Comments Add Comment

काठमाडौं प्रशासनको नयाँ सेवा ढाँचा : बार अनुसार नगरपालिकाको सेवा सञ्चालन

१४ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आफ्नो सेवा प्रवाहको ढाँचा परिवर्तन गरेको छ । कोरोना भाइरस (कोभिड १९) का कारण प्रशासनमा अत्यधिक भिडभाड भएकोले सेवाग्राहीलाई दिइने निश्चित सेवाको लागि छुट्टाछुट्टै बार तोकिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले जानकारी दिए ।

साउन ५ गते बसेको मन्त्रिपरिषद्को निर्णय र काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को साउन १२ को निर्णय अनुसार सेवा प्रवाहको नयाँ ढाँचा जारी गरिएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

साउन १८ गतेदेखि तोकिएका सेवाको लागि छुट्टाछुट्टै दिन तय गरिएको छ । प्रशासनले नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, नाबालिग परिचयपत्र, राहदानी, हातहतियार दर्ता नवीकरण जस्ता सेवाको लागि नगरपालिका अनुसार सेवा प्रवाह हुने दिन तय गरिएको हो ।

काठमाडौं महानगरका सेवाग्राहीले आइतबार, मंगलबार र बिहीबार मात्रै माथि उल्लेख गरिएको सेवा पाउने छन् । त्यस्तै, कीर्तिपुर, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका सेवाग्राहीले माथि उल्लेखित सेवा लिनको लागि सोमबार प्रशासन जानु पर्ने छ । बुढानीलकण्ठ, टोखा, कागेश्वरीमनहरा नगरपालिकाका सेवाग्राहीका लागि बुधबार र गोकर्णेश्वर, दक्षिणकाली, शंकरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले प्रशासनमा शुक्रबार मात्रै माथि उल्लेखित सेवा पाउने छन् ।

त्यस्तै, नयाँ संस्था दर्ता र नवीकरणमा भने प्रशासनले पुरानै व्यवस्थालाई निरन्तरता दिएको छ । जस अनुसार नयाँ संस्था दर्ताको काम सोमबार र बुधबारका लागि तोकिएको छ । भने नवीकरणको कामका लागि आइतबार, मंगलबार र बिहीबार तोकिएको छ । पत्रपत्रिका/छापाखाना दर्ता र विधान संशोधनको काम शुक्रबार मात्रै हुने सूचनामा उल्लेख छ । संघसंस्थाको प्रतिलिपि पत्रचारसम्बन्धी सेवा भने प्रत्येक दिनको ४ बजेपछि गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

यसबाहेक शान्ति सुरक्षाको निवेदन र कानुन बमोजिम हुने मुद्दा सम्बन्धी कार्य, सरकारी कार्यालय/आयोजनासँग सम्बन्धित समन्वय र छलफलको काम भने छ दिन नै सञ्चालन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment