
२० साउन, काठमाडौं । अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको सहर जलालबादको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ । उक्त जेलमा आइतबार साँझ सुरु भएको आक्रमणपछि २० घण्टासम्म भिडन्त भएको थियो । सो क्रममा आठजना आक्रमणकारीको मृत्यु भएको नानगर्हर प्रान्तका प्रवक्ताले बताए ।
यो आक्रमणको क्रममा तीन सय बन्दीहरु फरार भएका छन् । आक्रमण गर्दा जेलमा करिब एक हजार आठसय बन्दीहरु थिए । जसमध्ये धेरैजसो तालिबार र इस्लामिक स्टेट (आईएस)का बन्दीहरु थिए । प्रान्तका प्रवक्ताले दिएको जानकारी अनुसार आक्रमणको मौका छोपेर भागेका एक हजार २५ बन्दीहरुलाई जेलमा फिर्ता ल्याइएको छ भने ४३० जनाको उद्धार गरिएको छ । ५० भन्दा बढी घाइते भएका छन् । आईएसले यो घटनाको जिम्मेवारी लिएको छ ।
पछिल्लो समय आईएसले अफगानिस्तानको धेरै क्षेत्रमा आफ्नो नियन्त्रण गुमाएको छ । यद्यपि राजधानी सहर काबुल र जलालबादमा संगठनका लुकेर बसेका धेरै लडाकु छन् । अफगानिस्तान सरकार र तालिबानको बीचमा मुसलमानको पर्वको लागि गरिएको अस्थायी युद्धविरामको अन्तिम दिनमा आईएसले यस्तो आक्रमण गरेको हो । तालिबानले भने यो आक्रमणमा आफ्नो कुनै हात नरहेको बताइसकेको छ ।
आइतबारको आक्रमण अफगानिस्तानको गुप्तचर संस्थाले जलालबाद नजिकै आईएसका शीर्ष कमाण्डर असुदुल्लाह ओराक्जाइ मारिएको बताएको भोलिपल्ट गरिएको हो ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4