Comments Add Comment

८ महिनापछि हिरासतबाट रिहा भयो भाले कुखुरा

पाकिस्तानको सिन्ध प्रान्तस्थित घोटमी जिल्लास्थित एक स्थानीय अदालतले ८ महिनादेखि पुलिसको हिरासतमा रहेको एउटा कुखुरालाई रिहा गरी उसको मालिकलाई सुम्पिनका लागि आदेश दियो ।

सिन्धका विभिन्न दुईवटा पुलिस चौकीमा पाँचवटा कुखुराहरु प्रहरी हिरासतमा रहेकोमा अदालतमा आदेशपछि एउटा कुखुरा रिहा भएको छ ।

भाले जुधाई खेलका क्रममा छापा मारेर पुलिसले ती कुखुरा पक्राउ गरेको थियो ।

स्थानीय जफर मिरानीले पुलिस हिरासतमा रहेको आफ्नो कुखुरा आफूले पाउनुपर्ने माग गरी स्थानीय अदालतमा मुद्दा दायर गरेका थिए । सोही मुद्दामा अदालतले कुखुरा रिहा गरी मिरानीलाई हस्तान्तरण गर्न आदेश दिएको थियो । अदालतको आदेश अनुसार प्रहरीले उक्त भालेलाई हिरासतमुक्त गरी मिरानीलाई सुम्पिएको हो ।

कुखुरा जुधाई खेल खेलाइरहेको बेला प्रहरीले कुखुरा मालिकलगायत झण्डै एक दर्जन मानिसहरु सहित उल्लेखित पाँचवटा कुखुरालाई पक्राउ गरेको थियो । कुखुरा मालिकहरु धरौटीमा रिहा भएपनि मुद्दाको फैसला नहुन्जेलका लागि कुखुराहरुलाई चौकीमै हिरासतमा राखिएको थियो । प्रहरी चौकीमा ती कुखुराहरुलाई खुल्ला ठाउँमा खुट्टामा डोरी बाँधेर राखिएको थियो ।

स्मरण रहोस् पाकिस्तानका ग्रामीण क्षेत्रहरुमा कुखुराको भाले जुधाई खेल निकै लोकप्रिय छ । त्यसमा मोटो रकम बाजी समेत राखिन्छ र कुखुराको खतरनाक लडाइँका क्रममा कहिलेकाहीँ कुखुराको मृत्यु पनि हुन्छ । पाकिस्तानमा कुखुरा जुधाई खेल कानुनतः गैरकानूनी छ । कुखुरा जुधाउनेलाई एक वर्षसम्मको जेल तथा झण्डै ८ सय रुपैयाँ बराबरको रकम जरिवाना गर्ने कानून छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment