Comments Add Comment

दक्षिण अफ्रिकामा पाँच लाख नाघे कोरोना संक्रमित

१८ साउन, काठमाडौं । दक्षिण अफ्रिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या पाँच लाख नाघेको छ । दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्रीले दिएको जानकारी अनुसार शनिबार मात्र मुलुकभर कोरोना भाइरसका १० हजार १०७ नयाँ संक्रमित फेला परेका थिए । यससँगै दक्षिण अफ्रिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या पाँच लाख तीन हजार २९० पुगेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि आठ हजार १५३ पुगेको छ ।

कोरोना भाइरसका संक्रमितको आधारमा सबैभन्दा प्रभावित मुलुकको सूचीमा दक्षिण अफ्रिका अमेरिका, ब्राजिल, भारत र रुसपछि पाँचौं स्थानमा आइपुगेको छ । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विशेषज्ञहरुले दक्षिण अफ्रिकामा आधिकारिक तथ्यांकभन्दा धेरै गुणा बढी मानिसको मृत्यु कोरोना भाइरसको कारण भएको बताउँदै आएका छन् ।

समग्र अफ्रिका महादेशमा भएका कोरोना संक्रमितमध्ये आधाभन्दा धेरै दक्षिण अफ्रिकामा छन् । स्वास्थ्य अधिकारीहरुका अनुसार अहिले दक्षिण अफ्रिकामा संक्रमण निकै तीव्र गतिमा फैलिइरहेको छ । यससँगै दक्षिण अफ्रिकाको स्थानीय अस्पतालको अवस्था कमजोर बनेको छ । अझै एक महिनासम्म निरन्तर दक्षिण अफ्रिकामा कोरोना भाइरसको संक्रमण फैलिइरहने विशेषज्ञहरुले बताएका छन् ।

कोरोना भाइरस नियन्त्रणको लागि दक्षिण अफ्रिकाले अप्रिल र मे महिनामा कडा लकडाउनको घोषणा गरेको थियो । त्यसपछि चरणबद्धरुपमा अर्थतन्त्र खुला गरिएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment