Comments Add Comment

भियतनाममा कोरोनाबाट पहिलो मृत्यु

१६ साउन, काठमाडौं । भियतनाममा कोरोना भाइरस (कोभिड–१९) बाट पहिलोपटक एक जनाको मृत्यु भएको छ । अहिलेसम्म भियतनाम कोरोना भाइरसबाट कसैको पनि मृत्यु नभएको मुलुकको रुपमा थियो ।

शुक्रबार स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार कोरोना भइरसबाट पहिलो मृत्युको रुपमा होइ एन सहरमा ७० वर्षीय एक व्यक्तिको मृत्यु भएको हो ।

यो साताको शुरुवातमा भियतनाममा पुनः कोरोना भाइरसको संक्रमण फैलिन शुरु भएको थियो । त्यसअघि तीन महिनाभन्दा लामो समय कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका थिएनन् । तर, अहिले भने नयाँ संक्रमित देखिन थालेका छन् ।

अन्य मुलुकको तुलनामा भियतनामले कोरोना भाइरसको नियन्त्रण राम्रोसँग गरेको थियो । नौ करोड ५० लाखभन्दा बढी जनसंख्या रहेको यो मुलुकमा अहिले केही सय मानिस मात्र कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

अन्य मुलुकको भन्दा भियतनामले शुरुवातमा नै सबैजसो पर्यटकमाथि प्रतिबन्ध लगाएको थियो । साथै मुलुकमा प्रवेश गर्ने जो कोहीलाई पनि १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको थियो । केही समयका लागि यो कदम निकै प्रभावकारी देखिएको थियो । अप्रिलको मध्ययता भियतनाममा कुनै स्थानीय संक्रमित पनि फेला परेका छैनन् ।

भियतनामले समयमा नै कोरोना भाइरस नियन्त्रणको लागि कदम चालेकोमा विश्वभर प्रशंसा पाइरहेको छ । साथै भियतनामले संक्रमितहरुलाई दिएको स्वास्थ्य सेवाको पनि प्रशंसा भइरहेको छ ।

यद्यपि साताको शुरुमा लोकप्रिय डा. नाङ रिसोर्टमा कोरोना भाइरसका संक्रमित भेटिएका थिए । यससँगै यहाँ पुनः कोरोना भाइरसका संक्रमित भेटिन थालेका छन् । अहिले उक्त सहरमा मुलुकभरबाट आएका हजारौं पर्यटक छन् । बुधबारदेखि उक्त सहरमा लकडाउनको घोषणा गरिएको छ ।

यसैबीच भियतनामका प्रधानमन्त्री न्गुयेन सुआन फुकले संक्रमण बढेको खण्डमा प्रत्येक प्रान्त र सहरमा लकडाउन गर्न सकिने चेतावनी दिएका छन् । उनले कोरोना भाइरस नियन्त्रणको लागि सरकार निकै आक्रामक भएर लाग्ने बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment