१४ साउन, काठमाडौं । सरकारले ६ साउनमा १२० दिन लामो लकडाउन अन्त्य भएको घोषणा गर्यो । र, उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुर तथा बाहिरको हकमा जिल्लाभित्र मात्र सार्वजनिक तथा निजी सवारीसाधन चल्न दिने निर्णय पनि गर्यो ।
लामो दूरीको सार्वजनिक यातायात भदौ १ देखि सञ्चालन गर्ने भनेको छ । तर लामो दूरीमा सार्वजनिक सवारी साधन नचले पनि काठमाडौं आउने मानिसको संख्या बढेको बढ्यै छ ।
चेकपोइन्ट आएपछि यात्रु गाडीबाट झरेर पैदल हिँड्छन् र, नाका पार गरेपछि अर्को गाडी चढ्छन् ।
उपत्यका प्रवेश गर्ने एक नाका साँगामा मंगलबार पुग्दा यस्तै दृश्य देखियो । प्रहरी प्रशासन भने नदेखे झैँ गरेर बसेको पाइयो ।
‘रामेछापबाट आउँदा तीनपटक ओर्लिनुपर्यो’
रामेछापको बेथानडाँडाका कृष्णबहादुर थापा सामान्य अवस्थाको तुलनामा दोब्बर भाडा तिरेर काठमाडौंका लागि हिँडे । निर्माण क्षेत्रमा मजदुरी गर्ने थापालाई लकडाउन खुकुलो भएसँगै ठेकदारले काममा बोलाएका थिए । हतारिएर गाउँ छाडेका उनलाई जिप चालकले सर्त राखे– ‘गाडी काभ्रेको साँगासम्म मात्र जान्छ । त्यहाँबाट जाने व्यवस्था आफैं गर्नुपर्छ ।’
जसरी पनि काठमाडौं पुग्नु पर्ने भएकाले नाइ भन्ने कुरै थिएन । सबैले चालकको कुरामा सहमति जनाए । ‘भाडा पनि एक हजार रुपैयाँ लाग्छ भनेर पहिल्यै भनेको थियो’, साँगामा भेटिएका थापाले अनलाइनखबरसँग भने, ‘अरुबेला त ५०० रुपैयाँमा आइन्थ्यो ।’
उनी सवार गाडी साँगाको चेकपोइन्टभन्दा तीन सय मिटर वरै रोकियो । त्यहाँबाट थापासहित १८ जना हिँडेर साँगा आइपुगे ।

त्यहाँ तीन दिनयता कोरोना भाइरसको पीसीआर विधिबाट जाँच गर्न स्वाब संकलन गर्ने व्यवस्था मिलाइएको छ । तर स्वाव संकलन गर्ने ठाउँ चाहिँ भद्रगोल थियो, भीडभाडमा कोरोना सर्ला जस्तो ।
डराईडराई स्वाब दिएर उनीहरु पैदलै अगाडि बढे । अनि तल आइपुगेपछि रोकिराखेको गाडी भेटे र त्यसमा चढेर काठमाडौंतर्फ लागे ।
रामेछाप, दिमीपोखरीका इन्द्रबहादुर मगरले पनि उस्तै समस्या झेले । काठमाडौंसम्म आइपुग्न तीन स्थानमा ओर्लिएर हिँड्न पर्यो । ‘नेपालथोकमा चेकजाँच रहेछ, पहिल्यै ओरालेर हिँडायो’, उनले सुनाए, ‘त्यसपछि काभ्रे भज्यांङ साँगामा पनि मा पनि केही समय हिँड्नुपर्यो ।’
साँगाको चेकजाँच हिँडेर पार गरेका उनी त्यहाँबाट भने साझा यातायातको गाडीमा चढेर काठमाडौं छिरे ।

