Comments Add Comment

रौतहटको श्रीराम सुगर मिल बन्द हुन नदिन किसानको माग

१६ साउन, रौतहट । रौतहटको गरुडा नगरपालिका– ५ मा रहेको जिल्लाकै सबैभन्दा ठूलो उद्योग श्रीराम सुगर मिल्स बन्द भएको सूचनाले किसान चिन्तित बनेका छन् ।

साउन ११ गते उद्योग सञ्चालक समितिले एक सूचना जारी गर्दै महम्मदपुर गरुडामा रहेको सो चिनी मिल बाध्यात्मक परिस्थितिका कारण स्थायी रुपमा बन्द भएको घोषणा गरेको थियो ।

२०४९ सालमा स्थापना भएको मिल सञ्चालक समितिको बैठकले बन्द गर्ने निर्णय गरेपछि मिलमा कार्यरत ३२५ कर्मचारी बेरोजगार भएका छन् भने त्यही उद्योगमा बिक्री गर्ने आशाले उखु खेती गरेका किसान मारमा परेका छन् ।

उद्योग बन्द हुँदा जिल्लामा रहेका १८ हजार उखु किसानले १२ हजार बिघामा गरेको खेती अब के हुने हो भन्ने अन्योल बढेको छ । प्रत्येक वर्ष उखु खेतीबाट रौतहटका किसानले सवा दुई अर्ब रुपैयाँ आर्जन गर्ने गरेका थिए ।

उद्योग व्यवस्थापनले किसान, श्रमिक तथा सरोकारवालासँग छलफल नै नगरी मिल बन्द गरेको भन्दै उखु उत्पादक संघ रौतहटले आपत्ति जनाएको छ । एकतर्फी ढंगले गरिएको उद्योग बन्दप्रति सरकारले पनि चासो देखाउनुपर्ने संघको भनाइ छ ।

सो चिनी मिलमा बारा र सर्लाहीका किसानले समेत उखु बेच्ने गरेका थिए ।

८ बिघामा उखु खेती गरेका वृन्दावन नगरपालिका ४ का किसान होसनारायण राय यादव मिल बन्द भएको सूचनाले चिन्तित छन् । ‘२०७१ सालदेखि उखुको पाँच लाख रुपैयाँ लिन बाँकी छ । अब त्यो पैसा कहिले, कसले दिने हो थाहा छैन’ उनले भने ।

गरुडा २ का फेकन सहनीको पीडा पनि यस्तै छ । ४ बिघामा उखु खेती गरेका सहनीले पनि चिनी मिलबाट २ लाख रुपैयाँ भन्दा बढी लिन बाँकी छ । चिनी मिल बन्द हुन नदिन र किसानको रकम भुक्तानी गराइदिन सरकारले पहल गर्नुपर्ने किसानको भनाइ छ ।

स्थापनाकालको ६ वर्षसम्म मुनाफामा चलेको उद्योग त्यसपछि निरन्तर ओरालो लागिरहयो । हरेक वर्ष व्यवस्थापन परिवर्तनका कारण यसको घाटा बढ्न थालेको थियो । आर्थिक वर्ष ०७५/७६ सम्ममा मिलको कुल घाटा २ अर्ब १७ करोड ७५ लाख ५८ हजार ३७६ रुपैयाँ छ ।

श्रीराम सुगर मिल्स करिब ७४ बिघा क्षेत्रफलमा रहेको छ । उद्योग स्थापनाका बेला निकै सस्तोमा खरिद भएको जग्गाको मूल्य अहिले आकाशिएको छ । व्यवस्थापनले मिलको जग्गा बेचेर अर्बौ रुपैयाँ निकाल्ने र रकमलाई अन्यत्र व्यापारमा प्रयोग गर्ने बदनियत रहेको गरुडाका उद्योगी बृजकिशोर यादवले बताए ।

‘आज भन्दा चार वर्ष अघि १३० करोड रुपैयाँ किसानको मात्रै बाँकी थियो । तर त्यो बेला मिल बन्द भएन’ गरुडाका यादव भन्छन ‘आज ३२ करोड मात्रै बाँकी छ । मिलले राखेको नयाँ पार्टनरले मिलको जग्गामा आँखा गाडेको छ ।’

उद्योगको ७४ बिघामध्ये १० बिघा जग्गा मुख्य बजार र सडकसँग जोडिएको छ जसको चलनचल्तीको मूल्य १ बिघाकै २० करोड भन्दा बढी छ ।

‘मिल व्यवस्थापन आफैले १२५ करोड रुपैयाँ नभएसम्म उद्योग चल्न सक्दैन भनेको छ’ यादवले भने, ‘मुख्य सडकको जग्गा बेचेर रकम आएपछि १२५ करोड रुपैयाँ तिरेर फेरि उद्योग चलाउछ भन्ने ग्यारेन्टी सरकारले गर्नुपर्छ ।’

उद्योग कलकारखाना न्यून संख्यामा रहेको रौतहटको सबै भन्दा ठूलो उद्योगलाई बन्द हुन नदिन सरकारले पहल गर्नुपर्ने संघका अध्यक्ष अशोकप्रसाद यादवले बताए ।

मिलले यस वर्ष कार्यरत कर्मचारीको चार महिनादेखिको तलब तथा सञ्चयकोषको रकमसमेत दिन सकेको छैन । नगदे बालीको रुपमा रहेको उखु उधारोमा किन्ने गरेको मिलले किसानलाई ३२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक संघले जनाएको छ ।

अवकाश प्राप्त कर्मचारीको ७० लाख रुपैयाँ भन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment