् ।

अमेरिकाको टेक्सास सहरमा आफन्तको सहयोगमा काम पनि मिल्यो । दिन राम्रै चल्दै थियो । तुलसीको व्यक्तिगत र पारिवारिक जीवनमा खुशी नै खुशी झुल्दै थियो । तुलसी अमेरिका पुगेपछि नै हो बूढेसकाल लागेकी आमाले स्मार्ट फोन देखेको ।

तुलसीले नै आमासँग भिडियो कल गर्नुपर्छ भनेर स्मार्ट फोन पठाइदिएकी थिइन् । अझ घरमा इन्टरनेट जोड्ने पनि भनेकी थिइन् उनले । सबै खालको प्रयास गर्दा पनि गाउँमा सजिलै इन्टरनेट जोड्न नसकेपछि तुलसीले अमेरिकाबाट दिदीलाई भनिन्, ‘आमालाई डाटा लिएर भिडियो कल गर्न सिकाइ दिनु ।’

दुई दिदीबहिनी र एक दाजुमध्येकी कान्छी छोरी हुन् तुलसी । अमेरिकाबाट पछिल्लो पटक मङ्सिरमा महिनामा पैसा पठाउँदा तुलसीले दिदीसँग भनेकी थिइन्, ‘आमालाई सुनका बाला बनाई दिनु ।’ अमेरिका पुगेपछि तुलसीले पटक-पटक दोहोर्‍याइरन्थिन्, ‘बाबा बितिहाल्नुभयो, आमालाई अमेरिका ल्याएर घुमाउने रहर छ ।’

तुलसीको आमालाई अमेरिका घुमाउने रहर मात्र होइन, जीवनका सारा सपना अमेरिका पुगेको १४ महिनामै टुटेको छ । विसं २०७६ पुस १० गते बिहान बाथरुममा नुहाउँदा नुहाउँदै बेहोस भएकी तुलसीको अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै मृत्यु भयो । तुलसीको मृत्यु भएको आठ महिना बिते पनि आमा हरिकला थापाको आँखा भने अझै ओभाएका छैनन् ।

छोरीले अमेरिकाबाट ७०/८० हजार पठाउँदा खुशीले फुरुङ्ग हुने तुलसीका आमा छोरीको नामले राहतस्वरुप १० लाख पठाउँदा पनि अनुहारमा कुनै उत्साहको रङ्ग देखिएन । बरु भाव शून्य भएर एकहोरो आँखाबाट अश्रुधारा बगिरह्यो ।

अमेरिका पुगेको छोटो समयमै सामाजिक अभियानमा पनि सक्रिय थापा नेपाल मगर सङ्घ टेक्सास कमिटीको सदस्य भएर काम गरिरहेकी थिइन् ।

थापाको निधनपछि अमेरिकामै रहेको नेपाल मगर सङ्घ अमेरिकाले राहत सङ्कलन अभियान चलाएर सङ्कलित १० लाख ५८ हजार ७६४ को चेक तुलसीका आमा हरिकलालाई बागलुङ बजारमा एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ ।

हातमा १० लाखको चेक पर्दासमेत आमा हरिकलाका आँसु र बहिनीको माया र सम्झनाका सामु १० बराबर पनि नभएको तुलसीकी दिदी मनकुमारी बताइन् । ‘पैसा सबै कुरा होइन रहेछ’, उनले भने, ‘बहिनीको मृत्युपछि हाम्रो दुःख पीडालाई कम गराउन मगर सङ्घ अमेरिकासँगै विभिन्न सङ्घसंस्थाले धेरै सहयोग गर्नुभएको छ, हातमा पैसाका बिटा भए पनि त्यसमाथि बहिनीका आँशुका बाछिटा छन् जस्तो लाग्छ ।’

विदेश गएपछि पैसाका लागि अनवरत काम गर्नुपर्ने विवशता भए पनि आफ्नो जीवन र स्वास्थ्यको पनि विशेष ख्याल गर्न बिर्सन नहुने तुलसीका आफन्त तथा स्थानीय तारा थापाले बताइन् ।

‘पैसा मात्र केही होइन रहेछ, मुख्यतः जीवन नै हो, बाध्यताले जहाँ जहाँ जानु परे पनि स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्दछ भन्ने पाठ यो घटनाले पनि दिएको छ’, थापाले भनिन्, ‘अहिले विदेशमा भएका सबैजसो व्यस्त छन्, तर आफू र आफ्नो जीवन बिर्सिरहेका छन् । यो हाम्रा लागि निकै महँगो सावित हुनसक्छ, जतिसक्दो ख्याल गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?