Comments Add Comment

ओली–प्रचण्डबीच तीन घण्टा वार्ता, स्थायी कमिटी अनिश्चित

१८ साउन, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार करिव तीन घण्टा छलफल भएको छ ।

साउन १३ को ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगन र प्रचण्डले आफ्नो अध्यक्षमा बहुमत सदस्यहरुसहित बैठक राखेपछि टुटेको सम्वाद आइतबार पुनः सुरु भएको छ ।

छलफलका लागि प्रचण्ड वरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार पुगेका थिए भने ओलीले संसदीय दलका उपनेता सुवास नेम्वालाई सहभागी गराए ।

वार्तामा दुवै अध्यक्ष आ-आफ्ना अडानमा कायमै रहेकाले ठोस सहमति नभएको स्रोतले जनाएको छ । प्रचण्डले स्वच्छाले दुई मध्ये एक पद छाडेर निकास दिन आग्रह गरेका थिए । तर ओलीले ठाडै अस्वीकार गरेका छन् । र, नेताहरु सोमबार पुनः छलफलमा बस्ने गरी उठेका छन् ।

बालुवाटार वार्तामा सहभागी नेम्वाङ्गले भने सम्वाद सकारात्मक रहेको बताएका छन् । ‘दुई अध्यक्षबीच समझदारी बनाएर निकास खोज्नुपर्छ भन्नेमा उहाँहरु सहमत हुनुहुन्छ’ उनले भने, ‘भोलि एउटा निष्कर्षमा पुग्छ भन्ने आशा पलाएको छ ।’

आआफ्नो समूहमा ब्रिफिङ

बालुवाटार वार्तापछि ओली र प्रचण्डले आअफ्नो समूहका नेताहरुलाई ब्रिफिङ गरेका छन् । ओलीले बालुवाटारमा महासचिव विष्णु पौडेलसहितका नेताहरुसँग छलफल गरेका छन् भने प्रचण्डले सचिवालयका तीन नेता खना, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठसँग परामर्श गरेका थिए ।

प्रचण्डले नेताहरुलाई ब्रिफिङ गरेअनुसार सम्वाद सुरु हुन बाहेक थप केही भएको छैन ।

ओली सचिवालय बैठक राखेर त्यही सहमति खोज्ने पक्षमा छन् भने प्रचण्डले स्थायी कमिटी चलिरहेका बेला सचिवालयबाट निर्णय हुन नसक्ने बताए । एक नेता भन्छन्, ‘स्थायी कमिटीलाई सहजीकरण गर्न सचिवालय बस्नसक्छ र हामी तयार पनि छौं । तर केन्द्रीय र स्थायी कमिटी नबस्ने गरी सचिवालय हुन्न ।’

कतिपय नेताहरुले भने उपाध्यक्ष बामदेव गौतम आफूतिर आएपछि ओलीले सचिवालयलाई सहज देखेको हुनसक्ने बताएका छन् । ९ सदस्यीय सचिवालयमा अहिले दुबैतिर चारचार जना देखिएका छन् र गृहमन्त्री रामबहादुर थापा बादललाई दुबै समूहले आफूतिर भएको दाबी गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment