Comments Add Comment

संक्रमणको ग्राफले भन्छ : वीरगञ्जमा राँको दन्किसक्यो

Photo Credit : फाइल फोटो
कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी

१८ साउन, काठमाडौं । राजधानीदेखि १९२ किलोमिटर टाढाको पर्सा जिल्ला अहिले कोरोना महामारीको चपेटामा छ ।

३१ असारमा नारायणी कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत १३ वर्षीय एक कोरोना संक्रमितको मृत्युले वीरगञ्जलाई खतराको संकेत दिएको थियो । यद्यपि उनी रौतहटका थिए । साउन ६ गते सोही अस्पतालमा ७० वर्षीय संक्रमितको मृत्युले वीरगञ्जलाई थप सम्वेदनशील बनायो ।

आइतबारसम्म कोरोनाका कारण वीरगञ्जमा मात्र ११ जनाको मृत्यु भैसकेको छ । ४०५ जना कोरोना संक्रमति उपचारको क्रममा छन् भने १७६ संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ ।

पछिल्लो हप्ता वीरगञ्ज शहर कारोना संक्रमणको हट स्पटकै रुपमा देखा परेको छ । महानगरपालिका मेयरसमेत संक्रमणबाट अछुतो रहेनन् । अहिलेसम्म आइपुग्दा पीपीईसहित उपचारमा खटिने स्वाथ्यकर्मीसम्मलाई कोरोनाको संक्रमणले छोइसकेको छ । वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगी पनि अहिले आइसियुमै छन् ।

नारायणी अस्पतालका एकजना चिकित्सक आइसीयू कक्षमा उपचाररत छन् । उनको अवस्थामा गम्भीर रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय बताउँछन् ।

वीरगञ्ज महानगरपालिकामा ३२ वडा छन् । र, कुनै पनि वडा बाँकी छैन, जहाँ संक्रमित नभएको होस् । पछिल्लो हप्ता स्वाब परीक्षणका क्रममा औसत दैनिक ५० जनामा कोरोना पोजेटिभ देखिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की भन्छन्, ‘हामीले कोरोना संक्रमितको संख्या तीनजनामा झारिसकेका थियौँ । लकडाउन खुलेसँगै संक्रमितको संख्या ह्वात्तै बढ्यो ।’

संक्रमितको संख्यात्मक हिसावमा वीरगञ्ज दोस्रो नम्बरमा छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा ७६८ बढी जना संक्रमित रौटहटमा छन् । तर, रौटहटमा भने कोरोनाबाट मृत्यु हुनेको संख्या दुई मात्र छ ।

वीरगञ्जमा दैनिक कोरोना संक्रमित ठूलो संख्यामा थपिँदै गएपछि आइसोलेसन त परको कुरा, संक्रमितहरुलाई राख्ने क्वारेन्टिनको समेत अभाव छ ।

प्रजिअ कार्कीका अनुसार १४२ जना कोरोना संक्रमित अहिले घरमै बसिरहेका छन् । यसले वीरगञ्ज थप जोखिमतर्फ उन्मुख भएको सहजै आकलन गर्न सकिन्छ ।

जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण नियन्त्रणका लागि शनिबारदेखि बिहान पाँच बजेदेखि साँझ पाँच बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको छ । तर, सीमा पार क्षेत्र र बजारमा हुने आवत-जावत नरोकिएको वीरगञ्ज महानगरपालिकाका सल्लाहकार गोविन्द देवकोटा बताउँछन् ।

‘मृतकको संख्या बढेपछि वीरगञ्जमा त्रासको वातावरण छ’, उनी भन्छन्, ‘तर, बजारमा हुने भीड अझै रोकिएको छैन ।’

