Comments Add Comment

कोरोनालाई गिज्याउने गाईजात्रा ! (फोटो फिचर)

२० साउन, काठमाडौं । जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्राको दिन धेरैले सम्झिने ठाउँ हो भक्तपुर । यहाँ गाईजात्रा हेर्न काठमाडौं उपत्यकामात्र नभई काभ्रेदेखिका मानिसहरु समेत आउँछन् ।

भक्तपुरका विभिन्न क्षेत्रबाट गाईजात्राको दिन बाजागाजासहित निकालिने झाँकीले नगर परिक्रमा गर्दा ठूलो भीडसमेत लाग्छ । तर यस वर्ष कोरोना भाइरसको महामारीका कारण गाईजात्रा विगतमा जस्तो उत्सवमय हुन पाएन ।

यद्यपि भक्तपुरको गाईजात्रामा सयौं मानिसहरु भेला भए, जसले कोरोना महामारी फैलिने खतरा भने बढाएको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन, जात्रा तथा धार्मिक सभाहरु गर्न रोक लगाए पनि भक्तपुरमा त्यसको पालना भएन ।

घरबाहिर निस्कदा कम्तीमा २ मिटरको दूरी कायम गर्ने, मास्क लगाउने, बालबालिका र वृद्धवृद्धालाई घरबाहिर ननिस्कन सरकारले आग्रह नै गरेको छ । तर भक्तपुरमा एकअर्काबीच दुई मिटरको सामाजिक दुरी कायम गर्न असम्भव जस्तै थियो भने केहीले मात्र मास्क लगाएका थिए ।

अनुमान गरेजस्तो भीड भएन : प्रजिअ पाण्डे

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गाईजात्रामा अनुमान गरेजस्तो भीड नभएको बताइन् ।

जिल्ला प्रशासन कार्यालयले भक्तपुरको चारवटै नगरपालिकाका मेयरसँगको गाईजात्रामा बाजा नबजाउने र औपचारिक कार्यक्रम नगर्ने सहमति गरेको थियो ।

‘आजको गाईजात्रा त्यसैअनुसार भएको छ, हामीले स्थानीय वासिन्दालाई धन्यवाद दिएका छौं’ उनले भनिन् । मृत्यु भएका व्यक्तिको घरबाट जात्रा बाहिर निकाल्ने क्रममा केही भीड देखिए पनि सोचेजस्तो नभएको प्रजिअ पाण्डेले बताइन् ।

भक्तपुर दरबार क्षेत्र र दत्तात्रयमा त भिड देखियो नि भन्ने प्रश्नमा उनले भनिन् ‘त्यहाँ त सामान्य समयमा पनि भीडजस्तै देखिन्छ ।’ भीड भए पनि सहभागीले मास्क र स्यानिटाइजर प्रयोग गरेको उनको दावी छ ।

यसवर्ष गाईजात्रामा सहभागी हुन काठमाडौं, ललितपुर र काभ्रेदेखि आउनेहरुलाई नाकामै रोकेको प्रजिअ पाण्डेले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment