Comments Add Comment

देउवा–पौडेल सम्वाद : धन्यवाद रामचन्द्रजी ! मेरो हजार भोट बढ्यो

१५ साउन, काठमाडौं । पार्टी महाधिवेशनको मिति तोकिसकेपछि सभापति शेरबहादुर देउवाले विभागहरू गठन गरेको भन्दै रामचन्द्र पौडेल समूहले विरोध गर्दै आएको छ ।

पौडेल समूहले बुधबार पार्टी कार्यालय सानेपामा भेला गरेर आपत्ति जनायो । तर पार्टी सभापति देउवाले भने यसलाई महाधिवेशन राजनीति भनेका छन् ।

देउवा–पौडेल समूहको भेट

लिखित रुपमै सभापतिको ध्यानाकर्षण गराउने भेलाको निर्णयअनुसार वरिष्ठ नेता पौडेलले सभापति देउवासँग भेटको समय मिलाए । बिहीबार विहान साढे १० बजेको समय दिएका सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का लगायतका नेताहरू राखेर बसेका थिए ।

वरिष्ठ नेता पौडेल पनि पार्टी महामन्त्री शशांक कोइराला, नेताहरू मिनेन्द्र रिजाल, चन्द्र भण्डारी लगायतका नेताहरुसहित सभापतिको कार्यकक्षमा पुगे । नेताहरु पुग्नासाथ देउवाले ठ्टटा गरे, ‘(आफ्नो सिट अगाडिको सोफा देखाउँदै ….) सबै साथीहरूलाई साइड लगाएर तपाईहरूका लागि खाली गरेको छु ।’

पौडेल पक्षका एक नेताले विमलेन्द्र निधि र विजय गच्छदार त हुनुहुन्छ नि भन्दै ठट्टा गरे ।

त्यसपछि वरिष्ठ नेता पौडेल मुद्दामा प्रवेश गरे र, ध्यानाकर्षण पत्र पढेर सुनाउने बताए । तर सभापति देउवाले पढ्नु नपर्ने बताए । ‘तपाईहरू पनि अधिवेशनको राजनीति गर्न आउनु भएको हो, म पनि अधिवेशनको राजनीति गर्दैछु’ देउवाले भने, ‘पढ्नु पर्दैन, म भोलि अखबारमा पढिहाल्छु नि ।’

तर वरिष्ठ नेता पौडेलको पढ्न भनेपछि केन्द्रीय सदस्य जीवन परियारले चार पेजको पत्र पढेर सुनाए । जसमा पार्टीको १४ औं महाधिवेशन स्वतन्त्र, निश्पक्ष र धाँधलीरहित ढंगबाट सम्पन्न हुने आधार हराउँदै गएको उल्लेख छ ।

पार्टीको विधानअनुसार ६ महिनाभित्र गठन गर्नुपर्ने विभागहरु १४ औं महाधिवेशनको कार्यक्रम अगाडि बढिसकेपछि बनाउनु विधान उल्लंघन भएको पौडेल समूहको ठहर छ । हाल गठन भएको विभाग स्वीकार नगर्ने र सहयोग पनि नहुने पौडेल समूहले बताएको छ ।

आगामी फागुनलाई तय भएको पार्टीको महाधिवेशन प्रभावित गर्ने कुत्सित मनसायले विभाग गठन भएको भन्दै पत्रमा भनिएको छ, ‘यसमा हाम्रो गम्भीर आपत्ति छ र यो अस्विकार्य छ । यस्ता कार्य तत्काल बन्द गरियोस् र त्यस्ता निर्णय तत्काल खारेज गरियोस् ।’

पार्टी प्रवेश गर्नेहरूको नाममा केन्द्रले आफूखुसी एकमुष्ट क्रियाशील सदस्य बाँड्ने र दशकौंदेखि रगत पसिना बगाएकाहरूलाई अन्यायमा नपार्न, अधिवेशन गरेका भ्रातृ संगठनबाट मात्र महाधिवेशनमा मात्र प्रतिनिधित्व गराउन माग गरिएको छ ।

तर देउवाले पौडेल समूहको माग सम्बोधन गर्ने संकेत गरेनन् । बरु नाम दिन आग्रह गरे । पौडेलले तत्काल जवाफ फर्काए, ‘विभाग गठन स्वीकार्य छैन, नाम पनि दिन्नौं ।’

जवाफमा देउवाले उनलाई धन्यवाद दिए । पौडेलले नाम नदिए सबै विभाग तथा निकायमा गरेर आफूले २५ सय नेता कार्यकर्तालाई मनोनित गर्न पाउने भन्दै उनले भने, ‘रामचन्द्रजीलाई धन्यवाद, धन्यवाद । मेरो हजार भोट बढ्छ ।’

उपसभापति विमलेन्द्र निधिले पनि नाम नदिँदा पौडेल समूहलाई नै घाटा हुने बताए । जवाफमा पौडेल समूहका नेताहरूले भने ‘तपाईहरूको भोट धेरै बढ्यो भने बल्ल देउवा समूहबाटै सभापतिका दुई जनाको उम्मेदवार हुन्छ’ भनेका थिए ।

भेटका क्रममा पार्टी अनुशासनको कारबाही लगायतका विषयमा समेत विवाद भएको थियो । र, आफूहरूले उठाएको मुद्दामा सभापति गम्भीर नदेखिएपछि पौडेल समूहका नेताहरूले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राखेका छन् ।

‘विभागहरू गठनलाई धेरैले पदको झगडाको रुपमा मात्र बुझे । सभापतिले महाधिवेशन प्रभावित गर्न खोजेको स्थापित गर्न सकेका थिएनौं । त्यसैले पब्लिकमा जानुपर्छ कि भन्ने थियो’ पौडेल समूहका एक नेता भन्छन्, ‘आज सभापतिलाई भेट्दा उहाँले गम्भीर रुपमा नलिएपछि पत्रकार सम्मेलन गर्न बाध्य भयौं ।’

महाधिवेशनको मुद्दा बनाउँछौं : पौडेल

पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले आफूहरुको उठाएको विषय दलीय झगडा नभएको बताएका छन् । ‘यो नीतिगत र पार्टीलाई लोकतान्त्रिक बनाउने मुद्दा हो’ नेता पौडेलले भने, ‘महाधिवेशनमा धाँधली हुन नदिन सजग रहन र महाधिवेशन प्रभावित पर्ने खेलबाट बच्न सबै साथीहरूलाई आग्रह गर्छु ।’

तपाईँको कुरा देउवाले सुनेनन् भने के गर्नु हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘जति गर्दै जानुहुन्छ, त्यति दबाब बढाउँदै जान्छौं । महाधिवेशसम्म मुद्दाकै रुपमा लैजान्छौं ।’

आगामी महाधिवेशनमा आफ्नो समूहबाट सभापति एउटै उम्मेदवार हुने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका समाचार संयोजक हुन् ।

ट्रेन्डिङ

Advertisment