चिकित्सक नै आइसीयूमा

नारायणी अस्पतालको प्रयोगशालमा प्रतिदिन ३५० देखि ५ सयको संख्यामा स्वाब परीक्षण भइरहेको मेसु उपाध्याय बताउँछन् । उनका अनुसार परीक्षणका क्रममा शनिबार ४५, शुक्रबार ६५, बिहीबार ४४, बुधबार ५४ जनामा कोरोना पोजेटिभ देखियो ।

आइसियुमा रहेको कोरोना संक्रमित कोरोना संक्रमित चिकित्सकको अवस्था सम्बेदनशील रहेको डा. उपाध्याय बताउँछन् । ३० जना अस्पतालकै कर्मचारीमा कोरोना संक्रमण भएको छ । जसमा १० जना नारायणी अस्पतालका चिकित्सक छन् । ६ जना नर्स र ६ जना पारामेडिक्स रहेका छन् ।

त्यसैगरी एकजना एम्बुलेन्सका चालक, एकजना प्रशासनका कर्मचारी र चार जना कार्यालय सहयोगीलाई कोरोना संक्रमण भएको छ । तर, स्वास्थ्यकर्मीलाई पनि आइसोलेसन बेड उपलब्ध छैन ।

वीरगञ्ज कारागारमै एक महिलासहित आठ जनामा कोरोना संक्रमित छन् । उनीहरुको अहिले संक्रमित कैदीबन्दीलाई कारागारको हाताभित्र स्थापना गरिएको आइसोलेसन कक्षमा उपचार भइहरेको कारागार प्रमुख (जेलर) श्रवणकुमार पोखरेल बताउँछन् ।

नारायणी ५० शैयाको अस्पताल हो । जसमा १० वटा आइसीयू बेड छन् । ‘संक्रमित स्वास्वास्थ्यकर्मी सबैलाई अस्पतालमा राख्न सकिएको छैन’, डा. उपाध्याय भन्छन्, ‘संक्रमित बढेपछि हामीले ६४ जना संक्रमितलाई अस्पतालमै व्यवस्था गरेका छौँ ।’

स्वास्थ्यकर्मीमा यसरी धमाधम कोरोना संक्रमण देखिएपछि कोरोना उपचारका लागि स्वास्थ्यकर्मीको संख्या बढाउनेतर्फ भने ध्यान नदिएको डा. उपाध्याय गुनासो गर्छन् । ‘योबेला केन्द्र, प्रदेश र स्थानीय तह सहकार्य गरी जोखिमलाई नियन्त्रण गर्नुपर्ने हो’, डा. उपाध्याय भन्छन्, ‘तर, यो समन्वय नहुँदा ट्रेसिङ पनि राम्रोसँग हुन सकेको छैन । सबै तह आ- आफै तरिकाले हिड्दा तालमेल मिल्न सकेको छैन ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्ऽरमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोलीलाई वीरगञ्ज पठाएको छ ।

कस्तो छ त वीरगञ्ज ?

भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख नाकामध्य एक हो वीरगञ्ज । वीरगञ्ज शहर भारतीय नाकासँगै जोडिएको छ । तर, पर्सा छिर्ने छोटी भन्सार, आइसीपी र वीरगञ्ज भन्सार गरी तीनवटा वैधानिक नाकाहरु छन् । तर, भारतीय क्षेत्रसँग जोडिएको १०७ किलोमिटर दुरीको भूभाग निर्वाध आवत-जावत गर्ने खुला सीमा छ ।

वीरगञ्ज महानगरपालिकामा सडकमा समेत व्यापार गर्ने भएकाले निकै मानिसहरु भीड लाग्छन् । रक्सौलबाट भारतीयहरु वीरगञ्जमा आएर व्यापार गर्छन् । ‘लकडाउन खुलेसँगै व्यापारका क्रममा भारतबाट आवत-जावत बढेको छ । योबेला परीक्षणका कामहरु पनि भएनन्’, सल्लाहकार गोविन्द देवकोटा भन्छन्, ‘सीमा पनि खुला गरियो । पछि परीक्षण गर्दा ह्वात्तै संक्रमण बढेको देखियो ।’

देवकोटाका अनुसार अहिले वीरगञ्ज महानगरपालिकामा यति धेरै कोरोनाको संक्रमित छन् कि परीक्षण गर्ने हो भने संक्रमित नभएको घर भेटाउन गाह्रो छ । लकडाउन खुले पनि भीडभाड गर्नुहुँदैन र सचेत हुनुपर्छ भन्नेखालको मानिसमा चेतना नहुँदा पनि संक्रमितको संख्या यसरी बढेको उनी बताउँछन् ।

अहिले पनि सीमा क्षेत्रमा आवत-जावत नरोकिएको र अन्य जिल्लाहरुबाट पनि बजारमा आउने मान्छेहरुको संख्यामा त्यति कमी नआएको उनी बताउँछन् । ‘तरकारी बजारजस्ता ठाउँहरुमा निकै भीड छ । मानिसहरु मास्कविनै हिँडिरहेका छन्’, उनी भन्छन्, ‘बोर्डर सिल गरेर एक गाउँ/जिल्लाबाट अर्को जिल्लामा जानसमेत बन्द नगर्ने हो भने झन भयावहको अवस्था सृजना हुनेछ ।’

कमजोर क्वारेन्टिन व्यवस्थापनका कारण पनि कोरोना संक्रमणको संख्या ह्वात्तै बढेको नागरिक समाजका अध्यक्ष दीपक शाक्य बताउँछन् । ‘एक-डेढ सय मानिसलाई एकै ठाउँमा राख्दा कुनै व्यवस्थापन थिएन’, उनले भने, ‘क्यारेन्टिनमा बसेका मानिसहरु पनि कोरोना बोकेर घर फर्किए ।’

कोरोनाका संक्रमणको भयावह अवस्थालाई नियन्त्रण गर्नका लागि वीरगञ्ज हेल्थ केयर १०० बेडको अस्पताललाई सरकारले लिएर शनिबारदेखि आइसोलेसन बनाएको सिडिओ कार्की बताउँछन् । त्यस्तै, स्कुललाई पनि १९० वेडको अर्को आइसलेसन बनाएको उनको भनाइ छ ।

पहिले क्वारेन्टिन राखिएको स्कुललाई नै अहिले आइसोलेसनको नाम दिइएको हो । कार्की भन्छन्, ‘लक्षण देखिएकालाई अस्पताल लान्छौँ, होम आइसोलेसनमा बस्नुपर्ने संक्रमितहरुलाई घरमा र अरुलाई आइसलेसन अस्पतालमा राख्ाने गरेको उनी बताउँछन् ।’

अर्को १०० बेडको आइसलेसन अस्पताल पनि थप्ने क्रममा रहेको कार्की बताउँछन् ।

अहिले वीरगञ्ज हेल्थ केयरमा ११ जना, त्रिजुद्ध माविमा १५ जना, वीरगञ्ज कारागारमा १२ जना, सिद्धार्थ स्कुलमा २१ जना, वगही प्राथमिक स्वास्थ्य केन्द्र पर्सागढीमा ४ जना, होटल विजय ज्योतीमा ३ जना, सखुवा प्रसौनीमा २ जना र पटेर्वासुगौलीमा ४ जना संक्रमितलाई राखिएको छ ।

त्यस्तै वीरगञ्जमा १४२, सखुवाप्रसौनीमा २, बहुदरमाई, छिपहरमाई, जगरनाथपुर र पोखरियामा १/१ जना संक्रमित होम आइसोलेसनमा छन् ।

होम आइसोलेसन भनिए पनि मापदण्डअनुसार भए/नभएको अनुगमन गर्ने संयन्त्र बनाएर परिचालन गरिएको छैन । पर्साका १९३ जना संक्रमित अझै आइसोलेसन सेन्टरभन्दा बाहिरै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment