१६ साउन काठमाडौं । विश्वकप फुटबल छनोट अन्तर्गत हुने खेलको लागि प्रशिक्षण सुरु गर्न उपत्यका बाहिर रहेका फुटबल खेलाडीहरु काठमाडौं आउने क्रम जारी छ ।
फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को संयुक्त छनोटअन्तर्गत नेपालले अक्टोबर नोभेम्बरमा घरेलु मैदानमा ३ खेल खेल्दैछ ।
त्यसैका लागि अखिल नेपाल फुटबल संघ एन्फाले भदौ १ पछि राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्ने तीव्र तयारी गरिरहेको छ । पहिलो चरणमा क्याम्पमा रहेका सबै खेलाडीलाई काठमाडौं बोलाउने क्रम जारी छ ।
राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायका अनुसार क्याम्पका लागि बोलाइएका सबै खेलाडीहरु आजसम्म काठमाडौं आइपुग्नेछन् ।
अहिलेसम्म आधाभन्दा बढी खेलाडी काठमाडौं आइसकेका छन् । काठमाडौं आइसकेका खेलाडी र यहाँ भएका खेलाडीहरु अहिले होम क्वारेन्टिनमा बसेका छन् । उनीहरुलाई एन्फाले निगरानीमै राखेको छ । ‘२० जना खेलाडीहरु काठमाडौं आइसकेका छन् । अब १४ खेलाडी आज आउनेछन्,’ उपाध्यायले भने ।
अब पोखरा र पूर्वमा रहेका खेलाडीहरु आज आइपुग्नेछन् । नेपाल सरकारले लकडाउन अन्त्य गर्दै भदौ १ गते जनस्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण र प्रारम्भिक चरणका खेलहरु सुरु गर्न पाउने निर्णय गरेपछि एन्फा प्रशिक्षणका लागि तयारीमा लागेको हो ।
एन्फाले सबै खेलाडीलाई आएपछि दुई साताको लागि क्वारेन्टिनमा राख्नेछ । यही बेला खेलाडीहरुको पीसीआर पनि परिक्षण गरिने एन्फाले जनाएको छ । ‘मेडिकलका डक्टरहरुले यात्रा गरेको ३-४ दिनपछि मात्र पीसीआर परिक्षण गर्दा राम्रो हुन्छ भनेका छन् । यहाँ आएर बस्छन् । संक्रमण छ भने एक्टिभेट हुन टाइम लाग्छ र काठमाडौं आउनेबित्तिकै नदेखिन पनि सक्छ । त्यसैले २१-२२ गते पीसीआर गर्ने तयारी छ ।’
पीसीआर परिक्षण गरेर त्यसको रिपोर्ट आएपछि एन्फाले खेलाडीहरुलाई आफ्नै होस्टेलमा राख्ने योजना बनाएको छ ।
एन्फाले विश्वकप छनोटको लागि २०७६ फागुन तेस्रो सातामै प्रारम्भिक चरणमा ३१ खेलाडीहरु बोलाउँदै प्रशिक्षण सुरु गरेको थियो । त्यो बेला विदेशमा लिग खेलिरहेका किरण चेम्जोङ र रोहित चन्दर अभिषेक अर्याललाई पछि प्रशिक्षणमा समावेश गर्ने एन्फाले जनाएको थियो ।
अभिषेक रिजाल माल्दिभ्समा खेलेर फर्किएपछि प्रशिक्षणमा सामेल भइसकेका थिए । तर कोरोना महामारी र लकडाउनले गर्दा केही समयपछि नै प्रशिक्षण स्थगित भएको थियो ।
प्रशिक्षणका लागि एन्फाले त्यही बेला बोलाएको खेलाडीलाई बोलाएको छ । जसमा अष्ट्रेलिया गएका गोलकिपर एलन न्यौपानेको स्थानमा दीप कार्कीलाई राखिएको छ ।
कोरोना महामारीपछि भारतमा खेलेका गोलकिपर किरण चेम्जोङ र इन्डोनेसियामा लिग खेलिरहेका रोहित चन्द पनि नेपाल फर्किसकेका छन् ।
मुख्य प्रशिक्षक योहान कालिन हाल आफ्नै देश स्वीडेनमा छन् । उनलाई नेपाल बोलाउनको लागि कुरा भइरहेको एन्फाले जनाएको छ । उनी नआउँदासम्म सहायक प्रशिक्षक किरण श्रेष्ठले प्रशिक्षणका लागि गाइडलाइन्स र योजनाहरु तयार गरिरहेको टिम व्यवस्थापक उपाध्यायले जानकारी दिए ।
विश्वकप छनोट अन्तर्गत समूह बी मा रहेको नेपालले अब ३ होम म्याच खेल्न बाँकी छ । नेपालले दशरथ रंगशालमा चाइनिज ताइपेई अष्ट्रेलिया र जोर्डनसँग खेल्ने तालिका छ ।
यसअघि ५ खेल खेल्दा नेपालले १ खेलमात्र जितेको थियो भने ४ खेलमा हार बेहोरेको थियो । समूह बी मा ३ अंक जोडेको नेपाल ५ टिममध्ये चौथो स्थानमा छ ।
प्रशिक्षणका लागि बोलाइएका खेलाडी
किरण चेमजोङ, विकेश कुथु, विशालल श्रेष्ठ , दीप कार्की, रञ्जित धिमाल, सुमन अर्याल, सरोज दाहाल, अनन्त तामाङ, देवेन्द्र तामाङ, अजित भण्डारी, तेज तामाङ, विशाल राई, विक्रम लामा, सवास गुरुङ, मिक्चेन तामाङ, सुजल श्रेष्ठ, रविशंकर पासवान, सुनिल वल, रोहित चन्द, भरत खवास, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अमित तामाङ, छिरिङ गुरुङ, विकास खवास, दिलेन लोक्तान, शेसेहाङ आङदम्वे, पूजन उपरकोटी, एरिक बिष्ट, अन्जन बिष्ट, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, आशिष लामा, विमल राना ।
प्रतिक्रिया 4