Comments Add Comment

नाम्फाको आँसु–हाइड्रोको विष्फोटले तलमाथि तानिसक्यो, कसोगरी बसुँ ?

जलविद्युत आयोजनाले सुरुङ विस्फोट गर्दा बस्ती नै पहिरोमा

१५ साउन, सिन्धुपाल्चोक । पहाडमा पहिरोको मुख्य कारण जथाभावी डोजर चलाइनु हो भन्ने बहस चलिरहेका बेला सिन्धुपाल्चोकको एउटा बस्ती भने डोजरले होइन सुरुङको विस्फोटले धरापमा परेको छ । साउनको मध्य हुँदा यो बस्तीलाई चारैतिरबाट पहिरोले घेरिसकेको छ ।

जिल्लाको जुगल गाउँपालिकाको नाम्फा गाउँका निमुखाको आँसु बलेसीको पानी सरह बगिरहेको छ । गाउँपालिकाले सामान्य राहतबाहेक उनीहरुको मागको सुनुवाइ कतैबाट भएको छैन । गाउँका टाठाबाठा जो काठमाडौंमा बस्छन्, उनीहरुले आयोजना प्रभावितका नाममा फाइदा लिए, तर गाउँमै बस्नेहरुको भने पहिरोमा परेर चिलबिल छ ।

गाउँमुनि निर्माणाधीन जलविद्युत आयोजनाको सुरुङ खन्दा ठूला ठूला विस्फोट गराइएका कारण नाम्फा बस्ती पहिलोले थिलथिलो भएपछि स्थानीय बासिन्दा घर छाडेर छिमेकी गाउँमा आश्रय लिइरहेका छन् । तर आफ्नै कारण विस्थापित भएका स्थानीयको दुखः आयोजना सञ्चालकले देखे पनि नदेखे झैं गरेको छ ।

नाम्फामा बस्तीको ठीक तल निर्माणाधीन बलेफी ए जलविद्युत आयोजनाले ठूला ठूला विस्फोट गराएर गाउँको आधार नै हलचल गराएपछि सबैतिरबाट पहिरो आएर घर खेत छाड्नुपरेको गुनासो स्थानीयको छ । भुगर्भविदले पनि गाउँको प्रकृति हेर्दा अरु कारणले पहिरो जानुपर्ने नदेखिएको बताएका छन् ।

पहिरो पीडितको अवस्था बुझ्न गत साता नाम्फाको क्षतविक्षत बस्तीमा पुगेका गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ र उपाध्यक्ष सिर्जना तामाङ अवाक भएर फर्किए । ६६ वर्षीय सहदेव सिलवाल बरबरी आँसु झार्दै पुर्ख्यौली थातथलो आयोजनाले मसानघाट बनाइदिएको भन्दै पीडा सुनाउँदै थिए ।

उनले भने ‘यहीँ जन्मिएँ, यहीँ हुर्किएँ । जिन्दगीभर रगत पसिना बगाएँ तर आज विकासको नाममा हाम्रो सर्वश्व भयो । हाम्रा आँसुले तिनीहरुलाई पोल्नेछ । अब कि हामीलाई गास बास चाहियो । होइन भने यहीँ मारिदिए हुन्छ ।’

बस्तीको दुवैतिरबाट अत्यास लाग्दो पहिरो झरिरहेको छ । बस्तीको शीरमाथि अहिल्यै झर्लाजस्तो बडेमानको ढुंगो छ । ढुंगा खस्यो भने सयौंको ज्यान लिन सक्छ । विकट गाउँजुगल गाउँपालिका २, नाम्फाका स्थानीय भगवान भरोसा’ मै बसिरहेका छन् ।

असार ६ गते बिहानीपख पहिरो खसेर नाम्फाभेगको झण्डै दुई सय रोपनी खेतीयोग्य जग्गा खण्डहर बनाइदियो । घर भित्र्याउनुपर्ने मकैबाली माटोमै मिलेको छ । जाने कतै ठाउँ छैन, पहिराले बस्ती नै उच्च जोखिममा परेपछि डेढ सय घरका नाम्फाली ‘मृत्यु कुरेरै’ बसिरहेका छन् ।

स्थानीय भन्छन् ‘हामी चाहिँ अब कहिले अर्को पहिरो आउँछ र सबैलाई लैजान्छ भनेर मरण कुरेर बसेका छौं भन्दा हुन्छ । हाइड्रोले हाम्रो बास उठायो । हाम्रो माग छ कि त अहिल्यै मारिदेउ कि त बस्ति सारिदेऊ ।’

बलेफी खोलामा निर्माणाधीन ३६ मेगावाटको अपर बलेफी हाइड्रोपावरले बस्तीमुनि सुरुङ खन्दा नाम्फा गाउँ पहिरोले बगाउन लागेको स्थानीयको निचोड छ । बस्तीमुनि सुरुङ खन्नुअघि स्थानीयले जिल्ला प्रशासन कार्यालयमा पुगेर गत मंसिरमै निवेदन दिए । बस्तीमुनि सुरुङ नखन्न अनुरोधसहित निवेदन दिए पनि सुनुवाई नभएको स्थानीय पेशलाल तामाङ बताउँछन् ।

‘बस्तीमुनि सयौँ चोटी बम पड्काएको छ, बम पड्काउँदा भुइँचालो आएजस्तो हुन्थ्यो’, पेशलाल भन्छन्, -‘घरबास उठ्ने भयो, ज्यान जोखिममा पर्नेभयो भनेर सीडीओलाई निवेदन दियौं तर हाम्रा कुरा कसैले सुनेनन् ।’

राजनीतिक दलका स्थानीय अगुवाले जलविद्युत आयोजनासँग मिलेर माथि बस्ती नै छैन भनी बस्तीमुनि सुरुङ खन्न लगाएको उनी बताउँछन् ।

अपर बलेफी हाइड्रोकै कारण नाम्फा गाउँ पहिरोको पीडामा परेको भन्दै हाइडोपावर कम्पनीले सिंगो गाउँको जिम्मा लिनुपर्ने स्थानीय बताउँछन् । ‘बस्तिमुनि सुरुङ किन खनियो ?, हाइड्रोपावरका लागि हामी नाम्फाली मरिदिनुपर्ने ?’, स्थानीय भरत थापा भन्छन्, ‘अब हामीलाई कहाँ लाने हो हाइड्रोले जिम्मा लिनुपर्छ ।’

गएको असार २६ गते राति अविरल वर्षातले जमिन भासिन थाल्यो । एक्कासी पहिरोले वरिपरि घेर्न थाल्यो । गाउँभर खैलाबैला मच्चिरहे । गाउँको दाँया र बाँया पहिरो र्झन थालेपछि स्थानीय सुरक्षित स्थानतर्फ दौड्न थाले, न वर्षा रोकियो न पहिरो नै । बिहानभर पहिरो हेरेर बस्नुबाहेक विकल्प भएन ।

यो क्रम अहिले पनि चलिरहेको छ । निरन्तर वर्षा रोकिएको छैन । दिउँसो वस्तुभाउलाई घाँसपात गर्न आउने स्थानीय साँझ परेपछि पल्लो गाउँमा जान्छन् । दिउँसै पहिरो खस्ने हो भने ठूलो मानवीय क्षति हुने उनीहरु बताउँछन् ।

करिब एक हजार रोपनी जग्गामा लगाएका धान, मकैबालीहरु पूर्ण रुपमा क्षति भएको छ । पहिरो आउने कुनै भौगोलिक कारण र जोखिमको आश नभइकन कसरी यहाँ यस्तो घटना भयो ? गाउँमा यसअघि यस्तो पहिरो कहिल्यै गएको थिएन । गाउँका बुढापाका पनि यसरी अत्यासै लाग्ने गरी पहिरो अहिलेसम्म नगएको बताउँछन् ।

बलेफी ए जलविद्युत आयोजनाका कारणले यस्तो घटना भएको स्थानीयको आरोप छ । ‘नाम्फाभन्दा तल ३६ मेगावट क्षमताको निर्माणाधीन जलविद्युतको सुरुङ बनिरहेको छ, जहाँ निर्वाध ढंगले विस्फोट गर्ने काम भइरहेको छ, विस्फोटले गाउँलाई कम्पन दिलाइरहेको छ’ सिलवालले भने ।

जथाभावी विस्फोटको कम्पनले गर्दा गाउँको माथिल्लो भाग भास्सिएर वर्षातले पहिरोको रुप लिएको स्थानीय बताउँछन् । गाउँका केही पहुँचवाला र काठमाडौंमा बस्नेहरुले आयोजनासँग साँठगाँठ गरेको आरोप स्थानीयको छ ।

त्यस्तै लिदीमा पनि ठूलो पहिरो गएको छ । यहाँ करिब १५० घरधुरी पहिरोको कारण जोखिममा छन् । लिदी गाउँमुनि बलेफी हाइड्रोपावरको इन्लेट्को काम भइरहेको छ ।

जब जब पानी पर्छ तब तब स्थानीय आतंकित हुन्छन् । गाउँपालिका र सरकारले आफ्नो व्यवस्थापन नगरे अब हाइड्रोमै गएर सामूहिक आत्मदाह गर्ने चेतावनी उनीहरुले दिएका छन् । आयोजनका सञ्चालक उमेश कसजुसँग पटक पटक सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले स्थानीय जनताको आवाजलाई आफूहरुले गम्भीरतापूर्वक लिएको बताइन् । तत्काल उद्दार र राहतमा लागिएको भन्दै उनले नाम्फाका पहिरो पीडित जनताको समस्या दीर्घकालीन समाधानका लागि पहल गरिने बताइन् ।

स्थानीय जनता भने आयोजनाले गाउँपालिकालाई समेत प्रभावित पारेकाले आफ्नो पक्षमा बोलिदिने कोही नभएको गुनासो गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment