Comments Add Comment

कोरोना संक्रमित महिला बनिन् आमा

प्रतीकात्मक तस्वीर

१६ साउन, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गंगा पन्त बिहीबार राति एम्बुलेन्स खोज्दै थिइन् । रातिको समयमा उनले एम्बुलेन्सको व्यवस्था गर्न सकिनन् ।

त्यसपछि प्रहरीकै गाडीमा राखेर सुत्केरी व्यथाले छटपटाईरहेकी एक महिलालाई गण्डक कोरोना अस्पताल पुर्‍याइन् । एसपी पन्तले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१ निवासी ३१ वर्षीया महिलाकै लागि एम्बुलेन्स खोजीरहेकी थिइन् ।

स्वास्थ्य कार्यालय, पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले ती महिलालाई नोवेल कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको जानकारी दिएका थिए । महिलाले यो जानकारी पाउँदासम्म उनलाई सुत्केरी व्यथा लागेर नेसनल मेडिकल कलेजमा लगिसकिएको थियो ।

यो विषयमा एसपी पन्तले गण्डक कोरोना अस्पतालका डा. उदयनारायण सिंहसँग कुरा गरेकी थिइन् । डा. सिंहले डेलिभरीका लागि अस्पताल ल्याउनुस् भनेपछि नै उनी एम्बुलेन्स खोज्न लागेकी थिइन् । कोरोना संक्रमण बढ्दै गएपछि वीरगञ्जमा एम्बुलेन्स नपाउने समस्या झनै बढेको छ ।

नारायणी अस्पतालमा नियमित प्रसुती जाँच गराउँदै आएकी उनलाई ज्वरो आइरहेको थियो । अस्पतालले ज्वरोको औषधि दिएर पठाएको थियो ।

ज्वरो कम नभएपछि साउन १४ गते उनी वीरगञ्जकै एक निजी अस्पतालमा गइन् । ज्वरो छ भनेपछि अस्पतालले पीसीआर जाँच गराएर मात्रै उपचारका लागि आउन भन्यो । त्यसको भोलिपल्ट १५ गते शुल्क तिरेर पीसीआर परीक्षण गराएकी उनको साउन १६ गते पोजेटिभ रिर्पोट आयो ।

कोरोना परिक्षण रिर्पोट पोजेटीभ आउँदासम्म उनलाई सुत्केरी व्यथा लागेर नेसनल मेडिकल कलेज लगिसकिएको रहेछ । अस्पताल लैजानु अघिसम्म परिवारका सदस्यहरूलाई महिलालाई संक्रमण पुष्टि भएको जानकारी थिएन ।

राति गर्भवती महिलालाई कोरोना अस्पताल पुर्‍याउन निकै कठिनाइको सामना गर्नुपरेको जनस्वास्थ्य निरीक्षक ठाकुर बताउँछन् । ‘कोरोना संक्रमण पुष्टि भयो भनेर जानकारी दिन फोन गरेको सुत्केरी व्यथा लागेर निजी अस्पतालमा भर्ना गरिएको रहेछ,’ उनले भने, ‘उदय डाक्टरले ल्याउनुस् डेलिभरी गराउँछु त भन्नुभयो तर एम्बुलेन्स खोज्दा नपाएपछि प्रहरीले नै गाडीको व्यवस्था गरेर कोरोना अस्पताल ल्याए, डेलिभरी पनि राम्रोसँग भएछ, खुशी लाग्यो ।’

कोरोना अस्पतालमा प्रसुति रोग विशेषज्ञको ड्युटी छैन । डा. सिंह स्वयं जनरल फिजिसियन हुन् । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीमा धमाधम संक्रमण देखिएपछि नारायणी अस्पतालमा आपत्तकालिन बाहेकका सेवा बन्द अवस्थामा छ ।

बिहान ४ बजेर १० मिनेटमा उनको नर्मल डेलिभरी गराइएको कोभिड अस्पतालका कोर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिए । उनको ‘नर्मल डेलिभरी’ भयो ।

३ किलोको छोरी जन्मिएको गण्डक कोरोना अस्पतालले जनाएको छ । नवजात शिशुको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि बिहानै नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको छ ।

‘कोरोना अस्पतालमा डेलिभरी टिम छैन । संक्रमित गर्भवती महिलालाई सुत्केरी व्यथा लागिसकेको रहेछ । अर्को अस्पतालमा सुत्केरी गराउँदा स्वास्थ्यकर्मीमा संक्रमणको जोखिम बढी हुने भयो,’ उनले भने, ‘सहयोगीको टिम लिएर आफैं पसें, नर्सिङ स्टाफले राम्रो सहयोग गरे ।’

आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका ड्युटी डाक्टर निरज सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment