Comments Add Comment

सुनसान छ सौराहा, दशैं लक्षित तयारीमा जुटे व्यवसायी

व्यवसायी भन्छन्- थप लगानी गर्नुपर्ने देखियो

१५ साउन, चितवन । चार महिनादेखि बन्द रहेका सौराहाका होटल तथा रेष्टुराँहरु बिहीबारबाट खुलेका छन् । बिहीबार पहिलो दिन सौराहा सुनसान थियो । तत्कालै पर्यटकीय गतिविधि बढ्छ भन्ने आश नगरेका व्यवसायीहरुले दशैं लक्षित तयारी जारी राखेका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले दशैं र दशैंपछि हुने पर्यटकीय गतिविधिलाई लक्षित गरी अहिलेबाट तयारी थालिएको बताए । हवाई र सडक यातायातमा लागेको प्रतिबन्ध तथा एक जिल्लाबाट अर्को जिल्ला जान पास चाहिने विद्यमान अवस्थाका कारण तत्कालै पर्यटक बढ्ने आशा व्यवसायीलाई छैन ।

अधिकांश होटल व्यवसायीहरु अहिले सरसफाइमा जुटेका छन् । चार महिनासम्म बन्द, बर्खाका कारण लागेको लेउ, बढेका बोटबिरुवा तथा फूलको गोडमेल तथा मर्मतका काममा व्यवसायी जुट्न थालेका छन् । केही व्यवसायीहरुले घरबिदामा पठाएका कार्मचारीलाई बोलाएर होटलको सरसफाइमा खटाएका छन् ।

होटल खुलेपछि व्यवसायीहरु केही आशावादी देखिएका छन् । तत्कालै पर्यटक आउने सम्भावना निकै कम भए पनि ‘सौराहा खुल्यो’ भन्ने सन्देश महत्वपूर्ण भएको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई बताउँछन् । उनले भने, ‘तत्कालै चलाउन सकिन्छ वा चल्छ भन्ने आशा छैन । तर सौराहा आउने पर्यटकलाई कहाँ बस्ने भन्ने चिन्ता अब हुँदैन ।’

राहतको आश

होटल खुल्दा ठूला होटल व्यवसायीलाई खासै केही फाइदा नहुने भए पनि साना होटल तथा रेष्टुराँहरुलाई भने फाइदा हुने व्यवसायीको विश्वास छ । सौराहामा साना होटल तथा किराना व्यवसायीको दबाव आएपछि ठूला होटलसमेत सञ्चालनमा आएका छन् । सौराहाकासाना रेष्टुरेन्ट तथा पसलहरु होटलसँग आश्रित छन् ।

होटल तथा रेष्टुराँ सञ्चालनसँगै सौराहाका अन्य पर्यटकीय गतिविधि पनि सञ्चालन गर्ने तयारी व्यवसायीको छ  । सौराहामा हुने पर्यटकीय गतिविधिमा जंगल सफारी, जंगल वाक, डुंगा सफारी, हात्तीलाई नुहाउने लगायतका पर्दछन् । यस्तै बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारीका साथै जिप सफारी हुने गर्दछ ।

सौराहामा ११० होटल र ५६ वटा रेवानमा आवद्ध रेष्टुरेन्टहरु छन् । होटल पार्क सफारी रिसोर्टका सञ्चालक महेश खनालले चार महिनासम्म लकडाउनमा घर बसेर वाक्क भएका नेपालीहरुलाई घुम्नका लागि सौराहा आउने वातावरण तयार गरिनुपर्ने बताए । होटल मात्रै सञ्चालन नगरी स्तरीय सेवा, कोभिडबाट सुरक्षा र शुल्कमा सहुलियत दिए व्यवसायीहरुलाई केही राहत मिल्ने उनको भनाइ छ ।

सरकारले साउन १५ गतेबाट देशभरका होटल तथा रेष्टुराँ विशेष सावधानी अपनाएर खोल्ने निर्णय गरेको थियो । यससँगै क्षेत्रीय होटल संघ सौराहाले सूचना

जारी गर्दै सरकारले दिएको निर्देशन र नियम पालना गरेर होटल व्यवसाय सञ्चालन गर्न सबै व्यवसायीलाई अनुरोध गरेको छ । सो अनुरोध बमोजिम सबै होटलले कोभिड–१९ बाट बच्न आवश्यक सूचना टाँस गर्ने, पर्यटकको ज्वरो जाँच, हात धुने र स्यानेटाइजरको व्यवस्था गरेको होटल मोनालिसा चितवन प्रा.लि.का सञ्चालक केशव खनालले जानकारी दिए ।

कोभिडको त्रास कम हुन थालेपछि फोन तथा इमलेबाट आन्तरिक पर्यटकहरुको बुकिङ आउन थालेको उनले बताए । ‘अब आन्तरिक पर्यटक प्रवर्द्धनका लागि सरकारलेसमेत सहयोग गर्नुपर्छ,’ उनले भने ।

सौराहाका व्यवसायीहरुले आन्तरिक पर्यटकलाई लक्षित गरी छुट्टाछुट्टै छुट प्याकेजको अफरसमेत गरेका छन् । रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाका निवर्तमान अध्यक्षसमेत रहेका सूर्योदय गेष्ट हाउसका सञ्चालक गोकर्ण गिरीले कोठामा ५० प्रतिशत, खानामा २० प्रतिशत र पेयपदार्थमा १५ प्रतिशत छुट दिने अफर घोषणा गरी रेष्टुरेन्ट बाहिर टाँस गरेका छन् ।

व्यसायी भन्छन्– थप लगानी गनुपर्ने अवस्था छ

चार महिना होटल बन्द हुँदा थप लगानी आवश्यक रहेको व्यवसायीहरुले बताएका छन् । होटललाई पुनः पहिलाकै अवस्थामा फर्काउन साना होटलले १० लाखसम्म र ठूला होटलले ५० लाखसम्म लगानी गर्नुपर्ने अवस्था आएको उनीहरुको भनाइ छ ।

चितवन फरेष्ट रिसोर्टका सञ्चालकसमेत रहेका क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले थप लगानी नगरी होटल पुरानै अवस्थामा चलाउन नसकिने बताए । उनले भने, ‘लामो समय बन्द हुँदा जेनेरेटरदेखि एसी, पंखा, फ्रिज, टिभी सबैजसो बिग्रिएको पाइयो । तन्नादेखि बिस्तारासमेत नयाँ किन्नुपर्ने अवस्था आएको छ ।’

होटल पार्क सफारी रिसोर्टका सञ्चालक महेश खनालले ठूला होटलले १ करोडसम्म थप लगानी गर्नुपर्ने अवस्था आएको बताए । उनले भने, ‘मर्मतदेखि सरसफाई लगायतका खर्च चैतदेखि हिसाब गर्दा १ करोडसम्म लगानी थप गर्नुपर्ने अवस्था छ ।’

सञ्चालक खनालले कम्तीमा पनि दुई वर्षसम्म कोभिडको त्रास कायममै रहने देखिएकाले होटलले थप सतर्कता र सावधानी अपनाउनुपर्ने बताए ।

सौराहामा होटलमा प्रत्यक्ष रुपमा ५ हजार ५ सयभन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् । कोभिडको संक्रमण रोक्न भन्दै लकडाउन गरिएपछि अधिकांश कामदारलाई होटलहरुले छुट्टी दिएका थिए । होटल तथा रेष्टुरेन्टहरु खुलेसँगै व्यवसायीहरुले आफ्ना कामदारलाई बोलाएर नियमित काममा लगाउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment