
२० साउन, काठमाडौं । सरकारले लोक सेवाको विज्ञापन बन्द गरेर एकैदिन १६८१ अस्थायी दरबन्दी सिर्जना गरेकोप्रति सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले विरोध जनाएको छ । आफ्ना आसेपासेलाई ‘थोक’मा जागिर खुवाउन सरकारले यस्तो कदम चालेको भन्दै अनेरास्ववियूले आवश्यक कर्मचारी भर्नाको जिम्मा लोक सेवा आयोगलाई नै दिन सचेत गराएको छ ।
अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘संवैधानिक अंग र प्रक्रिया छलेर थोकमा हुल्ने यस्तो कार्य भ्रष्टाचार नै भएको हाम्रो ठहर छ ।’
विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘सुशासन र विधिको शासनको उपहास हुने त्यस्ता कुनै पनि काम नगर्न र जनताको रोजगारीको संवैधानिक हक संरक्षण गर्ने गरी लोक सेवा आयोगलाई नै विज्ञापन माग गर्न दिन हामी सरकारलाई सचेत गराउँदछौं ।’
अनेरास्ववियूले बढ्दो कोरोना संक्रमण नियन्त्रण गर्न, परीक्षणको दायरा बढाउन र विद्यार्थीको कोरोना बीमा गर्न पनि सरकारसमक्ष माग गरेको छ।
यसैगरी अनेरास्ववियूले भदौ १ गतेदेखि भर्ना अभिलेख राख्ने भन्ने सरकारको निर्णयको अपब्याख्या गरी विद्यालय सञ्चालन गर्ने तयारी गरेको भन्दै आपत्ति समेत जनाएको छ ।
प्रतिक्रिया 4