४०० रुपैयाँ तिरेर काठमाडौंका लागि जिप चढेका सिन्धुपाल्चोकका कृष्ण कार्कीले दुई ठाउँमा हिड्न पर्यो । चेकजाँच हुने ठाउँ आउने वित्तिकै गाडी रोकेर चालकले यात्रुहरुलाई हिँडाउँथे अनि आफु चेकपोइन्ट पार गरेर अलि पर कुर्थे । ‘अरु वेला २५० रुपैयाँ भाडा लाग्नेमा दोब्बर पैसा तिर्नु पर्यो’, कार्कीले सुनाए, ‘सहजसँग आउन पनि पाइएन ।’
काभ्रेको सलम्बुबाट दुई बच्चासहित आएकी लक्ष्मी श्रेष्ठलाई पनि गाडीले साँगा नजिकै ओराल्यो । ‘झरीमा ठेलम्ठेल गर्दै लाइनमा उभिनुपर्यो’ उनले अनलाइनखबरसँग भनिन्, ‘एक जिल्लाबाट अर्कोमा गाडीमा जान दिँदैनन् रे, परीक्षणपछि हिँडेर गए चाहिँ पाइनेरहेछ ।’
काठमाडौंमै रहेका श्रीमानले ट्याक्सी लिएर उनलाई लिन आउने भनेका थिए । तर, आइपुग्न ढिला भएपछि उनी कुरिरहेकी थिइन् । लकडाउन खुल्यो भनेर फर्किदा धेरै दुःख पाएको उनले बताइन् ।

रामवीर यादवसहित १५ जनाको टोली सप्तरीबाट पास लिएरै स्कर्पियो जिपमा आएका थिए । त्यसैले उनीहरुले हिँडेर अर्को गाडीमा चढ्नु परेन । तर, स्वाव दिन भिडमा लाइन लाग्नु पर्यो ।
‘नाकामा परीक्षणको व्यवस्था गर्नु सरकारको एकदमै राम्रो काम हो’, उनले अनलाइनखबरसँग भने, ‘तर, यस्तो भद्रगोल भिडमा लाइन लाग्दा झन् महामारीको जोखिम हुने भयो ।’
सरकारी अधिकारी भन्छन्– हिँड्न नदिनू भन्ने छैन
काभ्रेकी सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईं खतिवडा पैदल हिँड्ने व्यक्तिलाई रोक्न नसकिने बताउँछिन् । ‘सवारी साधनलाई पासविना हिँड्न दिइँदैन । तर, मास्क लगाएर हिँड्नेलाई रोक्न मिलेन’, उनले भनिन्, ‘किनभने, नागरिकलाई पैदल हिँड्न रोक लगाइएको छैन ।’
भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाले पनि पास नभएका गाडीलाई मात्र रोकेर फर्काइने गरिएको बताइन् । उनले भनिन्, ‘मास्क नलगाइ हिँडे कारवाही हुन्छ, त्यसबाहेक कुनै अवरोध हुँदैन ।’

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा भने अत्यावश्यक अवस्थाबाहेक पासविना सर्वसाधारण आउने नगरेको दाबी गरे । ‘आउनै परे पनि पास लिएर मात्र आउन दिनु भन्ने निर्देशन छ’, शर्माले भने, ‘पहिले जिल्लाभित्र पनि पास चाहिन्थ्यो र पूर्णतः कन्ट्रोलमा थियो तर, अहिले अन्तर जिल्लामा मात्र रोक लगाइएकाले हिँडेर जानेलाई पूर्ण निषेध गर्न गाह्रै छ ।’
जोखिमपूर्ण स्वाब संकलन स्थल
सरकारले तीन दिनदेखि सीमामा कोरोना भाइरसको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिरहेको छ । तर, संकलन स्थलमै भीडभाड हुँदा संक्रमणको जोखिम बढेको देखिन्छ ।
साँगाका सुरक्षा अधिकृतहरुले दिएको जानकारी अनुसार ११ गतेबाट हालसम्म एक हजार ८२ जनाको स्वाब संकलन गरिएको छ । पहिलो दिन ६२ जना र त्यसपछि क्रमशः ४३२ र ५८८ जनाको स्वाब संकलन गरिएको छ । यात्राका क्रममा विभिन्न व्यक्तिसँग सम्पर्क भएर कोरोना संक्रिमण फैलिन सक्ने भएकाले नाकामा स्वाव संकलन गर्न थालिएको जिल्ला जनस्वास्थ्य कार्यालय, भक्तपुरका प्रमुख कृष्णबहादुर मिजार बताउँछन् ।
स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर स्वाव संकलन गरिएको भन्दै उनले भने, ‘जहाँसम्म भिडभाड हुने गरेको कुरा छ, त्यसमा मास्क लगाएर एक मिटरको दूरी कायम गर्ने भनिएको छ ।’
तस्वीरहरुः विकास श्रेष्ठ/अनलाइनखबर

 
 
 
 
 
 
 
 
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
    
    
    
    
    
                
प्रतिक्रिया 4